एक वर्षमा थपिए ४३४ स्वदेशी तथा विदेशी उद्योग, ४०२ परियोजनामा साढे ६१ अर्ब लगानी प्रस्ताव « Arthapath.com
१० श्रावण २०८१, बिहीबार

एक वर्षमा थपिए ४३४ स्वदेशी तथा विदेशी उद्योग, ४०२ परियोजनामा साढे ६१ अर्ब लगानी प्रस्ताव



काठमाडौं । एक वर्षमा ४०० भन्दा बढी उद्योग थपिएका छन् । उद्योग विभागले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरणले यस्तो देखाएको हो ।

विभागका अनुसार गत वर्ष स्वदेशी तथा विदेशी गरि कुल ४३४ वटा उद्योग दर्ता भएका छन् । गत असार महिनामा मात्रै ६५ वटा नयाँ उद्योग थपिएका छन् ।

सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । एक वर्षमा ३३३ वटा साना उद्योग विभागमा दर्ता भएका हुन् । जुन लक्ष्य धेरै हो । गत वर्ष २०० वटा नयाँ साना उद्योग हुने वार्षिक लक्ष्य थियो । गत असारमा मात्रै ५७ वटा उद्योग थपिएका हुन् ।

यस्तै, ५२ वटा मझौता उद्योग दर्ता भएका छन् । तर, यो लक्ष्य भन्दा ३३ वटा कम हो । गत आवमा वार्षिक ८५ वटा मझौला उद्योग दर्ता हुने लक्ष्य लिएको थियो ।

विभागका अनुसार वर्षभर ४९ वटा ठुला स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । यद्यपि, यो पनि लक्ष्य भन्दा ३१ वटा कमी हो । गत आवमा कुल ८० वटा ठुला उद्योग दर्ता हुने लक्ष्य राखिएको थियो ।

औद्योगगिक व्यवसाय ऐन, २०७६ अनुसार लघु उद्यम र घरेलु उद्योग बाहेकका १५ करोड रुपैयाँसम्मका स्थिर पुँजी भएका उद्योगलाई साना उद्योगमा वर्गीकरण गरिएको छ । यस्तै, १५ करोड भन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई मझौला र ५० करोड माथि स्थिर पुँजी भएका उद्योलाई ठुलो उद्योगमा वर्गीकरण गरिएको छ ।

विभागका अनुसार गत आवमा २ वटा प्याटेन्ट दर्ता भएका छन् भने ११ वटा डिजाइन दर्ता भएको छ । यता, ट्रेडमार्क भने ६ हजार ५१ वटा दर्ता भएको विभागले जनाएको छ। एक वर्षमा ट्रेकमार्क सम्वन्धी मुद्दामा ११३ वटा कम्पनीलाई कारवाही गरिएको छ। यता, प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) ५१ वटा र भारत रियाती निर्यातको लागि सम्पत्ति प्रमाण पत्र सिफारिसको संख्या ८५ पुगेको छ ।

गत वर्ष कुल लगानी (प्रस्तावित) २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ छ । यसबाट २५ हजार ५५१ जनाले रोजगारी पाउने छन् ।
विभागका अनुसार ४०२ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको हो । प्रस्तावित कुल विदेशी लगानी ६१ अर्ब ७८ करोड रुपैयाँ छ । प्रस्तावित विदेशी परियोजनाहरुमा रोजगारी संख्या १९ हजार ५६५ रहेको छ।


प्रतिक्रिया दिनुहोस्