आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा १३ खर्ब नाघ्यो « Arthapath.com
७ असार २०८१, शुक्रबार

आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा १३ खर्ब नाघ्यो



काठमाडौं । ११ महिनामा नेपालले साढे १४ खर्ब बढीको आयात गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने १.८४ प्रतिशत कमी हो ।

आयातसँगै निर्यातमा पनि घट्दो नै देखिएको छ । समिक्षा अवधिमा निर्यात ३.०१ प्रतिशत घटेको छ । गत आवको साउनदेखि जेठसम्ममा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ ।

शिथिलताकै कारण अझै पनि आयात र निर्यात दुवै दबाबमा देखिएका छन् । नेपालको वैदेशिक व्यापारमा अझै सुधार आउन सकेको छैन ।

११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ । तर, आयातको तुलनामा निर्यात न्युन रहेकाले वैदेशिक व्यापारमा नेपालले ठुलो घाटा व्यहोर्दै आएको छ ।

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको छ । यद्यपि, यो गत आवको तुलनामा भने १.७२ प्रतिशत मात्रै कमी हो ।

आयात घट्दा पनि दोहोरो अंकले बढ्यो भन्सार राजश्व

आयात घट्दा पनि भन्सार राजश्व भने वृद्धि भएको छ । आयात मार्फत सरकारले प्राप्त गर्ने भन्सार राजश्व ११.७५ प्रतिशत बढेको छ ।

११ महिनामा कुल ३ खर्ब ८४ अर्ब ४७ करोड ७९ लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको जेठसम्मको तुलनामा ४० लाख ४४ करोड ५१ लाख रुपैयाँ बढी हो ।

गत आवको सोही अवधिमा भने कुल आयातबाट सरकारले ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख ४७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ। राजश्वमा खनिज इन्धन, सवारी साधान, फलाम तथा स्टील, विद्युतीय मेसिनरी र त्यसका उपकरणहरु लगायतको योगदान उच्च छ ।


प्रतिक्रिया दिनुहोस्