उद्योगहरु पूर्ण क्षमतामा संचालन हुनै कठिन: इटा, सिमेन्ट, डन्डीको क्षमता उपयोग न्यून, उत्पादन वृद्धिदर कस्तो ? « Arthapath.com
१० असार २०८१, सोमबार

उद्योगहरु पूर्ण क्षमतामा संचालन हुनै कठिन: इटा, सिमेन्ट, डन्डीको क्षमता उपयोग न्यून, उत्पादन वृद्धिदर कस्तो ?



काठमाडौं । कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोगमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको अर्ध–वार्षिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

चालु आवको पहिलो ६ महिनामा सो प्रदेशका ४३ वटा उद्योगहरु नमुना छनोटमा समेटिएका थिए । ती उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको छ । तर, गत आवको सोही अवधिमा भने ती उद्योगहरुको औसत क्षमता उपयोग ४०.९ प्रतिशत रहेको थियो ।

विशेषगरी चप्पल, टायर तथा ट्युव, जिआई तार, विस्कुट, चिनी आदि उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएको देखिन्छ । त्यसकरा उद्योगहरुको औसत क्षमता उपयोगमा समेत केही वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, आर्थिक शिथिलताका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, त्यसमा माथि आर्थिक सङ्कटका कारण उनीहरू थप मारमा परेका छन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरु क्रमशः चप्पल, तोरीको तेल, चाउचाउ, प्रशोधित चिया, विस्कुट र जुटका सामान उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन्भने कम क्षमता उपयोग गर्ने उद्योगहरु वनस्पति घिउ, ईटा, कच्चा छाला,गार्मेण्ट र भटमासको तेल उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन् ।

चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ७८.८ प्रतिशत रहेको छ । वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.९ प्रतिशत रहेको छ ।

औसतमा ५० प्रतिशत वा सो भन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरु जम्मा ११ वटा रहेको छ । त्यसभन्दा कम क्षमता उपयोग गर्ने उद्योग समूहहरुको संख्या १४ रहेको छ ।

समिक्षा अवधिमा तोरीको तेल उद्योगको उपयोग क्षमता ७७.१ प्रतिशत, चाउचाउ उद्योगको ७४.२ प्रतिशत, प्रशोधित चियाको ७३.८, विस्कुटको ७०, जुटका सामानको ६७.५, धागोको ६५.१, प्लास्टिकका सामान उद्योगको ६१.३, टायर तथा ट्युवको ५३.१, कागजको ५१.७ र पशुदाना उद्योगको ५० प्रतिशत रहेको छ ।

समिक्षा अवधिमा निर्माणजन्य उद्योगहरुको उपयोग क्षमता न्युन नै देखिएको छ । इटाँ उद्योगको उपयोग क्षमता ८.१ प्रतिशत, सिमेन्टको १६.३ प्रतिशत छ । यस्तै, फलामे छड तथा प्रत्ति उद्योगको उपयोग क्षमता भने ३२.५ प्रतिशत देखिएको छ ।

ईटा उद्योगको उत्पादन वृद्धिदर १२८ प्रतिशत, ११ उद्योगको उत्पादन वृद्धिदर ओरालो

समिक्षा अवधिमा १४ वटा उद्योगहरुको उत्पादन वृद्धिदर बढेको छ । तर, ११ वटाको भने घटेको पाइएको छ।

चालु आवको पहिलो ६ महिनामा इटाको उत्पादन सबैभन्दा बढी वृद्धि भएको छ। समिक्षा अवधिमा सो उद्योगको उत्पादन १२८.६ प्रतिशत वृद्धि भएको छ । यस्तै, टायर तथा ट्युवको उत्पादन ९७ प्रतिशत, पशुदानाको ७३.९ प्रतिशत, जि.आई चार उद्योगको ४२ प्रतिशत, चप्पलको ३८.९, चिनीको ३५.७ प्रतिशत, फलामे छड, पत्ति तथा सामानहरुको उत्पादन १९ प्रतिशत, वनस्पति घिउको उत्पादन १५.८ प्रतिशतले वृद्धि भएको छ ।

तर, घरेलु धातुको सामान, सिमेन्ट, गार्मेण्ट लगायतका उत्पादन भने घटेको देखिन्छ । समिक्षा अवधिमा घरेलु धातुका सामानको उत्पादन ५२.१ प्रतिशत, गार्मेण्ट उत्पादन ५०.३ प्रतिशत, सिमेण्ट ३४.९ प्रतिशत, चामल उत्पादन १७.२, सिन्थेटिक कपडा १३.२ प्रतिशत, साबुनको उत्पादनमा ९.२ प्रतिशत घटेको छ ।

टायर तथा ट्युव उत्पादन गर्ने उद्योगले उत्पादनमा विविधिकरण गर्दै देशभरी आपूर्ति गर्न थालेका कारण टायर तथा ट्युवको उत्पादन बढेको देखिन्छ । पशुदाना उत्पादन गर्ने उद्योगले नयाँ प्लाण्ट सञ्चालनमा ल्याएका कारण उत्पादन बढेको देखिन्छ । जि.आई. तार, चप्पल, फलामे छड तथा वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरुको आधार अवधिको उत्पादन न्युन रहेका कारण उत्पादनमा वृद्धि भएको देखिन्छ ।

उखु किसानले समयमै भुक्तानी पाउन थाले सँगै उखुको उत्पादनमा वृद्धि भएका कारण चिनीको उत्पादन बढेको देखिन्छ । अनियमित विद्युत आपूर्ति, आयातित वस्तुसँगको प्रतिस्पर्धात्मक क्षमतामा कमी, दक्ष कामदारको अभाव, घरेलु बजारमा मागमा आएको कमी तथा गत वर्षको मौज्दात बाँकी रहेका कारण घरेलु धातुका सामान, गार्मेण्ट, सिन्थेटिक कपडा आदिको उत्पादन घटेको देखिन्छ ।

ठूला आयोजनाहरुको निर्माणले गति लिन नसक्नुका साथै सार्वजनिक निर्माणमा आएको कमीका कारण सिमेण्टको उत्पादन घटेको देखिन्छ । यस्तै भारतबाट धान आयात गरी चामल उत्पादन गर्नुपर्ने र भारतिय चामलसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकोले मूल्य प्रतिस्पर्धी हुन नसकेका कारण चामलको उत्पादन घटेको देखिन्छ । तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा खासै अन्तर नभएकोले उत्पादन लागत बढ्न गई बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण सावुनको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्