तलव विवादले युनाइटेड इन्स्योरेन्समा सिईओ नियुक्ती रोकियो « Arthapath.com
७ भाद्र २०७७, आईतवार

तलव विवादले युनाइटेड इन्स्योरेन्समा सिईओ नियुक्ती रोकियो



काठमाडौं । डेढ वर्षअघि सेन्चुरी बैंकको डेपुटी सीईओबाट विवादकाबीच छोडेका जीवन भट्टराई त्यसलगत्तै चौधरी ग्रुपमा सामेल भएका थिए । उनी युनाइटेड इन्स्योरेन्सको सञ्चालक हुँदै नविल बैंकको डेपुटी सीईओ बन्ने प्रयास असफल भएपछि अहिले युनाइटेड इन्स्योरेन्सकै सीईओ बन्न लागिपरेका छन । तर उनको नियुक्तिलाई तलब नमिलेको भन्दै नियामक निकाय बीमा समितिले रोकेको छ ।

युनाइटेड इन्स्योरेन्सको सञ्चालकबाट ४ महिनाअघिमात्रै राजीनामा दिएका भट्टराईले नबिल बैंकमा जान खोज्दा राष्ट्र बैंकले नमानेपछि रोकिएको थियो । सेन्चुरी बैंकको स्थापनाकालमै सिद्धार्थ बैंकबाट आएका भट्टराईले सेञ्चुरी बैंक स्थापनादेखीनै पकडमा चलाएका थिए ।

सेञ्चुरी बैंक छोडेको १ महिनामै चौधरी ग्रुपको प्रशासन हेर्न पुगेका भट्टराई युनाइटेड इन्स्योरेन्सको सञ्चालकसमेत बने । त्यतिमात्र होइन, भट्टराईले पछिल्लो समय चौधरीलाई रिझाएर आफू बैंकर भएकाले नविल बैंकमा अवसर दिन आग्रह गरिरहे ।

नविल बैंकको डेपुटी सीईओको लागी पहल गरेका भट्टराईले राष्ट्र बैंकमा समेत च्यानल मिलाउन गएका थिए । तर, राष्ट्र बंैकका अधिकारीहरुले सकारात्मकरुपमा नलिएपछि भट्टराईले चौधरी ग्रुपकै लगानी रहेको युनाइटेड फाइनान्सका सीईओ जान खोजेका थिए । तर, युनाइटेडमा बसन्त चौधरीको हाली–मुहाली रहेका कारण उनको प्रयास सम्भव हुन सकेन । किनकी विनोद चौधरी र बसन्त चौधरीको व्यवसाय फरक छ र उनीहरुबीच सम्बन्ध पनि खास राम्रो छैन ।

बैंक तथा वित्तीय संस्थामा काम गर्ने अवसर नपाएपछि अन्ततः उनले बीमा कम्पनीमा आँखा लगाए । बीमा समितिको नियमअनुसार कुनैपनि बीमा कम्पनीको सीईओ बन्न बैंक वित्तीय संस्थाको प्रबन्धकभन्दा माथिल्लो तहमा १० वर्ष कार्य गरेको अनुभव हुनुपर्ने भन्ने छ । उनले सिद्धार्थ र सेन्चुरीमा आफूले काम गरेको अनुभव पत्र पेश गरेका छन ।

१ महिना अघि युनाइटेडको सीईओ नियुक्तिका लागि पठाइएको उनको बायोडाटामाथि बीमा समितिले अझै अध्ययन भन्दै झुलाएर राखेको छ । बीमा समितिमा आफ्नो नियुक्ति रोकिएको छ ।

भट्टराईलाई सीईओ नियुक्तिका लागि युनाइटेड इन्स्योरेन्सले १ महिनाअघि नै सिफारिस गरी पठाएको बीमा समितिले पुष्टी गरेको छ । हाल प्रतिष्ठित व्यावसायी रविभक्त श्रेष्ठ युनाइटेड इन्स्योरेन्सको अध्यक्ष छन् । असारको दोस्रो साता नै बोर्डले भट्टराईलाई सीईओ नियुक्तिको निर्णय गरी बीमा समिति पठाए पनि समितिले स्वीकृत नदिएर झुलाइरहेको छ ।

भट्टराईले सेञ्चुरी बैंकमा पनि आफूले मासिक ७ लाख तलब खाने गरेको भन्दै युनाइटेड इन्स्योरेन्समा पनि सोही बराबर तलव मागेका छन् । युनाइटेड इन्स्योरेन्सले मासिक ७ लाख तलब दिएर सीईओ राख्नसक्ने हैसियत छैन भन्दै बीमा सकितिले पुर्नविचार गर्न आग्रह गरेको छ । शेखर बरालले राजीनामा दिएपछि युनाइटेडमा नेको इन्स्योरेन्सबाट गएका रमेशकुमार भट्टराई कामु सीईओको रुपमा छन् । उनले कामु सीईओ भएर कम्पनी चलाएको पनि एक वर्ष नाघिसकेको छ । जबकी बीमा समितिको निर्देशीकाअनुसार ३ महिनाभन्दा बढी सीईओ पद खाली राख्न मिल्दैन ।

भट्टराईको केसमा बीमा समितिले तलब सुविधामा असहमति जनाएर सीईओ नियुक्ति रोकिदिएको बताइएको छ । बीमा समितिले बीमकको सीईओको तलब, भक्ता तथा अन्य सुविधासम्बन्धी निर्देशिकाविपरीत भट्टराईको सुविधा तोकिएकाले रोकिदिएको बीमा समितिको दावी छ । उता सीईओमा प्रस्ताव गरेर बीमा समिति पठाइए पनि उनी सीईओ नियुक्त भैसकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्