चन्द्रागिरी हिल्सले कमायो साढे ६ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यसैअवधिमा यस कम्पनीले ४५ करोड ७५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च ८.५५ प्रतिशतले घटेर ५ करोड २१ लख रुपैयाँमा आएको छ । गत वर्ष यस्तो खर्च ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ थियो ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४७ पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०१ रुपैयाँ ८४ पैसा रहेको छ।
१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ।