वित्तिय परामर्श र व्यवस्थापन सेवाको मुक्तिनाथ क्यापिटल र यात्री सुइट्सबिच सम्झौता « Arthapath.com
१७ असार २०८१, सोमबार

वित्तिय परामर्श र व्यवस्थापन सेवाको मुक्तिनाथ क्यापिटल र यात्री सुइट्सबिच सम्झौता



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र यात्री सुइटस एण्ड स्पा प्रा.लिबिच “संस्थागत परामर्श” सेवा उपलब्ध गराउने बारेको सम्झौता भएको छ ।

यात्री सुइट्सले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

ठमेल अवस्थित यस होटलको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।

नेपालको राजधानी काठमाडौँको मूख्य पर्यटकिय स्थल ठमेलमा स्थापित एवं संचालित यात्री सइट्स निकट भविष्यमा नै ४ तारे होटलमा रुपान्तरण हुने कम्पनी जनाएको छ। होटल २.५ रोपनी क्षेत्रफल भएको आफ्नै जग्गामा संचालित छ । होटलमा सुविधा सम्पन्न ९९ कोठा, ३ रेष्टुरेन्ट, १ स्पा र ८ सेमिनार हलहरू रहेका छन ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा होटलले ४८ वटा सुविधा सम्पन्न कोठाहरु थप गर्ने योजना बनाएको छ । यसका साथै रुफ टप स्वीमिङ पुल, जीम क्लब लगायत लाउन्ज बार समेत संचालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्