अमेरिकाको मोहभंग पछि उदाएकी बैंकर, नेपालमै भविष्य खाेज्दै

काठमाडौं । युवाहरू देश छाड्न हतारमा छन् । उनीहरूले यो देशमा आफ्नो भविष्य देखिरहेका छैनन् । अझ भन्दा कर्मशील उमेर समूहको ठूलो जनसंख्या आफ्नो जन्मभूमिमा अडिनै चाहँदैन ।
कथित ‘सुन्दर भविष्य’को खोजिमा हजारौंको संख्यामा युवा पलायन भइरहेको छ । यहाँ बस्नेहरू पनि चैनमा छैनन् । स्वदेशमा रोकिएकाहरु मध्ये पनि ठूलो हिस्सा परदेशको बाटो हेरेर खुट्टा उचालिरहेका छन् ।
सकेसम्म अमेरिका, क्यानडा, अष्ट्रेलिया वा युरोप । त्यति नभए जापान, कोरिया । त्यो पनि नसके खाडीका देशहरु नै भए पनि हाम्रा युवाको विकल्पमा प्रस्तुत छन् । कोही स्कुल स्तरको पढाइ पनि नपढी बाहिरिन्छन्, कोही एसईई पछि, कोही १२ कक्षा सकेर त कोही स्नातक र स्नातकोत्तर सकेर पनि विदेशै जान मरिहत्ते गरिरहेका छन् ।
विद्यालय स्तरको पढाइ भर्खर सकेका विद्यार्थीलाई भविष्यको योजना सोध्ने हो भने अधिकांशको जवाफ एउटै आउँछ,– विदेश जान्छु । अभिभावक पनि छोराछोरी नेपाल बसेको खुशी मान्दैनन् । किनभने उनीहरूले यो देशमा भविष्य देखेका छैनन् । उनीहरुलाई आफ्ना सन्तान आफूसँगै बसेको हेर्नु छैन । बरु छरछिमेक र आफन्तका सन्तानले भन्दा ज्यादा पैसा कमाएको देख्नमा गर्व लाग्छ ।
त्यसैले त अहिले गाउँ गाउँ रित्तिएर अमेरिका ‘हिँडेको’ छ । नेपालीका लागि ‘सपनाको देश’ बनेको छ, अमेरिका । त्यहाँ पुग्नका लागि कसैले कुनै कसर बाँकी राख्दैनन् । अमेरिका पुग्नका लागि मान्छे अनागरिक बन्न पनि तयार छन् । त्यहाँ पाइला राख्न पाए संसारकै भाग्यमानी ठान्ने जमातको कमि छैन ।
अवैध बाटो हुँदै अमेरिका छिर्नेको लर्को लाग्छ । टाउकोमा ७०–८० लाखदेखि करोडसम्म ऋणको भारी बोकेर अमेरिकाको अनिश्चित यात्रा गर्न युवा पुस्ता तम्तयार छ ।
यही भीडबाट केही त्यस्ता पात्र पनि बाहिर आएका छन्, जो आफ्नै देशमा भविष्य देखेर त्यही ‘सपनाको मुलुक’बाट फर्किएका छन् । जन्मभूमिको धर्ति सिंगार्ने अभिलाषा बोकेर स्वदेश आएका कयौँ युवाले साँच्चै आफ्नो मिहेनतले उपलब्धीको बगैँचा खडा गर्नेहरु पनि छन् ।

यस्तै पात्रहरुमध्येको एउटा नाम हो, प्रतिमा पाण्डे ।
अहिले माछापुच्छ्रे बैंकमा अनुगमन विभाग हाँकीरहेकी प्रतिमा अमेरिकाको मोह छाडेर आफ्नै देश फर्किएका परिवर्तनकारी सोचकी एक पात्र हुन् । सन् २०१७ मा ‘डिभी’ परेपछि उनी जागिर छाडेर परिवारसँगै अमेरिका पुगेकी थिइन् । त्यस बेला उनको लागि पनि अमेरिका ‘ड्रिम ल्याण्ड’ थियो ।
तर त्यहाँ उनको भ्रम लामो समय रहेन । अमेरिकाको जीवनशैली उनलाई पट्यार लाग्यो । बैंकको जागिर छाडेर अमेरिका गएकी उनलाई अमेरिकाको मोहले तान्न सकेन । उनि अहिले माछापुच्छ्रे बैंकको अनुगमन विभागको अलावा सिएसआर, विदेश मामिला र सीईओको कार्यालय जस्तो महत्वपुर्ण विभागहरु सम्हालीरहेकी छिन् ।
सानैदेखि पढाइमा अब्बल प्रतिमाले बरू अमेरिकामै स्नातकोत्तरको पढाइ गर्ने अवसर पाइन् । एक वर्षमा नै मास्टर्स पूरा गरिन् । उत्कृष्ट नतिजासहित मास्टर्स पास गरेकी प्रतिमाले अवार्ड समेत जितिन् ।
सबै कुरामा अब्बल प्रतिमालाई कामको राम्रो अफर पनि आयो । तर उनलाई त्यहाँको डलरको मोहले तान्न सकेन । देशको माया, माटोको सुगन्ध र आफ्नोपनको अभाव खड्कीरह्यो ।
अमेरिका पुगेको छोटो समयमा नै श्रीमान र छोरीलाई नेपाल फर्काइन् । श्रीमान गएको ३ महिनामा र छोरी ६ महिनामा नै नेपाल फर्किए ।
आफू पनि पढाइ पूरा गरेपछि १४ महिनामा नै आफ्नै देशमा केही गर्ने अभिलाषा बोकेर फर्कीइन् ।
‘ड्रिमल्याण्ड’ अमेरिकामा सबै चिज थियो । तर पारिवारिक वातावरण थिएन । काम थियो तर फुर्सद थिएन । दशैँ आउँथ्यो तर उमंग र उत्साह आउँदैनथ्यो ।
त्यहाँको प्रणालीले बाँधेर राख्ने ऋणको जंजालमा उनलाई अड्किन मन लागेन । आफ्नै देशमा फर्किइन् । उनलाई कुनै पश्ताचाप छैन ।
कतिपयले त्यस्तो राम्रो अवसर छाडेर फर्किएको भन्दै उनलाई गाली गर्छन् । तर उनलाई आफ्नो देशको माटो प्यारो छ । परिवारको साथ प्यारो छ ।

अनि मोडियो डाक्टर बन्ने सपना
सामान्य परिवारमा हुर्किएकी प्रतिमा पढाइमा सानैदेखि अब्बल नै थिइन् । उनको डाक्टर बन्ने सपना थियो । २०५३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उच्च माध्यमिक तह अर्थात् +२ मा विज्ञान संकायमा भर्ना भइन् । +२ सकेपछि भने उनको सपना मोडियो ।
डाक्टर पढ्न धेरै खर्च लाग्ने भएपछि परिवारलाई आर्थिक बोझ थुपार्न मन लागेन । व्यवस्थापन संकायमा भर्ना भइन् । त्यसपछि बिहान कलेज दिउँसो आफैंले पढेको स्कुलमा पढाउन थालिन् । पढ्दै पढाउँदै स्नातक तह सकाइन् । स्नातक तह पढ्दासम्म उनले बैंकर बन्ने सपना देखिनन् ।
स्नाकोत्तर तह पुगेपछि तत्कालिन एनआईसी बैंकमा जागिर खुल्यो । आवेदन दिइन् । अन्तर्वार्ताका लागि छनोट भइन् । उत्तीर्ण पनि भइन् ।

२०६१ देखि एनआईसी बैंकमा जुनियर तहबाट बैंकिङ करियर सुरू गरिन् । एक वर्षमै तह माथि बढुवा भयो । बैंकिङ करियर सुरू भएपछि विवाह भयो । उनका परिवार नै बैंकमा जागिरे । उनलाई काम गर्न झनै हौसला मिल्यो । सपोर्टिभ परिवार र बैंकिङ क्षेत्रमा बढ्दै गएको रूचीले उनलाई थप उचाईमा पुर्यायो ।
उनी ९ वर्षसम्म एनआईसीमा आवद्ध भइन् । त्यसपछि ‘ट्रेजरी असिस्टेन्ट’ भएर सानिमा बैंकमा पुगिन् ।
त्यहाँ काम गर्दागर्दै ‘डिभी’ पर्यो । छोटो समय अमेरिका बसेर नेपाल फर्किएपछि उनी माछापुच्छ्रे बैंकमा प्रवेश गरिन् । उनी सहायक प्रबन्धक हुँदै अहिले व्यवस्थापन तह हाकींरहेकी छिन् ।आफू योग्य भए आफ्नै देशमा काम गर्न सकिन्छ भन्ने लाग्छ उनलाई ।
प्रतिमालाई कहिल्यै पछाडि फर्किएर हेर्न परेको छैन । परिवारको साथ र सपोर्टले उनको आत्मविश्वास झनै चुलिएको छ ।