वर्षेनि बढ्दै शंकास्पद कारोबारको आँकडा: एकै वर्ष ४० अर्ब कारोबार, वाणिज्य बैंक मार्फत उच्च « Arthapath.com
१७ असार २०८१, सोमबार

वर्षेनि बढ्दै शंकास्पद कारोबारको आँकडा: एकै वर्ष ४० अर्ब कारोबार, वाणिज्य बैंक मार्फत उच्च



काठमाडौं । नेपालमा शंकास्पद कारोबार उच्च भएको पाइएको छ । एक वर्षमै ४० अर्ब बराबरको शंकास्पद कारोबार भएको पाइएको हो ।

नेपाल राष्ट्रले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । केन्द्रिय बैंकको वित्तीय जानकारी एकाईले प्रकाशन गरेको प्रतिवेदन अनुसार गत वर्ष सन् २०२३ मा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएका छ ।

वर्षेनि शकांस्पद कारोबार बढेको प्रतिवेदनले देखाउँछ । गत वर्ष शंकास्पद कारोबारको संख्या ६ हजार २५५ वटा पुगेको छ । अघिल्ला वर्ष सन् २०२२ को तुलनामा ५७.२० प्रतिशत धेरै हो । सो वर्ष ३ हजार ९७९ वटा शंकास्पद कारोबार भएको प्रतिवेदनले देखाएका छ । यस्तै, सन् २०२१ मा १ हजार ८५४ र सन् २०२० मा १ हजार १०३ वटा शंकास्पद कारोबार भएका थिए ।

प्रतिवेदन अनुसार शंकास्पदक कारोबार बैंक तथा वित्तीय संस्था, रेमिटेन्स कम्पनी, भुक्तानी सेवाप्रदायक संस्था, स्टक ब्रोकर, बीमा कम्पनी, लघुवित्त जस्ता संस्था मार्फत गरिएको पाइएको छ । शंकास्पद कारोबारमा सर्वाधिक हिस्सा वाणिज्य बैंकहरुको देखिएको छ । वाणिज्य बैंकहरु मार्फत ८४.४४ प्रतिशत शंकास्पद कारोबार भएको पाइएको हो । प्रतिवेदन अनुसार गत वर्ष वाणिज्य बैंक मार्फत ५ हजार २८२ वटा शंकास्पद कारोबार भएको छ ।

यस्तै, विकास बैंक मार्फत ३३०, भुक्तानी सेवाप्रदायक मार्फत २११, रेमिट्यान्स कम्पनी मार्फत १५६, फाइनान्स मार्फत ९९, स्टक ब्रोकर मार्फत ६२, जीवन बीमा कम्पनी मार्फत २६, नियामक निकाय (राष्ट्र बैंक) मार्फत ११ वटा शंकास्पद कारोबार भएको छ । यता, निर्जीवन बीमा कम्पनी मार्फत २, सहकारी संस्था मार्फत २ र मर्चेन्ट बैंकर मार्फत एउटा मात्र शकांस्पद कारोबार भएको पाइएको छ ।

प्रतिवेदनअनुसार सम्पत्ति सुद्धिकरणसँग सम्वन्धित शंकास्पद कारोबार उच्च देखिएको छ । गत वर्षको कुल कारोबारको ५१.१४ प्रतिशत हिस्सा सम्पत्ति सुद्धिकरणसँग सम्वन्धित छन् ।

यस्तै, गत वर्ष करछली, तस्करी, कर अपराधसँग सम्वन्धित १ हजार ८६८ वटा र पैसा, बैंकिङ्ग, वित्त, विदेशी मुद्रा र बाग्रेनिङसँग सम्वन्धित १ हजार ४० वटा शंकास्पद कारोबार भएका छन् । यता, धोकाधडीसँग सम्वन्धित ५६५, क्यासिन प्रयोग तथा गेमिङ गतिविधिका ४०५ वटा र फर्म, पार्टनरसीप, कम्पनी, संघ/संस्थासँग सम्वन्धित २८८ वटा शंकास्पद कारोबार भएको पाइएको छ।

वाणिज्य बैंक मार्फत साढे ३८ अर्ब बढीको शंकास्पद कारोबार, अन्य मार्फत कति ?

एक वर्षको अवधिमा भएको कुल शंकास्पद कारोबारमा ठुलो हिस्सा वाणिज्य बैंकहरुको देखिएको छ । गत वर्ष बैंक मार्फत ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ ।

यस्तै, विकास बैंक मार्फत ४७ करोड २२ लाख, स्टक ब्रोकर मार्फत ४१ करोड ९६ लाख, फाइनान्स कम्पनी मार्फत २६ करोड ५१ लाख र रेमिट्यान्स कम्पनी मार्फत ११ करोड १३ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको पाइएको छ।

यता, जीवन बीमा कम्पनी मार्फत ३ करोड ६१ लाख, पिएसपि/पिएसओएस मार्फत १ करोड १५ लाख, सहकारी मार्फत ४८ लाख, मर्चेन्ट बैंकर मार्फत ४१ लाख र लघुवित्त वित्तीय संस्थाहरु मार्फत २२ लाख रुपैयाँ शंकास्पद कारोबार भएका छन् ।


प्रतिक्रिया दिनुहोस्