सेयर कारोबारबाट हुने बैंकहरुको कमाई ५५.६३ प्रतिशत बढ्यो, कसले कति कमाउँछन् ?

काठमाडौं । सेयर कारोबारबाट हुने वाणिज्य बैंकहरुको आम्दानीमा उल्लेख्य सुधार आएको छ । ९ महिनामै बैंकहरुले झन्डै ७ अर्ब रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका छन् ।
बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकहरुका यस्तो आम्दानी ६ अर्ब ८८ करोड २४ लाख २८ हजार रुपैयाँ कायम भएको छ ।
यो गत आवको तुलनामा भने ५५.६३ प्रतिशत धेरै हो । गत आवको तेस्रो त्रैमासमा बैंकहरुको यस्तो आम्दानी ४ अर्ब ४२ करोड २२ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुको यस्तो आम्दानी बढेको देखिन्छ । नेपाल बैंक, सिटिजन र राष्ट्रिय वाणिज्य बैंकको सर्वाधिक क्रमशः ४७७.१२ प्रतिशत, १६९.८६ प्रतिशत र १३०.१० प्रतिशत वृद्धि भएको छ । योसँगै यी बैंकहरुका यस्तो आम्दानी क्रमशः ४० करोड ३० लाख, २० करोड २९ लाख र ९ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।
रकमका आधारमा भने ग्लोबल आइएमई बैंकले सर्वाधिक ६५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा भने ४९.५२ प्रतिशत बढी हो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ६९.२७ प्रतिशत बढाएर ५७ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । रकमको आधारमा बैंक दोस्रो सूचीमा छ ।
यता, स्ट्याण्डर्ड चार्टर्डले ५५ करोड ६८ लाख, नबिलले ५४ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
यस्तै, हिमालयन बैंकले पनि ४७ करोड ९ लाख, सानिमाले ४४ करोड ४७ लाख, प्रभूले ४१ करोड ३६ लाख, एभरेष्टले ३८ करोड ९६ लाख, लक्ष्मी सनराइजले ३२ करोड ८८ लाख, एनएमबिले ३१ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
यता, कृषि विकास बैंकले २८ करोड ९२ लाख, माछापुच्छ्रेले २५ करोड ७४ लाख, कुमारीले २५ करोड ५६ लाख, नेपाल एसबिआईले २० करोड ५१ लाख, सिद्धार्थले १९ करोड ४६ लाख, प्राइमले १७ करोड १ लाख, एनआइसी एशियाले ११ करोड ७८ लाख रुपैयाँ मात्रै सेयर कारोबारबाट कमाइ गरेका छन् ।
सेयर कारोबारबाट कसले कति कमाउँछन् ?
