झन्डै दुई रोपनी जग्गामा व्यवस्थित पाकिङ्ग स्थल बनाउँदै गलकोट नगरपालिका, अघि बढ्यो निर्माण प्रक्रिया

बागलुङ । बागलुङको गलकोट नगरपालिकाले बढ्दो बजारीकरणलाई लक्षित गरी गाडी पार्किङ स्थल निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ ।
मध्य पहाडी लोक मार्गको विस्तार र स्थतरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा सवारी साधनको चाप बढेसँगै पार्किङ स्थलको समस्या हुने गरेको छ ।
हटिया बजार भित्र झन्डै दुई रोपनी जग्गा भाडामा लिएर पार्किङ स्थल निर्माण कार्यलाई अगाडी बढाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा सार्वजनिक स्थल व्यवस्थापन समितिका संयोजक फमलाल निउरेले बताए ।
पार्किङ स्थलको समस्यालाई मध्यनजर गर्दै गलकोट नगरपालिकाले सो प्रक्रिया अघि बढाएको उनको भनाई छ । बिच बजारमा निर्माण गर्न लागिएको पार्किङ स्थलको प्राविधिकद्वारा नक्साङ्कन गरी निर्माण कार्यलाई अगाडी बढाइएको उनले बताए ।
समितिले नगरपालिका भित्रका सार्वजनिक जग्गा व्यवस्थापन, गाडी पार्किङ स्थल निर्माण, खेलमैदान निर्माण, सवारी साधनको भाडादार समायोजन लगायतका कामहरूलाई क्रमशः अगाडी बढाउने गरी गृहकार्य भइरहेको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले बताए ।
गलकोट क्षेत्रको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा निर्माण हुन लागेको पार्किङ स्थलमा यातायात काउन्टर, सार्वजनिक शौचालय, पानीको धारो, यात्रु प्रतीक्षालय सहित चेतनामूलक होडिङ बोर्ड र गलकोटका पर्यटकीय स्थलको वृत्तचित्र राखिने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए ।
अहिले सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक प्रहरीले वैकल्पिक रूपमा वान वे पार्किङ गराई ट्राफिक व्यवस्थापन गर्दै आइरहेको अस्थायी ट्राफिक पोस्ट हटियाका प्रहरी हवलदार राजेन्द्र खड्काले बताए ।
बढ्दो जनघनत्व त्यस माथि मध्य पहाडी लोक मार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठुला तथा साना सवारी साधनको आवतजावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ ।
व्यवस्थित पाकिङ्ग नहुँदा आइरहेको समस्या अब समाधान हुने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बताए । जग्गा व्यवस्थापन भएकाले अब पार्किङको समस्या नहुने उनको भनाई छ ।
हटिया बजार गलकोट नगरपालिका र तारा खोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मात्र नभई पश्चिम बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला रुकुम र रोल्पाका मानिसहरू मध्य पहाडी लोक मार्ग हुँदै यात्रा गर्ने स्थल पनि हो । बजारको विस्तार सँगै भविष्यमा सहर बन्ने स्थानीयले अपेक्षा गरेका छन् ।