नेपाली नागरिकता त्याग्नेको संख्या बढेको बढ्यै, कतिले लिए पीआर र नागरिकता ? « Arthapath.com
४ असार २०८१, मंगलवार

नेपाली नागरिकता त्याग्नेको संख्या बढेको बढ्यै, कतिले लिए पीआर र नागरिकता ?



काठमाडौँ । नेपालमा राष्ट्रबादको भाषणबाजी चर्किरहेकै बेला हरेक दिन औसत ६ जनाले यो देशको नागरिकता त्यागिरहेका छन् ।

चालू आर्थिक वर्षको १० महिना अर्थात् गएको साउनदेखि वैशाखसम्म १ हजार २२५ जनाले नेपालको नागरिकता त्यागेको तथ्यांक गृह मन्त्रालयले प्रस्तुत गरेको छ ।

यो १० महिनामा सार्वजनिक बिदा कटाएर २३० दिन जति कार्यालय खुलेका छन् । त्यसमध्ये झण्डै ४० वटा शुक्रबार पर्ने भएकाले आधा दिनमात्रै काम भयो ।

यो अवधिमा १२ सयभन्दा धेरैले देशको नागरिकता त्यागेका छन् । यो संख्या चालू आर्थिक वर्षमा ब्यापक बढेको छ । गत आर्थिक वर्ष जम्मा २३७ जनाले नागरिकता त्यागेका थिए ।

यसका साथै गएको असोज ३० बाट सरकारले गैह्रआवासीय नेपाली नागरिकता दिन थालेको थियो । यो १० महिनामा २५५४ जनाले यस प्रकारको नागरिकता लिइसकेका छन् ।

नागरिकता त्याग्नेमात्रै होइन, विदेशको स्थायी र अस्थायी आवासीय अधिकार हासिल गर्ने नेपालीको संख्या पनि बढोत्तरी भइरहेको छ । नेपालीहरु संसारका धेरै देशमा स्थायी आवास अनुमति पत्र (पीआर) लिएर पुगेका छन् ।

सरकारी आँकडा अनुसार वितेको एक वर्षमा ७० हजारभन्दा धेरै नेपालीले संसारका ११० देशमा पीआर लिएर गएका छन् । यसमध्ये सबैभन्दा धेरै मानिसहरुको रोजाइमा अमेरिका देखिएको छ । त्यसपछि ब्रिटेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजिल्याण्ड र संयुक्त अरब इमिरेट्स (मूलतः दुबई) छन् ।

यस्ता विकसित मुलुकमात्रै होइन, आफ्नै छिमेकी भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का र भुटानमा पनि नेपालीहरु पीआर सहित पुगेका छन् ।

अस्थायी आवासको अनुमति लिएर विदेशिनेहरुको संख्या पनि ब्यापक मात्रामा बढेको छ । यस प्रकारको अनुमति पाउनेहरुमध्ये अधिकतर अस्ट्रेलिया र जापानमा छन् । सन् २०२३ मा यी दुई देशमा मुख्यतः नेपालीहरुको उपस्थिति बाक्लिएको तथ्यांक अध्यागमन विभागले उपलब्ध गराएको छ ।

त्यसपछि अमेरिका, ब्रिटेन, पोर्चुगल, संयुक्त अबर, हङकङ, भारत, जर्मनी, कतारजस्ता दर्जनौं देशमा नेपालीहरुले अस्थायी आवासीय अनुमति पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्