मौलाउँदै वित्तीय अपराधको जालो : ४ महिनामै करीब ३ करोडको ठगी, उजुरीको चाङ

काठमाडौं । काभ्रेकी कमला महर्जन (नाम परिवर्तन) गत बिहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेटिन्छिन् । सामाजिक सञ्जालबाट ठगीमा परेपछि उनी उजुरी दिन महाशाखा पुगेकी थिइन् ।
किर्तिपुर बस्दै आएकी उनलाई केही समय अघि ह्वाट्सएपमा एक व्यक्तिले चिठ्ठा परेको भन्दै उनलाई मेसेज गर्छन् । एक्कासी २५ लाख रुपैयाँको चिठ्ठा पर्यो भन्दा उनी खुशीले गद्गद् भइन् । ती व्यक्तिसँग निरन्तर कुरा गरिरहिन् ।
ती अन्जान व्यक्तिले कर तिरेपछि मात्र खातामा पैसा आउने बताएपछि उनले सुरूमा २ लाख रुपैयाँ ती व्यक्तिको खातामा पठाइन् । ती व्यक्तिले फेरि थप एक लाख रुपैयाँ माग गरे । त्यो पनि उनले पठाइन् । ती व्यक्तिले छिट्टै कमलाको खातामा जम्मा हुने विश्वास दिलाए । पैसा पाएको केही घण्टापछि ती व्यक्ति उनलाई ब्लक गरेर फरार भए ।
त्यसपछि कमला छाँगाबाट खसेझैँ भइन् । ‘श्रीमानले विदेशमा दुःख गरेर कमाएको पैसा क्षणभरमै कहाँ पुग्यो, पुग्यो ? अब त्यो ठगलाई कहाँ खोज्नु ? म त बर्बाद हुन्छु ।’ कमला प्रहरीसँग बिलौना गर्दै थिइन् । उपहार पाउने आशमा अन्जान मान्छेलाई विश्वास गरेकी उनको अहिले भोक–निद्रा हराएको छ ।
यो त प्रतिनिधि घटना मात्र हो । अहिले महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयमा यस्ता उजुरीको चाङ लाग्ने गरेको छ । विशेष गरी महिलाहरू आपराधिक गिरोहको चंगुल पर्ने गरेको प्रहरी अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्य बताउँछन् ।
आचार्यका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामै झुठो चिठ्ठाका नाममा २४ जना ठगिएका छन् । यो त उजुरी दिने संख्या भयो । कतिपय व्यक्ति ठगिए पनि उजुरी दिन जाँदैनन् । आर्थिक वर्ष २०७९÷८० मा ७८ र आर्थिक वर्ष २०८०÷८१ मा ५७ जना ‘चिठ्ठा परेको’ भनरे ठगिएपछि उजुरी दिन अपराध महाशाखा पुगेका छन् ।
अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्लो समय सामान पार्सल, अनलाइन सपिङ र अनलाइन जब स्क्याममार्फत हुने ठगीको घटना बढ्न थालेका छन् । यसको अलावा सामाजिक सञ्जाल, वालेट तथा मोबाइल बैंकिङ, ओटीपी कोड, वैदेशिक रोजगारीमा पठाइदिने बहानामा हुने ठगी पनि उत्तिकै बढेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा अपराध अनुसन्धान कार्यालयमा ९०१ वटा अनलाइन तथा अफलाइन ठगीको उजुरी परेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ६६७ र आर्थिक वर्ष २०७९÷८० मा एक हजार ४५० उजुरी परेको अपराध कार्यालयले जनाएको छ ।
पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै यसको दुरूपयोग पनि बढ्न थालेको छ । यस्ता ठगीको ग्राफ पनि उकालो लाग्न थालेको छ ।
ठगीमा संलग्न व्यक्तिले पीडितसँग चिनजान गरी विभिन्न वहानामा व्यक्तिको सूचना प्राप्त गर्ने र उनीहरूको मोबाइल बैंकिङ, इसेवा तथा खल्तीजस्ता वालेटहरु ह्याक गरी ठगी गर्नेको गिरोह समेत बढ्न थालेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
ठगीको अर्को फेरो चाहीँ ई–कमर्शसँग पनि गाँसिएको छ । सामाजिक सञ्जालमार्फत् वस्तु तथा सेवाको प्रचारबाजी ह्वात्तै बढेको छ । ठगी गर्नेहरुले यिनै अनलाइन व्यवसायलाई नै माध्यम बनाएर पनि लाखौं रुपैयाँ ठगीरहेका छन् ।
नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्षको ४ महिना अर्थात् कार्तिकसम्म अनलाइन सपिङमार्फत २८ लाख ६७ हजार ६३५ रुपैयाँ बराबरको ठगी भएको छ । यो घटना १५ जना पीडित भएका छन् । घटनामा संलग्न भएको आरोपमा ११ जना पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत ४ महिनामा १५ लाख २० हजार ५८० रुपैयाँ, अनलाइन बैंकिङमार्फत एक करोड ३१ लाख ८८ हजार २०० रुपैयाँ र अनलाइन भुक्तानी (फोनपे, इसेवा, खल्तीलगायत) मार्फत २ लाख २३ हजार रुपैयाँ ठगी भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बताए ।
उनका अनुसार पछिल्लो ४ महिनामा अनलाइनमार्फत २ करोड ९६ लाख २४ हजार रुपैयाँ बराबरको ठगी भएको छ । यो अवधिमा ६० वटा मुद्दा संकलन भएको छ । अनलाइन ठगीमा संलग्न भएको आरोपमा प्रहरीले ८६ जनालाई प्रकाउ गरेको छ ।
चालु आर्थिक वर्षको ४ महिनालाई छाड्ने हो भने तीन वर्षको अवधि (चालु आ.व २०७८/७९ देखि ८०/८१ सम्म) मा मात्रै अनलाइनमाफर्त ९८ करोड ६९ लाख ७८ हजार रुपैयाँ बराबरको ठगी भएको प्रहरीले जनाएको छ । यो अवधिमा एक हजार ८ सय ३७ जनालाई पक्राउ गरिएको छ ।
गत आर्थिक वर्षमा ३४ करोड ७२ लाख १५ हजार रुपैयाँ बराबरको ठगी अनलाइनमार्फत भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा ३५ करोड ८८ लाख २० हजार र आर्थिक वर्ष २०७८÷७९ मा २८ करोड ९ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी अनलाइन मार्फत भएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म विद्युतीय कसूर तथा साइबर अपराधमा १६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै ७ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, मधेश प्रदेशमा ३, सुदूरपश्चिममा २, कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा एक–एक वटा मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा २५५, आर्थिक वर्ष २०७९÷८० मा १३३ र आर्थिक वर्ष २०७८÷७९ मा १३८ विद्युतीय कसुर तथा साइबर अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी कार्यलयको तथ्यांकले देखाएको छ ।
यता ठगी तथा आपराधिक विश्वासघातको मुद्दा पनि बढ्दो छ । चालु आवको ४ महिनामा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धि ६१८ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा एक हजार ८७४ मुद्दा दर्ता हुँदा आव २०७९÷८० मा एक हजार १०५, २०७८÷७९ मा ७३९ वटा मुद्दा दर्ता भएका छन् ।
फैलिएको अपराधको जालो
उपहार पठाउने, सामाजिक सञ्जालको ‘इम्प्रेशन’ बढाइदिने, आईफोन पठाइदिने, अनलाइन व्यापार, ‘ओटीटी’ सेवा दिने, बैंक र वालेट अकाउन्टमा पहुँच पु¥याउनेलगायतका शैली अपनाएर यस्तो ठगी धेरै हुने गरेको छ ।
त्यस्तै पैसा दोबर बनाइदिने, क्रिप्टोकरेन्सीमा पैसा लगाइदिने, नेटवर्क मार्केटिङमा पैसा लगाइदिने, अनलाइनबाट कोठा तथा फ्ल्याट खोजीदिने, पीटीई र आईएलटीएसलगायतका परीक्षाको शुल्क अनलाइनबाट तिरिदिनेजस्ता सेवा देखाएर यस्तो ठगी धेरै हुने गरेको छ ।
पछिल्लो समय विवाह गर्ने उमेर भएका युवतीहरू पनि ठगीमा पर्ने गरेका छन् । आपराधिक गिरोहले युवतीलाई बिहे गरेर विदेश लाने आश्वासन देखाएर ठगि गर्ने गरेको एक प्रहरी अधिकारी बताउँछन् । ’सामाजिक सञ्जालमा युवतीहरूसँग जोडिने । उनीहरूलाई विस्तारै माया जालमा पार्ने र पछि अनेक बहाना ठगी गर्ने घटनाहरू धेरै आउन थालेका छन्’– ती अधिकारीले भने ।
नेपाल राष्ट्र बैंकले गत मंसिरमा सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ले पनि साइबर माध्यमबाट हुने वित्तीय ठगी र शङ्कास्पद कारोबार पछिल्ला वर्षहरूमा बढिरहेकोले देखाएको छ। उक्त प्रतिवेदनले भुक्तानीसम्बन्धी साइबर अपराध धेरैतिर फैलिएको देखाएको छ ।
साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार तथा तथा पार्सल ठगी, सामाजिक सञ्जालका माध्यामबाट हुने ठगी, अनलाईन व्यापारसम्बन्धी झुटा प्लेटफर्म, ओटिपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको छ । शङ्कास्पद कारोबार तथा वित्तीय भुक्तानीसम्बन्धी विवरणमध्ये ६३ प्रतिशत साइबर माध्यमबाट भएका देखिएको छ ।
अधिकांश त्यस्ता ठगीसँग सम्बन्धित घटनाहरूलाई नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ भने केहीलाई राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा पनि पठाइएको छ ।
साइबर माध्यमबाट हुने ठगी तथा शङ्कास्पद वित्तीय कारोबारमा सबैभन्दा धेरै १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू र दोस्रोमा २५ देखि ३० वर्ष उमेर समूहका युवाहरू संलग्न देखिएको प्रतिवेदनले देखाएको छ । त्यस्ता गतिविधिमा संलग्नमध्ये ७० प्रतिशत व्यक्तिहरू १९ देखि ३० वर्षभित्रका रहेको देखिएको छ ।
साइबरजन्य गलत कार्यमा संलग्न हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी रहेका छन् भने दोस्रोमा जागिरे छन्। कृषक, प्रोप्राइटर, फलफूल तथा तरकारी विक्रेता, गृहिणी र बेरोजगारहरू पनि यस्ता गतिविधिमा संलग्न पाइएको छ ।
साइबर ठगीका घटना सबैभन्दा धेरै बागमती प्रदेशमा, दोस्रोमा मधेश र तेस्रोमा कोशी प्रदेशमा देखिएका छन् । उक्त प्रतिवेदन साइबर माध्यमबाट हुने वित्तीय कारोबारसँग सम्बन्धित गलत काममा कस्ता व्यक्ति संलग्न छन् र त्यसको नियन्त्रणका लागि के गर्नुपर्छ भन्नेमा केन्द्रित छ ।
कारबाहीमा कठिनाइ
साइबर माध्यमबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । ठगी गरिसकेपछि त्यस्ता व्यक्तिहरू सामाजिक सञ्जालमा ब्लक गरेर आइडी नै बन्द गरेर फरार हुने गरेका छन् । जसले गर्दा कारबाहीमा समेत कठिनाइ हुने गरेको प्रहरीहरू बताउँछन् ।
आपराधिक गिरोहले सावधानीपूर्वक ठगी गरिरहेका छन् । यस्ता कार्यका लागि उनीहरूले ‘फेक आइडी’ बनाउने र उद्देश्य पूरा भएपछि यस्ता आइडीहरू बन्द गर्ने गरेका छन् ।
त्यसमा पनि ठगीका लागि प्रयोग गरिने अधिकांश अकाउन्ट तथा वेवसाइट विदेशबाट चल्ने गरेकोले पनि पत्ता लगाउन कठिनाइ हुने प्रहरीहरू बताउँछन् ।