नेपालको कुल निर्यातमा सिमेन्टको हिस्सा साढे २ प्रतिशत, एकैवर्ष पौने चार अर्बको निकासी

काठमाडौं । एक वर्षको अवधिमा नेपाले पौने चार अर्बको सिमेन्ट निर्यात गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाली उद्योगीहरुले झन्डै ३० लाख टन सिमेन्ट तथा क्लिङकर निर्यात गरेका हुन् ।
नेपालबाट अघिल्लो वर्ष २०७९ असारदेखि सिमेन्ट तथा क्लिङकर निर्यात हुन् थालेको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा ३ अर्ब ८५ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । गत वर्ष कुल २९ लाख ९२ हजार ४५ टन सिमेन्ट तथा क्लिङकर निर्यात भएको हो ।
नेपाल सिमेन्ट तथा क्लिङकर निर्यात निरन्तर बढ्दो छ । निर्यात सुरु भएको छोटो अवधिमा नै उल्लेख्य वृद्धि भएको छ । नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुको सूचीमा सिमेन्ट पर्न थालेको छ । हाल कुल निर्यातमा सिमेन्टको हिस्सा २.५२ प्रतिशत पुगेको छ ।
नेपालबाट आधिकारिक रूपमा पहिलो पटक २०७९ असार २४ गते तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । हाल नेपालका आधा दर्जन उद्योगले भारततर्फ सिमेन्ट निर्यात गर्दै आएका छन् । अहिले तानसेन सिमेन्ट, अर्घाखाँची, सौर्य, बालाजी, सिजी, सर्वोत्तम लगायतका सिमेन्ट निर्यात हुँदै आएको छ ।
सिमेन्ट निर्यात सुरु भएको छोटो समयमा नै उल्लेख्य रुपमा बढेको छ । जसले नेपाली उद्योगी व्यवसायीहरुलाई निकासीमा उत्साह थपेको छ । आवको तुलनामा भने सिमेन्ट निर्यात झन्डै पाँच गुणा बढेको छ । अघिल्लो आवमा नेपाली उद्योगीहरुले ७९ करोड ९३ लाख रुपैयाँ बराबरको १० लाख ४ हजार टन सिमेन्ट निर्यात गरेका थिए ।
नेपाली सिमेन्टको मुख्य बजार छिमेकी मुलुक भारत हो । उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । सिमेन्ट निर्यातमा सरकारले लिएको नीतिले पनि निकासीमा थप टेवा पुगेको व्यवसायीहरु बताउँछन् । हाल सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ भने बिजुलीको बिलमा छुट घोषणा समेत गरेको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् ।
सिमेन्ट निर्यातले देशको भुक्तानी सन्तुलन र व्यापार घाटालाई कम गर्न पनि ठुलै योगदान दिने व्यवसायीहरु बताउँछन् । गत आवमा मात्रै नेपालले साढे १४ खर्ब हाराहारीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । भारत लगायतको तेस्रो मुलुकहरूमा पनि सहज बजारीकरण गर्न सकेमा अझै निकासी बढ्ने उद्योगीहरु बताउँछन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालले साढे १० खर्ब वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।
देशभित्र सिमेन्टको मागमा कमी आए पनि निर्यातको आँकडा भने निरन्तर बढेको छ । अहिले नेपालमा निर्माण क्षेत्र मन्दीमा छ, यसले सिमेन्ट, डन्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्रीको बिक्री पनि सकेको छैन। तर, बाह्य मुलुकबाट भने निरन्तर माग बढेको छ ।

नेपालमा पछिल्लो समय मासिक औसतमा ३२ करोड १० लाख रुपैयाँ बराबरको साढे दुई लाख टन सिमेन्ट भारत तर्फ निर्यात हुँदै आएको छ । विभागका अनुसार गत असारमा १९ करोड ५६ लाख ८१ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर निर्यात भएको थियो ।
गत जेठमा पनि ३२ करोड १६ लाख, वैशाखमा ३६ करोड ९ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । गत चैत महिनामा यो हालसम्मकै उच्च अर्थात् एकै महिना ५० करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यता, फागुनमा पनि ४१ करोड ८ लाख बराबरको निकासी भएको थियो ।
विभागका अनुसार गत माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड ९ लाख, मंसिरमा ३६ करोड १५ लाख, कात्तिकमा २७ करोड ७६ लाख, असोजमा ४३ करोड ४५ लाख, भदौमा १८ करोड ३४ लाख र साउनमा २३ करोड ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।