तथ्यांकको ‘चेरी-पिकिङ’ गरेर जनतालाई भ्रम छर्दै सरकार « Arthapath.com
१४ बैशाख २०८२, आईतवार

तथ्यांकको ‘चेरी-पिकिङ’ गरेर जनतालाई भ्रम छर्दै सरकार



काठमाडौँ । मानिसहरुमा राज्यप्रतिको वितृष्णा बढिरहेको एवम् देश छाड्ने र बच्चा जन्माउन नचाहने परिपाटीले जनसंख्या भारी मात्रामा घट्दै गएको अवस्थामा सरकारले तथ्यांकहरुको ‘चेरी पिकिङ’ गरेर अथतन्त्र सुध्रिएको झुठो खबर फैलाउने कोसिस गरिरहेको छ ।

अर्थ मन्त्रालयले २०८१ फागुनको तथ्यांकहरु समेटेर हालैमात्र प्रकाशन गरेको अर्थ बुलेटिनमा नेपाली अर्थतन्त्रले ‘गति लिएको’ भनिएको छ ।

त्यहाँ लेखिएको छ– ‘अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’

साथै राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायतका विषय बुलेटिनमा उल्लेख छ ।

तर वास्तविक तथ्यांकले यी कुनै पनि कुरालाई समर्थन गर्दैन । समष्टिगत मागमा आएको कमी पूर्णस्तरमा पुनर्भरण भएको छैन । होटेल र जलविद्युतमा देखिएको सुस्त लगानीलाई छाड्ने हो भने कुनै पनि निजी लगानी उल्लेखनीय ढंगले बढेको देखिँदैन ।

सरकारी स्तरबाट हुने निर्माणहरु या त उपयोग विहिन छन्, या जनस्तरको आवस्यकतासँग मेल नै खाँदैनन् । जहाँ सडक कालोपत्रे हुनु अति आवस्यक छ, त्यहाँ भएको छैन । जहाँ नभएपछि चल्ने छ, त्यहाँ कालोपत्रे भएको छ । जहाँ शिक्षा र स्वास्थ्यका लागि बढी लगानी गर्नुपर्ने हो, त्यहाँ विद्यालय भवनहरु छैनन् । जहाँ विद्यार्थी छैन, त्यहाँ विशालकाय भवन ठडिएका छन् ।

यसरी सार्वजनिक लगानीको प्रभावकारीतामात्रै होइन, त्यसको भुक्तानीमा समेत तनाव छ । सरकारले वर्षौंदेखि निर्माण सकिएर भुक्तानी कुरीरहेका निर्माण व्यवसायीलाई पैसा दिएका छैनन् । त्यसले गर्दा बैंकको ऋणमात्रै होइन, श्रमिकको ज्याला र ती श्रमिकले निर्माण क्षेत्रमा खानपिन गर्ने खुद्रा ब्यापारीको उधारो समेत उठेको छैन ।

सहकारी र मिटर ब्याप पीडितको समस्या उस्तै छ । कसैको पैसा उठेको छैन । घरजग्गाको कारोबार बढ्न सकेको छैन । मानिसहरु यो देशमा भएको घरजग्गा जस्ता स्थिर सम्पत्ती बेचेर विदेशमा पैसा लगिरहेका छन् ।

युवा पुस्ता देशमा बस्ने वातावरण नै छैन । रोजगारी बढ्नुको साटो हरेक साल खुम्चिँदै गएको देखिन्छ । विजुली गाडी बोहेक सबैजसो ड्युरेबल्सको उपभोग खुम्चिएको छ । सेयर बजार पुरानो विन्दुबाट थोरै बढेको त छ, तर झण्डै चार वर्ष अघिको विन्दुमा फर्कने कोसिससम्म गर्न सकेको छैन ।

पछिल्लो वियररनमा १९०० अंकमा रहेको आधार क्षेत्र अहिले २६०० अंकमा उक्लिएको भए पनि लामो समयदेखि ‘कीर्तिमानी उचाई’ तोड्ने प्रयास असफल हुँदै गएको देखिन्छ । झन् पछिल्ला दिनमा त विश्वभरका सेयर बजारहरु ‘भयभित’ देखिएपछि नेपालमा पनि त्यसको थोरबहुत प्रभाव परेको छ ।

कोभीडदेखि नै झण्डै आधाको संख्यामा रहेका घरेलु उद्यमहरु बन्द भएका छन् । काठमाडौं मात्रै होइन, हरेक जिल्ला सदरमुकामहरु र गाउँगाउँमा शहरिकरणको गति लिन थालेका वस्तीहरु अब पुनः सुनसान देखिन थालेका छन् । ज्यादातर नेपालीको सम्पत्तीको मूल्यमा भारी ह्रास आएको छ ।

यस्तो बेलामा पनि सरकारले ‘राम्रो राम्रो देखिने’ खालका तथ्यांकहरु टपक्क टिपेर देखाउन खोजेको छ । त्यसमा पनि विगतमा आयात प्रतिबन्धले डामाडोल भएको अन्तरराष्ट्रिय ब्यापारको साँघुरो विस्तारलाई देखाउने प्रयास सरकारले गरेको छ ।

यो केवल जनतामा भ्रम छर्ने र नीतिनिर्माताहरु आलोचनाबाट जोगिने कोसिसमात्र भएको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्