तेस्रो विश्वयुद्धको जोखिम बढेपछि सुनको मूल्यमा कीर्तिमान, अगस्टपछि अझै बढ्ने चेतावनी « Arthapath.com
३१ जेष्ठ २०८१, बिहीबार

तेस्रो विश्वयुद्धको जोखिम बढेपछि सुनको मूल्यमा कीर्तिमान, अगस्टपछि अझै बढ्ने चेतावनी



काठमाडौँ । २५ जेठमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यस दिन १ तोल सुनको मूल्य १ लाख ४५ हजार पुग्यो । ठीक एक वर्षअघि १ लाख ११ हजार ७ सयमा यति नै सुन पाइन्थ्यो । यो करीब ३० प्रतिशतको बृद्धि हो ।

बिहीबार (जेठ ३१)को मूल्यलाई आधार मान्दा वितेको एक वर्षमा सुनको मूल्य २७.६ प्रतिशत बढेको देखिएको छ । यस आँकडाले एक साल अघि कयौँ कम्पनीको सेयर किन्ने वा बैंकमा निक्षेप राख्नेभन्दा सुन किन्नेहरुले ब्यापक नाफा कमाएको देखिन्छ ।

पछिल्ला ७ वर्षमा नेपाली बजारमा सुनको भाउ वार्षिक औसत १५.२५ प्रतिशतले बढेको देखिन्छ । जेठ ३१ को मूल्यलाई मात्रै आधार मान्दा पनि कोभीडको बेला २०७७ सालमा सुन सर्वाधिक ४२ प्रतिशत महँगिएको देखिन्छ । त्यसपछिको फराकिलो रफ्तार भने यसै साल देखिएको हो ।

विश्लेषकहरुले आगामी अगस्टपछि सुन पुनः तीव्र रफ्तारमा बढ्न सक्ने आँकलन गरेका छन् । भारतीय लगानीकर्ताहरुले त्यहाँको बजारमा प्रति १० ग्राम सुनको मूल्य ८० हजार भारुसम्म पुग्नसक्ने अड्कलबाजी गरेका छन् । यदी त्यसो भयो भने नेपालमा १ तोला सुनको भाउ १ लाख ५४ हजारभन्दा माथि पुग्न सक्छ ।

सुनको भाउ विभिन्न कारणले बढ्ने गर्छ । अहिले पनि अमेरिकामा ब्यादर घट्ने संभावना, युक्रेन र गाजामा जारी युद्ध तथा सम्भावित तेस्रो विस्व युद्धको खतरालाई लिएर संसारभर सुनको भण्डारण बढ्न थालेको छ । विदेशमा निजी लगानीकर्ता र सर्वसाधारणले पनि आफ्नो सम्पत्ती थुपार्ने माध्यमको रुपमा सुनलाई उपयोग गर्छन् ।

यसरी सुनमा सम्पत्ति थुपार्नु लाभप्रद पनि हुन्छ भन्ने देखिएको छ । हाम्रै बजारको कुरा गर्दा २०७५ जेठ ३१ मा सुनको मूल्य प्रति तोला ५४ हजार ८०० थियो । यदि त्यस दिन एक जनाले त्यही १ तोला सुनको मूल्य बराबरको पैसा बैंकमा निक्षेप राखेको थियो भने अहिले ऊसँग कति पैसा हुन्थ्यो ?

केही महिना अघिमात्रै बैंकहरुले अभ्यासमा ल्याएको दैनिक ब्याज गणना (डेली कम्पाउण्डिङ) विधी अनुसार वार्षिक ९ प्रतिशतको ब्याजमा यो ७ वर्ष बैंकमा निक्षेप जम्मा गरेको भए पनि उसले १०२८८५ रुपैयाँ पाउन सक्थ्यो । तर त्यो पैसाले १ तोला सुन किनेको भए आज बेच्दा १४१६०० पाउने थियो ।

यसरी ७ वर्षपछि हिसाब गर्दा सुन किन्नेले बैंकमा राख्नेभन्दा ३८७१५ रुपैयाँ (३७.६३ प्रतिशत) बढी पैसा पाउने रहेछ । यस प्रकार सम्पत्तीको सुरक्षित भण्डारण गर्ने र चाहिएको बेला नगदमा रुपान्तरण गर्न सक्ने भएका कारण संसारभर सुनमा लगानी गरिन्छ ।

‘वर्ल्ड गोल्ड काउन्सील’का अनुसार गएको मध्येचैतसम्म नेपालसँग बैधानिक सञ्चितिमा ७.९९ टन सुन छ । यो देशको कुल सञ्चितिको ४.२८ प्रतिशत हो । चीन र दक्षिण एसियाली देशहरुको सुन सञ्चितिको अवस्था यस्तो छ :

कुनै पनि देश वा सिंगो संसार नै गम्भीर आर्थिक समस्यामा परेको बेला समेत सुन सर्बाधिक सुरक्षित हुन्छ । सन् २०१८ को अगस्ट तेस्रो सातासम्म भेनेजुयलामा जम्मा २.५ बोलिभार (त्यहाँको मुद्रा)ले १ अमेरिकी डलर साट्न पाइन्थ्यो । तर भेनेजुयलामा अनियन्त्रित महँगी (उच्च मुद्रास्फीति)का कारण २०२१ को सेप्टेम्बर अन्त्यसम्म आउँदा त्यही १ अमेरिकी डलर किन्न ४२ लाख ५ हजार बोलिभार तिर्नुपर्ने भयो ।

यस्तो अवस्थामा लाखौँ नागरिकको सम्पत्ती डुब्यो । तर त्यहाँ कसैले बेलैमा सुन किनेर राखेको थियो भने उसको सम्पत्ती कत्ति पनि घटेको थिएन । उसले सुनलाई डलरकै भाउमा बेच्न सक्थ्यो । यस प्रकारका राष्ट्रिय, अन्तरराष्ट्रिय आर्थिक जोखिम कम गर्न मुलुकहरुले सुुनमा लगानी गर्ने गरेका छन् ।

अहिले पुनः एक पटक विश्वभर सुनको माग ह्वात्तै बढेको छ । यही हाम्रा लागि पहेँलो धातु अब दुर्लभ हुँदै गएको छ ।

किन बढ्दै छ सुन ?

भारतीय रिजर्भ बैंकका पूर्व गभर्नर रघुराम राजनले करीब एक महिनाअघि एउटा अन्तरवार्तामा भनेका थिए, ‘सुन बजारमा अहिले सट्टेबाजी बढेको छ ।’ उनले ‘बिटक्वाइन’ लाई डिजिटल सुन भन्दै बिटक्वाइनको भाउ बढेसँगै असली सुनको मूल्य पनि बढेको बताए । यसरी संसारभर सुनको सट्टेबाजी बढेको उनको तर्क थियो ।

त्यसबाहेक अहिले संसारका धेरै केन्द्रिय बैंकहरुले आफ्नो विदेशी विनिमय सञ्चितिमा सुनको हिस्सा बढाउन थालेका छन् । रूसको केन्द्रिय बैंक र कयौँ निजी लगानीकर्ताको सम्पत्ती युरोप र अमेरिकामा जफत भयो । यसबाट चीन झस्किएको र उसले ताइवानलाई लिएर कुनै युद्ध आरम्भ भयो भने अमेरिका र युरोपमा रहेको सम्पत्ती जफत हुनेबारे सोच्न थालेको राजनको भनाइ थियो ।

यही कारण चीनले आफ्नो विदेशी विनिमय सञ्चितिलाई सुनमा रुपान्तरण गर्न खोजिरहेको उनले बताए । चीनले दुई साता अघिसम्मै सुन किनिरहेको थियो । उसले लगातार १७ महिनासम्म सुन किनेको किन्यै गरेपछि अन्तरराष्ट्रिय बजारमा सुनको भाउ आकाशियो ।

केही दिन अघि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सर्वकालिन उच्च भएर प्रतिऔँश २४२६ अमेरिकी डलर नाघेको थियो । भलै केही दिनयता चीनले यति महँगो मूल्यमा सुन थुपार्न रोकेपछि यसको भाउ केही तल आएको छ ।

चीन ‘फ्याक्टर’

विश्वका सबै देशको कुल विदेशी विनिमय सञ्चितिमध्ये २३ प्रतिशतभन्दा धेरै हिस्सा चीन एक्लैसँग छ । ‘वल्र्ड गोल्ड काउन्सिल’ ले गत मार्च (मध्ये चैत)सम्मको तथ्यांक उपलब्ध भएका संसरका ११८ मुलुकको सूची प्रकाशित गरेको छ । त्यसमध्ये शीर्ष १५ देशलाई छाडेर बाँँकी १०३ देशसँग भएको कुल सञ्चिति र एक्लै चीनसँग भएको सञ्चिति बराबर छ ।

यति ठूलो धनराशीमध्ये करीब दुई तिहाई हिस्सा अमेरिकी ऋणपत्र र अमेरिकी डलरमा आधारित धितोपत्रहरुमा लगानी गरिएको छ । पाँच भागको एक भागजति पैसा युरोमा लगानी भएको छ । जापानी येन, ब्रिटिश पाउण्ड, अस्ट्रेलियन डलर, क्यानेडियन डलरजस्ता पश्चिमा शक्ति राष्ट्रहरुको प्रभाव क्षेत्रमा पनि उसले उल्लेख्य लगानी गरेको छ ।

अब चीन विस्तारै ताइवान टापुलाई आफ्नो मूल भूमिमा मिलाउने प्रयासमा छ । यसका लागि शक्ति प्रयोग गर्न तयार रहेको भनेर चीनका सरकारी अधिकारीहरुले भन्दै आएका छन् । अमेरिकाले भने ताइवानमाथि हमला गरेमा उसको रक्षाका निम्ति खडा हुने चेतावनी दिइसकेको छ ।

यसरी चीन र अमेरिकाबीच कुनै पनि बेला सम्बन्ध खराब हुन सक्ने जोखिम बढेको छ । यसबीच रूसले युक्रेनमा हमला गरेपछि अमेरिका र युरोपेली देशहरुले रूसको सम्पत्ती जफत गरिदिएका थिए । चीनले पनि आफ्नो भएभरको सम्पत्ति तिनै देशमा राखेको छ ।

यही कारण अब चीन विस्तारै विदेशी मुद्रामा भएको लगानीलाई सुनमा बदल्ने कोसिस गरिरहेको छ । यही कारण उसले ब्यापक मात्रामा सुन किनिरहेको छ । फलस्वरुप अन्तरराष्ट्रिय बजारमा सुनको भाउ आकाशिएको हो ।

सुन किन्नमा एसियाली देश अग्रसर

पछिल्ला २४ वर्षमा रूस एक्लैले आफ्नो विनिमय सञ्चितिको भण्डारमा १९१० टन सुन थपेको छ । यसबीच चीनले १८६७.५ टन सुन थपेको छ । रूसले सन् २००६ पछि निरन्तर सुन उठाउँदै आएको छ । तर चीनले भने निश्चित मौकामा सुन किन्ने गरेको देखिन्छ । उसले सन् २००९, २०१५–१६ र २०२२–२३ मा ठूलो परिमाणमा सुन किनेको थियो । सन् २००२ र २०१८–१९ मा पनि चीनले बढी सुुन किनेको देखिन्छ ।

सन् २०२४ को पहिलो त्रैमासिक विवरण अनुसार विश्वको कुल सुन सञ्चितिमा शीर्ष १० देशले मात्रै ४३ प्रतिशतभन्दा धेरै सुन राखेका छन् :

स्रोतः वर्ल्ड गोल्ड काउन्सील

वितेको साढे दुई दशकमा रूस र चीनपछि बढी सुन थुपार्नेमा भारत र टर्की देखिएका छन् । सन् १०९१ मा चरम आर्थिक संकट भोग्दा झण्डै ७० टन सुन धितो राखेर ऋण लिनु परेको भारतले यसबीच सन् २००० भन्दा यता आफ्नो ढुकुटीमा ४६४ टन सुन थपेको छ । टर्कीले यसबीचमा ४५४ टन सुन थपेको देखिन्छ ।

तर टर्कीको अवस्था अलि भिन्न छ । उसले सुरुमा सुनको सञ्चिति घटाएको थियो । तर सन् २०११ देखि पुनः सुन किन्न थाल्यो । २०१७ यता त उसले नाटकीय ढंगले सुन सञ्चिति बढाएको छ । सन् २००२ पछिमात्रै टर्कीको सरकारी ढुकुटीमा ४६२ टन र समग्रमा (व्यावसायिक संस्थाको सञ्चितिसमेत गरेर) ६६५.८ टन सुन थपिएको तथ्यांकमा देखिन्छ ।

रूसका साथै कजाखस्तान, उज्बेकिस्तान, बेलारूस, युक्रेन र ताजिकिस्तानजस्ता पूर्व यूएसएसआर मुलुकहरु सुन दुई दशकदेखि नै निरन्तर सुन थुपारिरहेका छन् । यो सूचीमा थाइल्याण्ड, सर्बियाजस्ता मुलुक पनि छन् । टर्की, भारत, पोल्याण्ड, इराक, सिंगापुर, मेक्सिको, कतार, जोर्डन, मिश्र, कम्बोडियाजस्ता मुलुकहरु पछिल्लो दशकमा सुन थपिरहेका छन् ।

बेच्दै छ युरोप

सन् २००८ सम्म स्वीट्जरल्याण्ड, फ्रान्स, नेदरल्याण्डस्, स्पेन, पोर्चुगल, अस्ट्रिया, ब्रिटेन, स्वेडेनजस्ता युरोपेली देशहरुले ठूलो मात्रामा सुन बेचिरहेका थिए । जर्मनीले त पछिल्लो दुई दशकयता हरेक साल आफ्नो सुन सञ्चिति घटाइरहेको छ । वितेको २४ वर्षमा उसले ११६.२९ टन सुन बेचिसकेको तथ्यांक छ ।

तर विश्व बजारमा सबैभन्दा धेरै सुन बेच्ने मुलुक चाहीँ स्वीट्जरल्याण्ड हो । उसले यी २४ वर्षमा १५५० टनभन्दा बढी सुन आफ्नो सञ्चितिबाट घटाइसकेको छ । सन् २००० मा ऊसँग २५९० टन सुन थियो । त्यस बखत अमेरिका, जर्मनी र फ्रान्सपछि सर्वाधिक सुन स्वीट्जरल्याण्डसँग थियो । केही वर्षयता उसले सुन सञ्चिति घटाएर १ हजार ४० टनमा सीमित गरेको छ ।

यस बाहेक फ्रान्सले ५८८ टन, नेदरल्याण्ड्सले ३०० टन, ब्रिटेनले २७८ टन, स्पेनले २४२ टन, पोर्चुगलले २२४ टन, भेनेजुयलाले १५० टन र अष्ट्रियाले १२७ टन सुन यो साढे दुई दशकमा आफ्नो सञ्चितिबाट घटाएका छन् । स्वेडेन, उरुग्वे, क्यानडा, फिलिपिन्स, नर्वे, चिली, बेल्जियम, इण्डोनेसिया, ग्रीस, एल साल्भाडोर लगायत देशहरु सन् २००० यता सुनको भण्डार घटाउने सूचीमा पर्छन् ।


प्रतिक्रिया दिनुहोस्