सात दशकअघि पाउरोटीको स्वाद चखाउने एउटा व्यवसाय यसरी बन्यो स्वदेशी ‘ब्राण्ड’

काठमाडौं । कृष्ण पाउरोटी अर्थात् नेपालको पहिलो पाउरोटी उद्योग । बिहानको चियाको चुस्कीसँगै होस् या ब्रेकफास्ट, अधिकांशको लोकप्रिय खाजा हो–पाउरोटी । हरेकको भान्सामा सजिलो खाजा नै यही बनेको छ ।
नेपालमा पाउरोटी परिकार कहिलेबाट भित्रियो, यो विषयमा धेरैलाई थाहा नहुन सक्छ ।
आजभन्दा ७ दशक अघि अर्थात् २००५ सालमा नेपालमा पहिलो पल्ट पाउरोटी उद्योग खुलेको थियो । कृष्णबहादुर राजकर्णिकारले नेपालमा रोटीको नयाँ स्वाद अर्थात् पाउरोटी भित्र्याएका हुन् । उनले कोलकत्तामा सिकेको सीपलाई नेपालमा भित्राउने मात्र होइन, यसलाई लोकप्रिय ब्राण्ड नै बनाए ।
स्थापनाकालदेखि हालसम्म आइपुग्दा कृष्ण पाउरोटीले अनेकन आरोह अवरोह पार गर्नुपर्यो । चुनौतीका भीमकाय पहाडसँग जुध्दै आज कृष्ण पाउरोटी नेपालको ‘ब्राण्ड’ बनेको छ ।

त्यो विराशत
कृष्णबहादुरका हजुरबुबा गजराज राजकर्णिकार पहिलेदेखि नै जंगबहादुर राणासँग निकट थिए । जंगबहादुर राणा प्रधानमन्त्री भएपश्चात् गजराजलाई आफ्नो निजी ‘हलवाई’ (मीठाई बनाउने भान्से)मा नियुक्त गरे । गजराजले थापाथलीस्थित जङ्गबहादुरको दरबारमा मिठाइ–रोटी आपूर्ति गर्थे ।
तिनै गजराजले जंगबहादुरका छोरा—भतिजालाई पनि उनीहरु सानै छँदादेखि ‘खानपिन’मा खुब ध्यान दिन्थे । रणोद्वीप सिंहको हत्यापछि वीरशम्शेर प्रधानमन्त्री भए । त्यसपछि उनले आफ्नो बालसखा (खेल्ने साथी) गजराजका जेठा छोरा हिरामान सिंहलाई आफ्नो निजी हलुवाई नियुक्त गरे ।
हिरामानको निधनपछि उनका छोरा कृष्णबहादुरको काँधमा त्यो जिम्मेवारी आइपुग्यो । वीरशम्शेरका नाती इन्दु शम्शेरको निजी हलुवाई बनेका कृष्णबहादुर एक पल्ट उनीसँगै इलाम पुगे । तत्कालिन प्रधानमन्त्री जुद्धशम्शेरले उनीहरूलाई इलाम पठाएका थिए ।
इमान्दार र स्वाभिमानी कृष्णबहादुरलाई इन्दु शम्शेरबाट नै धोका भएपछि उनी केही सिकेर मात्र फर्किने निर्णय सहित कोलकाता भासिए । तर नयाँ ठाउँमा पुगेका उनलाई त्यहाँको बारेमा केही पनि थाहा थिएन । १०–१२ दिन यत्तिकै विताएपछि कृष्णबहादुरको मन भौँतारियो । उनीमा नैराश्यता बढ्यो ।
कोलकाताको दक्षिणतिर अवस्थित कालीघाटको कालीमन्दिर दर्शन गरेर नेपाल फर्किने सोचमा उनी पुगे । त्यहाँ अत्यन्तै भीडभाड थियो । कलियुगका सिद्ध पुरुष मानिने रामकृष्ण परमहंसले ‘तप’ गरेको यो स्थान धेरैको लागि तीर्थस्थल हो ।
त्यहाँको भीडमा एक बालिका फसेकी थिइन् । कृष्णबहादुरले ती बालिकाको उद्धार गर्न सफल भए ।
त्यसपछि ती बालिकाको अभिभावकसँग परिचय हुँदा उनले आफ्नो समस्या सुनाएका थिए । ती व्यक्ति कोलकाताको प्रख्यात बेकरी फर्पोजका पाउरोटी बनाउने मिस्त्री रहेछन् ।
‘सीप सिक्न’ कोलकाता पुगेका कृष्णबहादुरलाई ढुंगा खोज्दा देउता मिले झैँ भइहाल्यो । तिनै व्यक्तिसँग गएर उनले पाउरोटी बनाउन सिके । त्यसपछि नेपाल फर्केर यही व्यवसाय अघि बढाउने मनस्थिति बनाए ।
कोलाकातामा पाउरोटी बनाउने सीप सिकेर वि.सं. २००३ तिर नयाँ आशा, नयाँ विश्वास सहित उनी काठमाडौं फर्किए । तर यहाँको अवस्था त्यति सहज थिएन । घरको हालत पनि नाजुक नै थियो ।
तैपनि कोलकातामा सिकेको पाउरोटी बनाउने सीपलाई व्यवसायमा बदल्ने हुटहुटी उनीमा व्याप्त थियो । आर्थिक अवस्था कमजोर भएकाले उनका लागि लगानी जुटाउन हम्मेहम्मे नै थियो । पाउरोटी पकाउन विशेष प्रकारको बेकिङ चुलो आवश्यक पथ्र्यो । पाउरोटी फुलाउने ‘हप्स’ मसला पनि आवश्यक पथ्र्यो । जुन कोलकातामा मात्र पाइन्थ्यो ।
पाउरोटीका लागि पीठो मुछ्ने मजबुत काठको टेबल, पाउरोटीका साँचाहरू, विविध प्रकारका औजारहरू पनि जोहो गर्नुपर्ने थियो ।

यसको लागि त्यसताका २२००–२३०० रूपैयाँ आवश्यक पर्ने देखियो । उनले कोलकातामा सीपमात्र सिकेका थिए । लगानी गर्ने पैसा थिएन । यता, कृष्णबहादुर घर बाहिर रहँदा ६ जना छोराछोरीको पालन पोषण श्रीमती प्राणमाया राजकर्णिकार एक्लैले धानिरहेकी थिइन् ।
कमजोर आर्थिक अवस्था रहेको परिवारमा नयाँ कामको लागि लगानी गर्ने पैसा भएन । त्यसबेला ऋण लिन पनि सहज थिएन ।
तै पनि उनी रोकिन चाहेनन् । सीप र सपना भएपछि त्यसलाई व्यवहारमा चरितार्थ गर्ने हुटहुटीले उनको ‘भोक–निद्रा’ हरायो । महादेवको ‘शक्ति’ पार्वती भनेजस्तै उनलाई पनि यो उखरमौलो हुटहुटीबाट अघि बढाउन श्रीमतीले सबैभन्दा ठूलो योगदान गरिन् ।
कृष्णबहादुरले श्रीमतीका गरगहना बन्धकी राखेर साहुबाट २६०० रुपैयाँ जोहो गरे । अनि साकार भयो कृष्णबहादुरको नेपालमा पाउरोटीका परिकार पस्कने सपना ।
‘गृहलक्ष्मी’को सम्पत्ती (गरगहना) बन्धकी राखेर लिएको उक्त ऋणलाई कृष्णबहादुरले लगानिमा परिणत गरे । उनले पाउरोटी बनाउने भट्टीदेखि अरू विविध प्रकारका औजारहरूको बन्दोबस्त गरे । कोलकाताबाट हप्स (पाउरोटी फुलाउन प्रयोग गर्ने एक प्रकारको कच्चा पदार्थ) आयात गरे । अनि वि.सं. २००५ साउन १० गतेबाट सुरू भयो ‘कृष्ण पाउरोटी भण्डार’ ।
यसरी कृष्णबहादुर राजकर्णिकार नेपालमा पहिलो पटक पाउरोटी बनाउने व्यवसायी बन्न सफल भए ।

आरोह अवरोह
कृष्ण पाउरोटीले स्थापनाकालदेखि नै अनेकौं आरोह अवरोह पार गर्नुपर्यो । सुरुसुरुमा कृष्ण पाउरोटी भण्डारबाट दैनिक १०–१५ वटा मात्रै पाउरोटी बनाइन्थ्यो । कहिले सबै बिक्री हुन्थ्यो त कहिले हुँदैनथ्यो । नेपालमा नयाँ चिज भएकाले यसलाई चिनाउन नै सकस पर्यो ।
भारतबाट नेपाल भित्रिएको पाउरोटीलाई भारतमा ‘पावरोटी’ भनिन्थ्यो । तर कतिपयले चाहीँ ‘खुट्टाले पीठो मुछेर बनाइने’ रोटी भएकोले यसलाई भारतमा पावरोटी भन्ने गरेको भन्छन् । त्यही पावरोटी नेपालमा आउँदा पाउरोटी बन्यो ।
पाउरोटी बनाउन पानी मिसिएको पिठोलाई धेरै बेरसम्म मुछ्नु पर्छ । त्यसैले भारतमा, ठाउँ–ठाउँमा रबरको बुट लगाएर पाउरोटी मुछ्ने गरिन्थ्यो ।

तर धार्मिक विचारका दृष्टिले कृष्णबहादुर चाहीँ खानेकुरालाई यसरी ‘खुट्टाले मुछ्न हुन्न’ भन्नेमा थिए । उनले हातैले मुछ्न लगाएर पाउरोटी बनाउँथे । थोरै मात्र विक्री हुने भएकाले हातैले मुछ्न त्यति समस्या पनि थिएन ।
उनले पाउरोटीमात्र नभएर चिया र अरु केही परिकार पनि बेच्ने भएकाले उनको दोकानमा मानिसहरुको उपस्थिति बढ्दै थियो । जसोतसो व्यवसाय चलिरहेकै थियो ।
तर केही व्यक्तिहरूले पाउरोटी भनेको पाउ (खुट्टा)ले मुछिने रोटी हो भनेर अफवाह फैलाइदिए । फलस्वरूप, मानिसहरूले पाउरोटीलाई घृणा गर्न थाले । यसले उनको ‘सपनाको व्यवसाय’लाई ठूलै धक्का पुग्यो ।
हठी स्वभावका कृष्णबहादुरले हरेस चाहीँ खाएनन् । बरू उनले पिठो मुछिरहेको बाहिरबाट नै देख्ने गरी ‘डेकोरेसन’ तयार पारे । सबैले देख्ने गरी हातैले पिठो मुछेको दृष्य धेरैले देख्न थालेपछि यो भ्रम विस्तारै चिरियो । कृष्ण पाउरोटीको बारेमा फैलिएको नकारात्मक हल्ला आफैँ सेलाएर गयो । उनी फेरि एक पल्ट ‘खडा’ भए ।
त्यसबेला पाउरोटी फुलाउने इष्ट मसला अहिलेजस्तो सर्वसुलभ पाइँदैनथ्यो । भारतमा जडीबुटीबाट तयार पारिएको ‘हप्स’ भन्ने विशेष प्रकारको मसला पाइन्थ्यो । यसलाई कोलकाताबाट झिकाउनु पथ्र्यो । विशेष प्याकेटमा आउने हप्सलाई पानीमा राखेर उमाल्नु पथ्र्यो ।
उमालिएको त्यो झोल पदार्थ सेतो देखिन्थ्यो । त्यसलाई सिसीमा केही दिनसम्म राखेर ग्याँस उत्पन्न (ग्याँस फरमेन्टेसन) गराएपछि मात्रै पाउरोटी फुलाउने मसला बन्थ्यो । यस्तो हप्सबाट बनेको पाउरोटीको स्वाद हल्का अमीलो हुन्थ्यो ।
‘हातैले मुछेको’ देखाउन भनेर उनले तयार पारेको ‘डेकोरेसन’मा मानिसहरुले यो हप्स मिसाएर पीठो मोलेको देखे । त्यसपछि फेरि अर्को अफवाह फैलियो– पाउरोटीमा जाँड मिसाइएको हुन्छ ।
यो हल्ला ‘एक कान, दुई कान, मैदान’ भयो । त्यसपछि फेरि पाउरोटीको बिक्री रोकिने स्थितिमा पुग्यो । एकातिर श्रीमतीको गहना बन्धकी राखेर ल्याएको लगानीको चिन्ता, अर्कोतर्फ सोचेजस्तो व्यवसाय हुन नसक्नु ।
यसबाट कृष्णबहादुर आजित भए । पाउरोटी बनाउने काम छाडेर आफ्नो पुख्र्यौली मिठाई बनाउने पेशामा नै फर्किने हो कि भन्ने सोचमा उनी पुगे ।
बीपीको त्यो प्रेरणा
सबैतिर ठक्कर मात्र खाएका कृष्णबाहादुरलाई प्रजातन्त्रवादी नेता बीपी कोइरालाको प्रेरणाले पुनः जगायो । उनको धमिलिएको सपनाको पुनः विजारोपण भयो । दोधार अवस्थामा पुगेका कृष्णबहादुरको प्रेरणाको स्रोत बने बीपी । त्यसताका कोइराला कृष्णबहादुरको चिया पसलका नियमित ग्राहक थिए । उनले पाउरोटी व्यवसायले एकदिन राम्रो बजार लिन्छ भनेर कृष्णबहादुरलाई हौसला दिइरहन्थे ।
उनी भन्थे ‘कृष्ण दाइ, तपाईंले धेरै राम्रो काम गर्नुभएको छ । यो पाउरोटी बनाउने काम रोक्नु हुँदैन । यो काम गर्दै जानुस् है । अब यहाँ पनि भारतको हावा आइहाल्छ । हामीकहाँ प्रजातन्त्र नआउने कुरै छैन । अनि भारतमा जस्तै यहाँ पनि पाउरोटी खाने चलन आउँछ ।’ बीपीको ढाडस र प्रेरणाले उनलाई हौसला मिल्थ्यो । जस्तोसुकै परिस्थितिमा पनि उनले आफ्नो कामलाई निरन्तरता दिए ।
पाउरोटीका बारेमा उठेका अफवाह हटाउन उनले ठूलो साइनबोर्ड (सूचना पाटी) बनाए । त्यहाँ लेखिएको थियोः–
हातले मुछेको चोखो पाउरोटी,
हप्सबाट बनेको शुद्ध पाउरोटी,
सबैले खान हुने पवित्र पाउरोटी ।
यसले पाउरोटीको बारेमा फैलिएको अफवाहलाई चिर्न ठूलो मद्दत गर्यो । त्यति मात्र होइन पाउरोटी बनेको प्रत्यक्ष हेर्न चाहनेको लागि समेत खुला आमन्त्रण दिए । यसले विस्तारै सकारात्मक प्रभाव पर्दै गयो ।
मानिसहरुको धारणा बदलियो र उपभोक्ताको संख्या बाक्लिँदै गयो । बजारमा माग दोब्बर–तेब्बर हुँदै बढ्दै गयो । तत्कालिन समयमा एक पाउण्ड तौल भएको पाउरोटीको मूल्य एक सुका अर्थात् (२५ पैसा) पथ्र्यो ।

त्यसबेला चिया पिउने प्रचलन काठमाडौँमा भर्खर—भर्खर सुरु भएको थियो । यो पनि भारतमा शासन गरेका अंग्रेजहरुबाटै सिकिएको हो । त्यस ताका कमलपोखरीमा चिया चमेना गर्ने ठाउँ कृष्ण पाउरोटी पसलमात्र थियो । चियामा पाउरोटी चोपेर खाने नयाँ प्रचलन यो पसलले नै सुरु गरायो ।
‘कृष्ण पाउरोटी भण्डार’ भन्ने नाम त्यसबेलादेखि नै मानिसहरुको जिब्रोमा बस्न थाल्यो । जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।

तारन्तारको पारिवारिक उल्झन
वि.सं. २००५ मा स्थापना भएको कृष्ण पाउरोटी भण्डार आफ्नै हिसाबले फस्टाउँदै गएको थियो । लोकप्रियता बढ्दै थियो । यसैबीच आफ्नै जेठा छोरासँग घरायसी विवाद हुन थाल्यो । उनीहरूबीचको असमझदारी बढ्यो । अवस्था यति विग्रियो की, कृष्णबहादुर घरै छोडेर हिँडे ।
माइलो र साहिँलो छोरा लिएर उनकी श्रीमतीले कृष्ण पाउरोटी भण्डार सम्हालिन । कान्छो छोरा सानै थिए । उनले पाउरोटी उद्योगको अस्तित्वलाई जोगाइन् ।
करिब १० महिना पछि कृष्णबहादुर घर फर्किए । त्यसपछि जेठो छोरालाई छुट्याइदिए । अरु दुई छोरासँग मिलेर कृष्ण पाउरोटी सञ्चालनमा ल्याए । कृष्ण पाउरोटीले ‘दिन दुई गुणा, रात चौगुणा’को रफ्तारमा प्रगति गर्दै गयो । बिस्तार बिस्तार पाउरोटीको माग बढ्दै गयो । त्यसैले पाउरोटी बिक्री गर्न नयाँ प्रयोग गर्नुपर्ने अवस्था आयो ।
बजार विस्तार गर्ने क्रममा उत्पादित पाउरोटीलाई असनसम्म पुर्याएर बेच्न थाले । यस घटनाले उनको व्यवसायलाई थप उचाइतर्फ उठाउन थाल्यो । त्यसपछि उनले दुईजना कर्मचारी थपेर इन्द्रचोक र क्षेत्रपाटीतिर खटाए ।
दश–पन्ध्रवटा पाउरोटीबाट सुरु गरिएको व्यवसाय दिन प्रतिदिन बढ्दै गयो । व्यवसाय बढ्दै गएपछि बेलायतबाट पाउरोटी–मुछ्ने मेसिन झिकाए । घरमा मेसिन त आइपुग्यो, तर उनी हस्पिटल भर्ना हुनुपर्यो । मुटु रोगी कृष्णबहादुरको निधन भयो । नेपालमा पहिलोपटक पाउरोटी भित्र्याउने कृष्णबहादुरको मृत्यु पश्चात सपनालाई पछ्याउँदै छोराहरूले यो उद्योग सम्हाले ।
छुट्टिएका जेठा छोरा गणेशबहादुर पनि बाबुको मृत्युपछि सगोलमै फर्किए । फेरि कृष्ण पाउरोटीले गति लियो । बेलायतबाट ल्याइएको पिठो मुछ्ने मेसिनले काम गर्न सहज भइसकेको थियो । पाउरोटी फुलाउन हप्सको सट्टा आधुनिक ‘ड्राइड यिष्ट’ मसला आयो । यसले पाउरोटीको गुणस्तर पहिलेको भन्दा निकै राम्रो भयो ।
स्वाद र गुणस्तरमा सुधार भएपछि पाउरोटीको माग बढ्दै गयो । अब एउटामात्रै मेसिनले नभ्याउने भयो । कृष्ण पाउरोटीले वि.सं २०२० सालसम्म आइपुग्दा २ लाख ५० रुपैयाँ कमाइ सकेको थियो । ती सबै रकम आधुनिक बेकिङ चुलोसहित थप मेसिन बेलायतबाट झिकाउने निष्कर्षमा परिवारका सबै जना पुगे । त्यसपछि त कृष्ण पाउरोटीको उत्पादन क्षमता पहिलेको भन्दा निकै बढ्यो ।
पछिपछि भएपछि राजा महेन्द्रले पनि यहीँबाट पाउरोटी मगाएर खान थाले । राजा महेन्द्रको दैनिक खाजा नै पाउरोटी बन्यो । त्यसपछि शहरबासीमा पनि ‘राजाले खाने पाउरोटी’ भन्ने सन्देश फैलिन थाल्यो । त्यसपछि त ग्राहकको लर्को लाग्न थालिहाल्यो ।
यसले व्यवसायलाई थप मजबुत बनायो । कृष्ण पाउरोटीको माग काठमाडौँ, ललितपुर र भक्तपुरतिर बढ्दै गयो । ब्यापार चकाचक देखेपछि बजारमा अन्य पाउरोटी उद्योग पनि खुल्न थाले । तर यसले ‘पहिलो उद्योग’लाई खासै प्रभाव पारेन । कृष्ण पाउरोटी पहिले नै ‘ब्राण्ड’ बनिसकेको थियो ।

यो उद्योग टिकिरहनुको अर्को कारण चाहीँ समयानुसार आधुनिकीकरण र विस्तारिकरण पनि मुख्य हो । वि.सं. २०२८–०२९ तिर यो उद्योगले नेपाल औद्योगिक विकास संस्थान (एनआईडीसी)बाट १८ लाख रुपैयाँ ऋण लियो । त्यो पैसाले जर्मनीबाट थप मेसिन झिकाएर व्यवसायलाई अझ विस्तार गर्ने चाँजोपाँजो मिलायो ।
कृष्णबहादुरका कान्छा छोरा घनश्याम राजकर्णिकारलाई त्यसैबेला जर्मनी जाने अवसर मिल्यो । उनले जर्मनीका विभिन्न ठाउँमा पुगेर बेकरी मेसिन उत्पादन गर्ने कम्पनीहरूमा निरीक्षण, सोधपुछ, अध्ययन गरे । मेसिनहरू सस्तोमा ल्याउने तरिका पत्ता लगाए । फरकफरक कम्पनीबाट मेसिन ल्याउँदा सस्तो पर्ने देखेपछि दाजुहरूलाई उनले सोही प्रस्ताव गरे ।
तर दाजुभाइमा फेरि असहमति बढ्यो । एउटै कम्पनीबाट महँगा मेसिनहरू नै राम्रो हुने निष्कर्षमा माहिला दाजु पद्मबहादुर अडिग रहे । अरु दुई दाजुभाइ भने घनश्यामसँग राजी भए । अब फेरि पारिवारिक द्वन्द्वले उग्र रुप लियो । माहिला दाजु छुट्टिए ।
गणेशबहादुर, महाजन र घनश्याम मिलेर जर्मनीबाट मेसिन झिकाए । वि.सं. २०३०/३१ देखि जर्मनीबाट आयात गरिएका १३ वटा साना ठूला अत्याधुनिक जर्मन मेसिनहरूबाट पाउरोटीहरू उत्पादन गर्दा कृष्ण पाउरोटीको ब्यापारमा बढोत्तरी भयो । गुणस्तरीय पाउरोटीको उत्पादन क्षमता बढ्यो । यसको ख्याती झनै उचाइमा पुग्यो ।
काठमाडौं उपत्यकामा कृष्ण पाउरोटीको एकाधिकार हुँदै गयो । फेरि उद्योगलाई अर्को झड्का त्यसबेला लाग्यो, जब यसको बलियो मियो (स्तम्भ)का रुपमा रहेका जेठा दाजु गणेशको निधन भयो ।
तिनको निधनपश्चात् कृष्ण पाउरोटीमा कठिन अवस्था आइलाग्यो । उनी कम्पनीका प्रबन्ध सञ्चालक थिए । उनको निधनपछि नयाँ व्यक्ति (जेठा दाजुको छोरा) सञ्चालकका रूपमा प्रवेश गरे । तर उद्योगलाई नराम्रो असर पर्यो । कृष्ण पाउरोटीको अवस्था दिनप्रतिदिन खस्कियो ।
नयाँ हकवाला सञ्चालक केही वर्षपछि कृष्ण पाउरोटीबाट छुट्टिने भए । कृष्ण पाउरोटीले १५–१६ वर्षमा कमाएको श्री सम्पत्ति सबै मुल्यांकन गर्दा सबै सम्पत्ति दिनुपर्ने अवस्था आयो र सोही अनुसार नै भागबन्डा भयो । उद्योग फेरि एक पल्ट आर्थिक संकटमा आइपुग्यो ।
आरोह अवरोहको खुड्किला पार गर्ने क्रममा तिनै दुई दाजुभाइ (महाजन र घनश्याम) ले अनेकौँ संघर्षका बाजजुद कृष्ण पाउरोटी पुनः सञ्चालनमा ल्याउन सफल भए ।

फेरि पनि जसोतसो उद्योग चल्दै थियो । फेरि अर्को खम्बा पनि ढल्यो । २०५३ सालमा कृष्णका साहिँला छोरा महाजनको मृत्यु भयो । त्यसपछि उनै महाजनका छोरा कृष्ण पाउरोटीमा सञ्चालकको रूपमा आए । घनश्यामले आर्थिक व्यवस्थापनको सम्पूर्ण जिम्मा भतिजलाई सुम्पिए ।
तर ती भतिज पनि उसैगरी घात गर्न अग्रसर भए । उनले आफू निकटका लेखापाल र कार्यालय सहायक नियुक्ति गरे ।हिसाबकिताब लुकाएर हिनामिना गर्न थाले । फेरि कृष्ण पाउरोटीले उही कठिनाइ भोग्नुपर्यो ।
विभिन्न व्यक्ति र संस्थाहरूको लाखौँलाख उधारो बिलहरू पैस तिर्न बाँकी राखेर भतिजले सुनियोजित रूपले ‘घात गरेको’ थाहा पाएपछि उनले ती कुरा पुष्टि गर्न अनेक जुक्ति लगाए । अर्को लेखापाल ल्याए । उसले पुराना कर्मचारीको मिलेमतोमा गरिएको आर्थिक हिनामिना भित्र लुकेको रहस्य पत्ता लाग्यो ।
त्यसपछि पुराना कर्मचारी बाहिरिए । कृष्ण पाउरोटीको आर्थिक हालत फेरि एक पल्ट तङ्ग्रिन थाल्यो । यसरी एउटा सानो पाउरोटी उद्योगले पटक—पटक पारिवारिक उल्झनहरु खेप्नुपर्यो । पारिवारिक विग्रहकै कारण शिखरमा पुगिसकेको एउटा व्यवसाय बारम्बार ओरालो झर्न बाध्य भयो ।

ब्राण्ड जोगाउने संघर्ष
कृष्ण पाउरोटीको आफ्नो छुट्टै ब्राण्ड थियो । इतिहास थियो । जन्मदाता थियो । आफ्ना पिताको विराशत जोगाउन घनश्याम बूढेसकालमा भए पनि एक्लै संघर्षको मैदानमा उत्रिए । उनले कृष्ण पाउरोटीलाई जीवन्त बनाउन कटिबद्ध भएर लागिरहे । पटक पटक बन्द हुने अवस्थामा पुगेको कृष्ण पाउरोटीको ब्राण्ड ढल्न दिएनन् ।
अहिले उनलाई यो व्यवसाय अघि बढाउन छोरीहरुको बलियो साथ छ । बैंक तथा वित्तीय संस्थामा उच्च व्यवस्थापनमा पुगिसकेका जागिरे छोरीहरूलाई उनले पाउरोटीको सञ्चालक बनाएका छन् ।

पहिला पाउरोटी मात्र बन्ने यो उद्योगले अहिले विभिन्न थरिका आधुनिक एवं स्तरीय केक, पेस्ट्री, कुकिज र अनेकौँ आधुनिक बेकरी परिकारहरू पस्किन थालेको छ । पाँचमध्ये तीन छोरीले अहिले घनश्यामलाई व्यवसायमा सघाइरहेका छन् ।
बुबाको पदचाप पछ्याउँदै जाँदा घनश्यामले तीतामीठा अनुभवको लामो श्रृङ्खला संग्रहित गरेका छन् । उमेरले ८४ वसन्त पार गरेका उनी अहिले पनि दत्तचित्त भएर व्यवसायमा सक्रीय छन् । आरोह—अवरोह र अनेकौं चुनौतीका बीच पनि उनलाई जीवनको उत्तरार्धमा गज्जबको साथ अनि सफलता मिलेको छ ।
सात दशक अघि जम्मा २६०० रुपैयाँबाट सुरू भएको कृष्ण पाउरोटीले आज धेरैलाई रोजगारी दिएको छ । कृष्ण पाउरोटी भण्डार यतिबेला काठमाडौंसँगै ललितपुरमा पनि फैलिरहेको छ । इमाडोल, सातदोबाटो, खुमलटार र भैंसीपाटीमा यसका ४ आउटलेट सञ्चालनमा छन्। हात्तीवनमा फ्रेन्चाइज सञ्चालनमा छ ।
नेपाली राजनीतिमा ‘एकै समयका दुई सीतारा’ मानिने बीपी र महेन्द्रको साथ पाएको कृष्णबहादुरको पाउरोटी उद्योग अहिले पनि धेरै नेपालीको लोकप्रिय बनेको छ । एक नवीन स्वदेशी ब्राण्ड बनेको छ ।
(कृष्ण पाउरोटीका अध्यक्ष घनश्याम राजकर्णिकारसँगको कुराकानीमा आधारित)