घट्यो रासायनिक मल खरिदमा लाग्ने समय, अब एक महिनामै प्रक्रिया टुंग्याउने « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

घट्यो रासायनिक मल खरिदमा लाग्ने समय, अब एक महिनामै प्रक्रिया टुंग्याउने



काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समयलाई घटाएको छ ।

सार्वजनिक खरिद नियमावली –२०६४ को १४औं संशोधन मार्फत पहिलो पटक रासायनिक मल खरिद सम्वन्धी प्रावधान समेटीएको हो । संशोधित नियमावली बैशाख १५ गतेको राजपत्रमा प्रकाशित गरिएको छ ।

संशोधित नियमावलीले रासायनिक मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रिय स्तर वा अन्तराष्ट्रिय स्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, नियमावलीमा बोलपत्रदाताले पेस गरेको प्राबिधिक प्रस्ताव खोलेको मितिदेखि ३० दिनसम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम पनि थप गरिएको छ ।

मल खरिद प्रक्रिया लामो भएकाले यसलाई सहज वनाउन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको पहल मार्फत खरिद नियमावलीको संशोधनमा यस्तो प्रावधान राखिएको हो ।

रासायनिक मल खरिद प्रक्रिया लामो समय लाग्ने तर अन्तर्राष्ट्रिय बजारमा छिटो–छिटो मूल्य परिवर्तन हुने अहिलेको अवस्थालाई घटाउने गरि नियमावली संशोधन भएको मन्त्रालयले जनाएको छ ।

खरिद प्रक्रिया लामो हुदाँ समयमै मल आयात गर्न सकिएको थिएन जस कारण किसानले समयमै रासायनिक मल पाउन सकेका थिएनन । कृषिमन्त्री अधिकारीले मन्त्रालयको जिम्मेवारी समाले देखिनै रासायनिक मल खरिद गर्न लाग्ने समय अवधि घटाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नियमावलीमा भएको संशोधनले अव एक महिना भित्रै मल खरिदको प्रकृया टुग्याउने बाटो खुलेको मन्त्री अधिकारीले बताए । किसानलाई आवश्यक पर्दा मल नपाउने अवस्था आउनुमा खरिद नियमावली पनि वाधक रहेको थियो, यस संशोधनले समस्यालाई अन्त्य गर्ने विश्वास मन्त्री अधिकारीको छ ।


प्रतिक्रिया दिनुहोस्