भारतद्वारा लिपुलेकसम्म सडक सञ्चालन « Arthapath.com
२७ बैशाख २०७७, शनिबार

भारतद्वारा लिपुलेकसम्म सडक सञ्चालन



नेपाली अतिक्रमित भूमिसम्म सडक ल्याउँदा पनि नेपाली पक्ष वेखबर, सर्वत्र विरोध

काठमाडौँ । भारत सरकारले अतिक्रमित नेपाली भूमि लिपुलेकसम्म सडक सञ्चालन गरेको छ ।

त्रिदेशीय सीमा क्षेत्र नजिक लिपुलेकसम्मको ९५ किलोमिटरको सीमा सडक भारत सरकारले उद्घाटन गरेपछि नेपालमा फेरि विरोध सुरु भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियोमार्फत् घाँटिबगर–लिपुलेक सडकको हिजो उद्घाटन गर्नु भएको हो । भारतले लिपुलेकसम्म सडक विस्तार गर्नका लागि सन् १९९९ बाट तावाघाट–लिपुलेक ९५ किलोमिटर सीमा सडकको काम सुरु गरेको थियो ।

सन् २०२० मा तावाघाट–लिपुलेक ९५ किलोमिटर सकडको निर्माण कार्य सम्पन्न गरेको छ । तावाघाटबाट गर्बाधारसम्म सन् २००८ मा नै भारतले सडक विस्तार गरिसकेको थियो भने तावाघाटबाट गुञ्जीसम्म चट्टान भएकाले सडक विस्तारमा धेरै सम्मस्या परेको थियो ।

भारत सरकारले तावाघाटबाट लिपुलेकसम्मको सडक निर्माणका लागि ४ सय ८ करोड भातरीय रुपैया खर्च गरेको छ । भारत सरकारले लिपुलेक सडक उद्घाटन गरेसँगै भारत पक्षको त्रिदेशीय सीमा क्षेत्रमा पहुँच बलियो भएको छ ।

नेपालतिर भने घोरेटो बाटोसमेत छैन

अतिक्रमित नेपाली लिपुलेक क्षेत्रमा भारतले सडक पुर्‍याए पनि नेपालतिर भने घोरेटो बाटोसमेत छैन । भारत सरकारले उच्च प्राथमिकताका साथ सीमा सडक निर्माण गरेको थियो भने नेपालतिर दस वर्ष पहिले निर्माणाधीन दार्चुला–तिङ्कर सडकको हालसम्म ४० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।

कहिले महाकाली कोरिडोरमा राखेर यो सडक प्रभावित गरिएको थियो भने कहिले जिलेटिन अभावमा दार्चुला–तिङ्कर सडकको निर्माण कार्य प्रभावित बनेको छ ।

सडकको घाँटिबगडदेखि तिङ्करसम्मको सडक निर्माणका लागि नेपाली सेनालाई दिने नेपाल सरकारले निर्णय गरेको छ । तिङ्कर क्षेत्र कालापानी नजिकको क्षेत्र हो ।

भारतले सडक पुर्‍याएको अतिक्रमित नेपाली भूमि लिपुलेकसम्म नेपालको बाटो भएर जान सकिने घोरेटो बाटोसमेत छैन ।

भारत सरकारले सडक बिस्तार गरेकाले नेपाली पक्षलाई सडक विस्तार गर्ने दबाव सिर्जना भएको जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको टिप्पणी छ ।सीआईएन


प्रतिक्रिया दिनुहोस्