धुवाँको साटो पानी निकाल्ने हाइड्रोजन बस !

काठमाडौं । भारतले हाइड्रोजन ऊर्जाबाट चल्ने यात्रु बस सञ्चालनमा ल्याएको छ । उत्तरी छिमेकी चीनले ब्याट्रीबाट चल्ने विद्युतीय गाडीको उत्पादनमा रफ्तार लिइरहेका बेला भारतले नयाँ इन्धनलाई प्राथमिकता दिएको हो ।
इन्डियन आयल कर्पोरेशनले पहिलो पटक यस प्रकारको हरित हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएको हो । कर्पोरेशनले पेट्रोलियम पदार्थको प्रयोगलाई विस्थापन गर्न भन्दै यस्तो नयाँ ऊर्जाबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । सुरुआतमा भारतको राजधानी दिल्लीमा यस्ता दुई वटा बस सञ्चालन गरिएको छ । तर सन् २०२३ को अन्त्यसम्म अर्थात आगामी ३ महिनाभित्रै यस्ता बसको संख्या १५ पुग्ने अनुमान गरिएको छ ।
त्यहाँको संघीय मन्त्री हरदीपसिंह पुरीले गत सोमबार ग्रीन हाइड्रोजनबाट चल्ने देशकै पहिलो बसलाई झण्डोत्तोलन गरेर स्वागत गरेका थिए । यी बसहरु परीक्षणका निम्ति सञ्चालनमा ल्याएको बताइएको छ । परीक्षण अवधिमा दुई बसले दिल्ली, हरियाणा र उत्तरप्रदेशमा करीब ३ लाख किलोमिटर यात्रा गर्ने छन् । त्यसपछि आवस्यक सुधारसहित नयाँ बसहरु सञ्चालन गर्ने योजना भारतले बनाएको छ ।
३० किलो क्षमतामा चार वटा हाइड्रोजन सेल (सिलिण्डर) बसमा राखिएको छ । यो १२० किलो हाइड्रोजनले भारतको समथर भूभागमा ३५० किलोमिटर यात्रा गर्न पुग्छ । तर यी चार वटै सिलिन्डर भर्नका लागि बढीमा १२ मिनेटको समय लाग्ने बताइएको छ । यसले रातैभरी ब्याट्री चार्जमा राखेर कुदाउनु पर्ने विद्युतीय गाडीभन्दा निकै सहज हुने वैज्ञानिकहरुको अनुमान छ ।
हाइड्रोजन इन्धनबाट गाडी चलाउँदा धुवाँको सट्टा पानी आउँछ । हाइड्रोजन इन्धन पनि पानीबाटै बनाइन्छ । पानीमा हुने दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनलाई छुट्याएर यस्तो इन्धन तयार हुन्छ । प्रकृतिमा सबैधन्दा धेरै उपलब्ध रहेको तत्व नै हाइड्रोजन हो । यो सबैभन्दा हलुका ग्यास पनि हो । हाइड्रोजन इन्धनको शक्ति अन्य इन्धनको तुलनामा ३ गुणा बढी हुने भनिएको छ । यस्ता कुराले हाइड्रोजनलाई भविष्यको ऊर्जाको रुपमा हेरिँदै छ ।
भारतले ऊर्जामा आत्मनिर्भर बन्न भन्दै यो वर्षको बजेटबाट ‘हाइड्रोजन मिसन’ घोषणा गरेको थियो । यसका लागि करीब २ खर्ब भारु खर्च गर्ने भनिएको छ । इनर्जि ट्राञ्जिशन’ र ‘नेट जेरो इमिशन’का लागि भनेर बजेटले साढे ३ खर्ब भारु खर्च गर्ने प्रस्ताव गरेको थियो । भारतले सन् २०३० सम्म वार्षिक ५० लाख टन हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य घोषणा गरेको छ । यसका लागि २०३० सम्म ८० खर्ब भारु लगानी गर्ने योजना छ ।
हरित हाइड्रोजनको अध्ययन नेपालमा पनि भइरहेको छ । काठमाडौं विश्व विद्यालयले यसको अग्रसरता लिएको छ । तर नेपालमा हल्ला धेरै भए पनि खासै काम अघि बढ्न सकेको छैन ।
एजेन्सीको सहयोगमा ।