अब जलविद्युत् आयोजनामा पनि मेसिनले सुरुङ खन्ने पक्का « Arthapath.com
९ असार २०८१, आईतवार

अब जलविद्युत् आयोजनामा पनि मेसिनले सुरुङ खन्ने पक्का



काठमाडौँ । नेपालमा पहिलो पटक जलविद्युत् आयोजनाका निम्ति मेसिनले सुरुङ खन्ने भएको छ । ६३५ मेगावाट जडित क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत् सुरुङ खन्ने भएको हो ।

यसअघि भेरी बबई र सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनामा टीबीएम प्रयोग गरेर सुरुङ खनिएको थियो । भर्खरैमात्रै सुरूङ छिचोलिएको सुनकोशी मरिणमा पनि ३० मेगावाट क्षेमताको जलविद्युत् आयोजना बन्ने छ । तर यो परियोजनाको मूल उद्धेश्य तराइका ५ जिल्लामा सिंचई सुविधा पुर्याउनु हो ।

जलविद्युत् आयोजनाकै निम्ति भनेर अहिलेसम्म मेसिनले सुरुङ खनिएको थिएन । यो आयोजनाले १३ किलोमिटर मुख्य सुरुङ टीबीएमले खन्न लागेको हो । यो परियोजनामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘दूधकोशी जलविद्युत् कम्पनी लिमिटेड’ले निर्माण गर्न लागेको हो ।

आयोजना प्रमुख विमल गुरुङका अनुसार विगत ९ महिनादेखिको प्रयास र सुनकोशी–मरिणको स्थलगत अवलोकन भ्रमणहरू, विस्तृत अध्ययन, टीबीएम बनाउने कम्पनीका विज्ञहरूसँग घनिभूत छलफल पश्चात् सुरुङ खन्न मेसिनको प्रयोग गर्ने निचोडमा पुगिएको हो ।

आयोजनाको इटालियन परामर्शदाता ‘ईएलसी इलेक्ट्रोकल्सल्ट स्पा’ले गत शुक्रबार टीबीएमबाट मुख्य सुरुङ खन्न सिफारिस गरेको छ । यो अवस्थासम्म आउन जलविद्युत् कम्पनीले परामर्शदातालाई विभिन्न विकल्पहरू र सुझावहरू दिँदै ६ वटा पत्र पठाएको जनाएको छ । साथै विज्ञहरूसँग श्रृङ्खलाबद्ध बैठकहरू पनि आयोजना गरेको आयोजना प्रमुख गुरुङले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् ।

पराम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टीबीएमबाट मुख्य सुरुङको निर्माण गर्दा करिब दोब्बर लागत पर्न आउँछ । तर दुधकोशीमा चाहिँ अडिट सुरुङहरू लगायत खर्च कम हुने, बिष्फोटक पदार्थको अभाव खेप्नु नपर्ने, मानवीय क्षति शून्यप्रायः हुने र अन्य कयौँ वातावरणीय जोखिम घट्नुका साथै निर्माण समय लम्बिने संभावना पनि नहुने भएकाले तुलनात्मक लागत धेरै महँगो नपर्ने गुरुङले बताए ।

उनका अनुसार यो आयोजनामा टीबीएम प्रयोग गर्दा ४ किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने भएको छ । यसबाट करिब ३ लाख २२ हजार घनमिटर चट्टान रमाटो खन्ने काम घट्ने छ । त्यस्तस्तै ८ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने भएको छ ।

अडिट टलेल खन्नु नपर्दा करिब २ लाख २६ हजार घनमिटर कंक्रिट कम हुने र यसको व्यवस्थापन खर्च पनि घट्ने उनले उल्लेख गरेका छन् । गुरुङका अनुसार मुख्य र अडिट सुरुङहरू खन्न करिब ३,६०० मेट्रिक टन विष्फोटक पदार्थ नचाहिने भएको छ ।

पुरानो विधिमा खन्नु परेको भए ३ कि.मि. सम्म लामा अडिट सुरुङहरूको स्लोप भित्रतिर गहिरो परेको अर्थात् ‘नेगेटिभ स्लोप’ भएको कारणले निर्माणताका पम्पिङ गर्नुपर्दा र माटो निकाल्ने क्रममा उकालो हिँड्नुपर्दा ठुलो धनराशी खर्च हुने थियो । तर यो प्रविधिबाट त्यस्तो लागत पनि घट्ने भएको छ ।

मानवीय हताहतको जोखिम एवम् भौगर्भिक जोखिम र अनिश्चितताहरू पनि सारभूतरूपमा घट्ने गुरुङले बताएका छन् । सुरुङको चट्टान माटो खन्ने काम ठूलो मात्रामा घटेको तथा ८ किलोमिटर सडक बनाउनु नपर्ने कारणले गर्दा वातावरणीय प्रभाव घट्ने आयोजनाले जनाएको छ ।

तर टीबीएम प्रयोग गर्दा यसको वास्तविक लागत कति बढ्छ भन्ने चाहीँ निश्चय भइसकेको छैन ।

ओखलढुंगाको भदौरे र खोटाङको लामिडाँडाबीच दूधकोशी र ठोट्नेखोला दोभानदेखि तल्लापट्टी बाँध बाँधेर जलाशय निर्माण गर्ने योजना छ । त्यहाँ २२० मिटर अग्लो र ६३० मिटर लामो बाँध बाँधेर १९.७ वर्ग किलोमिटरमा फैलिएको ताल बनाइने छ । रबुवा बजार ओरपर तीन वटा खोलामा गरेर ३१.५ किलोमिटर लामो जलाशय बन्ने छ ।

वार्षिक ३४४२ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने यो आयोजनाको बिजुली ढल्केबर सबस्टेशनमा जोडिने छ । आयोजनाले बाँधस्थलदेखि ढिटुङमा निर्माण हुने विद्युत् गृहसम्म १८ मिलोमिटर लामो १३२ केभी प्रशारणलाइन निर्माण गर्ने छ । विद्युत् गृहबाट ढल्केबर सबस्टेशनसम्म भने ८२ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रशारणलाइनबाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।


प्रतिक्रिया दिनुहोस्