आफ्नो भूमि एक इन्च पनि नछाड्नेः रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन् । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेपछि उनी पहिलो पटक दार्चुला पुगेका हुन । उनले देशको सिमाना मिचेको कुरा नसहने स्पष्ट पारे । उनले कालापानीसहित लिपुलेक र लिम्पियाधुराका बारेमा राजनीतिक दल एकै ठाउँमा उभिएकाले आफ्नो भूमि फिर्ता ल्याउने विषयमा भारतसँग वार्ता गर्न सजिलो भएको उल्लेख गरे ।
उपप्रधानमन्त्री पोखरेलले दार्चुला–तिंकर सडक सेनालाई जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको बताए । ट्र्याक खोल्ने काम सुस्त भएकाले स्थानीयले सडक छिटो बनाएर नेपालको चीनसँगको नाका खोल्नुपर्ने माग गरिरहेका छन् । १२ वर्षसम्म ३० किलोमिटर सडक पनि गाडी गुड्नयोग्य नभएको भन्दै स्थानीयले सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्ने माग गरेका थिए।
सडक आयोजना प्रमुख अच्युतविलाश पन्तका अनुसार कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म १२५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । यो सडक ३ सय किलोमिटर लामो छ । व्यास गाउँपालिकाको सुनसेराभन्दा माथिल्लो तिंकर भञ्ज्याङसम्म झन्डै ८७ किलोमिटर सडकको ट्र्याक खोल्न सेनालाई दिने तयारी भएको सांसद ठगुन्नाले बताए ।