मुलुकको चुलिदो व्यापार घाटामा मलमको काम गर्दै नेपाली सिमेन्ट, यस्तो छ उत्साहप्रद निर्यातको आँकडा « Arthapath.com
१२ असार २०८१, बुधबार

मुलुकको चुलिदो व्यापार घाटामा मलमको काम गर्दै नेपाली सिमेन्ट, यस्तो छ उत्साहप्रद निर्यातको आँकडा



काठमाडौं । नेपाल सिमेन्ट तथा क्लिङकर निर्यात निरन्तर बढ्दो छ । निर्यात सुरु भएको छोटो अवधिमा नै उल्लेख्य वृद्धि भएको छ । नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुको सूचीमा सिमेन्ट पर्न थालेको छ, हाल कुल निर्यातमा सिमेन्टको हिस्सा २.६२ प्रतिशत पुगेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) ३ अर्ब ६५ करोड ७१ लाख बढीको सिमेन्ट क्लिङकर निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.९० गुणा बढी हो । चालु आवको ११ महिनामा २६ लाख ४४ हजार ५०९ टन सिमेन्ट तथा क्लिङकर निर्यात भएको विभागले जनाएको छ । पछिल्लो समय मासिक औसत ३३ करोड २४ लाख रुपैयाँ बराबरको २ लाख ४० हजार टन बढी सिमेन्ट निर्यात हुँदै आएको छ ।

नेपालले अघिल्लो वर्षको असारदेखि सिमेन्ट निर्यात थालनी गरेको थियो । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक २०७९ असार २४ गते तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । हाल नेपालका आधा दर्जन उद्योगले भारततर्फ सिमेन्ट निर्यात गर्दै आएका छन् । अहिले तानसेन सिमेन्ट, अर्घाखाँची, सौर्य, बालाजी, सिजी, सर्वोत्तम लगायतका सिमेन्ट निर्यात हुँदै आएको छ ।

नेपाली सिमेन्टको मुख्य बजार छिमेकी मुलुक भारत हो । उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । सिमेन्ट निर्यातमा सरकारले लिएको नीतिले पनि निकासीमा थप टेवा पुगेको देखिन्छ । हाल सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ भने बिजुलीको बिलमा छुट घोषणा समेत गरेको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् ।

अहिले नेपालमा निर्माण क्षेत्र मन्दीमा छ। विकास निर्माणका कार्यहरु बढ्न सकिरहेको छैन । यसले सिमेन्ट, डन्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्रीको बिक्री पनि सकेको छैन। देशभित्र सिमेन्टको मागमा कमी आए पनि निर्यातको आँकडा भने निरन्तर बढेको छ ।

भारतबाट अत्याधिक मात्रामा नेपाली सिमेन्ट तथा क्लिङकरको माग हुने गरेको उद्योगहरु बताउँछन् । विशेषगरि भारतको विहार र उत्तर प्रदेशबाट बढी माग हुने गरेको उनीहरुको भनाई छ।

सिमेन्ट निर्यातले सम्वन्धित उद्योगहरुलाई राहतसँगै मुलुकको भुक्तानी सन्तुलन र व्यापार घाटालाई समेत थोरै भए पनि घटाउन योगदान मिलिरहेको छ । भारत लगायतको तेस्रो मुलुकहरूमा पनि सहज बजारीकरण गर्नुपर्नेमा उद्योगहरुको जोड छ, त्यसले नेपाली सिमेन्टको निकासी चामत्कारिक रुपमा बढने उनीहरुको भनाई । हाल उद्योगीले भारतीय बजारमा नेपाली सिमेन्टप्रति विश्वास दिलाउँन र यसको बजारीकरणका लागि विभिन्न बा्रन्डिङको कार्यहरु गरिरहेका छन् । यसले पनि आगामी दिन निकासी अझै बढाउने उद्योगहरु बताउँछन् ।

कुन महिना कति निर्यात ?

गत आवभर कुल ७८ करोड बराबरको मात्रै सिमेन्ट निर्यात भएको थियो । तर, अहिले मासिक औसतमा ३३ करोडको सिमेन्ट तथा क्लिंकर निकासी हुन थालेको छ ।

चालु आवमा सबैभन्दा धेरै गत चैत महिनामा निर्यात भएको थियो । सो महिनामा कुल ५० करोड २८ लाख ६२ हजार बराबरको २ लाख १२ हजार ६०४ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, गत असोजमा पनि ४३ करोड ४५ लाख र फागुनमा ४१ करोड ८ लाख बराबरको सिमेन्ट तथा क्लिङकर निकासी भएको थियो । तर, जेठमा भने औसत भन्दा कम अर्थात् ३२ करोड १६ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको देखिन्छ भने गत बैशाखमा ३६ करोड ९ लाखको निकासी भएको थियो ।

चालु आवको पहिलो महिना (साउन) मा २३ करोड ४९ लाख, भदौमा १८ करोड ३४ लाख, कात्तिकमा २७ करोड ७६ लाख, मंसिरमा ३६ करोड १५ लाख, पुसमा २७ करोड ९ लाख र माघमा २९ करोड ७५ लाख बराबरको सिमेन्ट निर्यात भएको थियो ।

स्रोतः भन्सार विभाग


प्रतिक्रिया दिनुहोस्