३६८ वटा प्रोजेक्टका लागि २० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको साउनदेखि मंसिरसम्ममा ३६८ परियोजनाका लागि २० अर्ब १८ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका अर्थात् स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिद लगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन् ।
तर, यो गत आवको सोही अवधिको तुलनामा भने १७.११ प्रतिशत कमी हो । गत आवको मंसिर मसान्तसम्ममा २४ अर्ब ३५ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
चालु आवको पहिलो पाँच महिनामा स्वचालित प्रणालीबाट १३८ परियोजनाका लागि २ अर्ब १३ करोड १ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएको छ । विभागका अनुसार स्वीकृत लिएर अर्थात् अप्रुभल रुट मार्फत १८१ वटा परियोजनाका लागि १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
यता, सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका ४९ वटा उद्योगका लागि १ अर्ब ५४ करोड १२ लाख १५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार मंसिर महिनामा मात्रै २ अर्ब ५१ करोड ७३ लाख ५० हजार रुपैयाँ बराबरको ६७ उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यस्तै, गत कात्तिकमा २ अर्ब २४ करोड ३७ लाख ९६ हजार रुपैयाँ, असोजमा ३ अर्ब ९७ करोड ६३ लाख, भदौमा ४ अर्ब ११ करोड ६६ लाख ५० हजार र साउनमा ९ अर्ब ४६ करोड ४५ लाख ७२ हजार बराबरको लगानी प्रतिवद्धता आएको थियो ।
विभागका अनुसार चार महिनाको अवधिमा ३१२ वटा साना उद्योग, ४ वटा मध्यम र ३ वटा ठुला उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आएपछि कुल ९ हजार २०६ जनाले रोजगार पाउने विभागले जनाएको छ ।
हालसम्म भने कुल ५ खर्ब ४० अर्ब ५३ करो ९८ लाख ६० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । लगानी प्रतिवद्धता आएको उद्योगहरु संचालना भएपछि कुल ३ लाख ३७ हजार ५१४ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।
विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिवद्धता भने पर्यटन क्षेत्रमा नै देखिएको छ । विदेशी लगानीकर्ताहरु नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न धेरै आकर्षित भएको पाइन्छ । चालु आवको पाँच महिनामा पनि आएको कुल लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा ४५ प्रतिशत देखिएको छ । पर्यटन क्षेत्रका १४५ वटा उद्योगका लगानी प्रतिवद्धता आएको देखिन्छ ।
दोस्रो धेरै सूचना प्रविधि क्षेत्रमा ३३ प्रतिशत अर्थात् १०६ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार सेवा क्षेत्रका लागि ४० वटा, उत्पादन क्षेत्रका २२ वटा, कषिका ५ वटा, पूर्वाधारका १ उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
