कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने, साधारणसभा आह्वान

काठमाडौं । कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्तावसहित साधारणसभा बोलाएको छ। कम्पनीको १० औँ वार्षिक साधारणसभा पुस २९ गते, सोमबार, बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान काठमाडौँमा बिहान साढे ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोडमूल्य बराबरको ६० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण तथा इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद सेयर निष्काशन गर्ने बताएको छ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।