स्मुथ्ली व्यापार ग्रोथ गरिरहेको शाइन रेसुङ्गा : वितरणयोग्य नाफा दोब्बर बढ्यो, नाफा र इपिएस कति ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

स्मुथ्ली व्यापार ग्रोथ गरिरहेको शाइन रेसुङ्गा : वितरणयोग्य नाफा दोब्बर बढ्यो, नाफा र इपिएस कति ?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ महिनामा आधा अर्ब खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले कुल ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने झिनो ०.१३ प्रतिशत कमी हो । गत आवको तेस्रो त्रैमासमा पनि बैंकले ५१ करोड ४६ लाख रुपैयाँ बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ । बैंकको यस्तो आम्दानी १८.४१ प्रतिशत बढेर १ अर्ब ९३ करोड १२ लाख रुपैयाँ पुगेको छ । यता, संचालन नाफा भने ८ प्रतिशत घटेर ७४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने १६०.०६ प्रतिशत बढेर ३८ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । यसका आधारमा बैंकको लाभांश क्षमता ७.९४ प्रतिशत बनेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा भने १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ राखेको छ ।

व्यवसाय ग्रोथ पनि निरन्तर बढेको देखिन्छ । समिक्षा अवधिमा बैंकको निक्षेप ४.६३ प्रतिशत बढेर ६९ अर्ब ८४ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा विस्तार पनि ५.२४ प्रतिशत बढेर ५४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात भने १.३५ प्रतिशत बढेर ४.७६ प्रतिशत पुगेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी(इपिएस) १४.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.७८ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्