दसैं बिदामा घुम्ने होइन त ? यी हुन् उपयुक्त गन्तव्यहरु « Arthapath.com
५ कार्तिक २०८०, आईतवार

दसैं बिदामा घुम्ने होइन त ? यी हुन् उपयुक्त गन्तव्यहरु



काठमाडौँ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चाडपर्व वडा दसैँ मुखमा आएको छ । दसैँमा अन्य सिजन भन्दा धेरै लामो बिदा हुन्छ । दसैँमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई पनि निश्चित बिदा हुने गर्दछ । बिदा लामो हुने भएपछि मानिसको आ–आफ्नै योजनाहरू तय गरेका हुन्छ । यो समयमा मानिसहरू केही न केही नयाँ योजनासहित दसैँ बिदा मनाउने गर्दछन् । दसैँ बिदाको सबैभन्दा राम्रो र रमाइलो सदुपयोग भनेको घुमफिर नै हो ।

यो सिजनमा बिदा लामो हुने र मौसम पनि अनुकूल हुने भएकाले अधिकांशको योजना घुमघाम नै हुन्छ । आफ्नो घर, परिवार र साथीभाइहरू मिलेर घुम्नुमा अर्को आनन्द छ । त्यो घुम्नेहरूलाई मात्र थाहा हुनसक्छ । तपाई पनि यसपालिको दसैँ बिदा सदुपयोगका लागि घुमफिर गर्ने चाहना बनाउनु भएको छ र कहाँ जाने ? कसरी जाने भनेर अन्योलमा हुनुहुन्छ भने हामीले तपाइका यस्तै अन्योल वा कौतुहलता मेटाउन नेपालका घुम्न लायक केही महत्त्वपूर्ण ठाउँहरूको बारेमा जानकारी गराएका छौँ । यात्रामा रमाउन चाहनेहरूलाई सहज होस् भनेर नै विभिन्न रमणीय र पर्यटकीय स्थलहरूको बारेमा वर्णन गरिएको छ ।

पोखरा

सफा र शान्त वातावरण भएको सुन्दर सहर भन्ने बित्तिकै हामी सबैलाई पोखराको सम्झना आउँछ । एक पटक गएपछि त झन् अर्को पटक घुम्न कहाँ जाने भन्दा पोखरा नै जाने भन्न मन लाग्छ । ४६४.२४ वर्ग किलोमिटरमा फैलिएको पोखरा, घुमघामको एउटा पूर्ण प्याकेज बनाउन सकिन्छ । प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्रा फ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ, लेक साइडको चिसो चिसो मौसम, माझी कनाको र्विसनै नसकिने माछाको स्वाद । विन्दवासिनीबाट देखिने सेता टलक्क टल्केका हिमाल । यो सबै खाले पर्यटकका लागि सहज र आकर्षक गन्तव्य हो । पोखरामा आफ्नो इच्छाअनुसार पाँच तारे होटेलदेखि सामान्य लजमा बसेर घुमघाम गर्न सकिनेछ । 

खप्तड

विशाल फाँटहरूमा फुल्ने रङ्गीचङ्गी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका मुख्य आकर्षणको केन्द्र हो । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेश स्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तडका २२ वटा पाटन र ५३ वटा थुम्काहरूहरुले खप्तडलाई स्वर्ग बनाएको छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो पनि फरक नपर्ला ।

काठमाडौँदेखि धनगढी ६५० किमी बस यात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेसम्म जिप पनि चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ । डोटीको सिलगढीदेखि सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

रारा

नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल मुगु जिल्लामा रहेको छ । समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

रारा जान अहिले हवाई तथा स्थल मार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जाँदा भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिँडेपछि रारा ताल पुगिन्छ । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौँबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ । काठमाडौँबाट हिँडेको करिब ३० देखि ३२ घण्टामा बसबाट जुम्ला सदरमुकाम खलङ्गा पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरूले साना गाडी रिजर्भ गर्नुपर्छ । तर, खलंगबाट सिञ्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ । गमगढीबाट हिँडेर चार पाँच घण्टाका रारा पुग्न सकिन्छ ।

खलङ्गाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिँडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहेक पनि नेपालगन्ज तथा सुर्खेतको वीरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरु चौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरु चौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।

रारा घुम्न जाने सोच्नुभएको छ भने खर्च धेरै हुने गन्तव्यको रूपमा नलिनु होला रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौँ आउन सकिन्छ । काठमाडौँबाट २७ सय रुपैयाँ बस भाडमा जुम्ला पुगिन्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जुम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारा तालसम्म हिँडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ । रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ ।

फेरि सोही रुटमा फर्कँदा करिब १७ हजारमा काठमाडौँ आइपुगिन्छ । होइन म फर्कँदा हवाई यात्रा गर्छु भने पनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगन्जको राजा विमानस्थल ४२ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दुई हजारमा एक रात मज्जाले बिताएर काठमाडौँ आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन । तर, नेपालगन्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलङ्गाबाट गाडी रिजर्भ गरेर जाँदा भने तीन हजार रुपैयाँसम्म बढी लाग्न सक्छ ।

मुक्तिनाथ मन्दिर

हिन्दु र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तीर्थस्थल हो मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न स्वदेशी तथा विदेशीहरू पर्यटक पुग्ने गर्छन् । वि।सं १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दिर पेगोडा शैलीमा रहेको छ ।

मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको मूर्तिको दायाँपट्टि उभिएको लक्ष्मीको मूर्ति र बायाँपट्टि उभिएको सरस्वतीको मूर्ति रहेको छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, राम नवमी, ऋषितर्पणी, बडादसैँ आदि पर्वहरू महत्त्वपूर्ण मानिन्छन्। यसका अलावा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् ।

जोमसोम अर्थात् मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख सहरहरूबाट सजिलै गाडीहरू पाउने गर्दछ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथ सम्मको गाडी पाइन्छ ।

यदि तपाई काठमाडौँ तथा अन्य जिल्लाहरूबाट मुक्तिनाथ दर्शन तथा घुम्न जाँदै हुनुहुन्छ भने भाडाको गाडी चढेर पुग्न सस्तो पर्दछ । देशका विभिन्न सहरहरूबाट गाडी चढ्नुहोस् र पोखरा वा म्याग्दीको बेनी पुग्नुहोस् र बेनीबाट बिहानको समयमा सिधै जोमसोमको लागि बस र जिप पाइन्छ । तर पर्यटक बढी जाने सिजनमा टिकट पाउन अलि गाह्रो पर्दछ । यदि तपाईँले टिकट पाउनुभएन भने बेनीबाट मुस्ताङको घाँसासम्म पुग्नुहोस् र त्यहाँबाट जोमसोमको बस पाइन्छ । जोमसोम पुगेपछि कागबेनी मुक्तिनाथसम्म सजिलै बस जिप पाइन्छ । यदि तपाई माथिल्लो मुस्ताङ पनि घुम्ने योजना बनाउनुभएको छ भने कागबेनीबाट छुसाङको गाडी चढ्नुहोस् र त्यहाँबाट लोमान्थाङसम्म जिपको यात्रा गरेर पुग्नुहोस् ।

मुक्तिनाथ कागबेनी र जोमसोम लगाएका ठाउँ घुमेर फर्कन लगभग १० हजार भए पुग्छ । तर विभिन्न शहरहरुबाटको खर्च थोरै मात्रामा फरक हुन सक्छ । पहिलो दिन काठमाडौँबाट ८ सय रुपैयाँमै बेनी पुगिन्छ । बेनीमा ५ सय रुपैयाँमा होटेल पाइन्छ र खाना पनि त्यति महँगो छैन । दोस्रो दिन बेनीबाट ९ सय रुपैयाँमा जोमसोम पुगिन्छ । त्यहाँ १ हजारमा कोठा पाइन्छ । यहाँ अलि खाना महँगो छ । यहाँ ५ सय रुपैयाँ छाक खाना पाइन्छ । तेस्रो दिन जोमसोमबाट करिब ३ सय रुपैयाँ भाडामा मुक्तिनाथ पुगिन्छ । मुक्तिनाथ दर्शन पश्चात् यही रुट भएर फर्कन सकिन्छ ।

पून हिल

अन्नपूर्ण र धवलागिरि हिमाल हेर्न सबैभन्दा उपयुक्त स्थान हो घोर पानीको पुन हिल । यहाँ स्वदेशीभन्दा विदेशी पर्यटकहरू बढी पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरूको पनि चहलपहल बढिरहेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरे पानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । यस पदयात्रामा खाने बस्ने राम्रो सुविधा छ ।

अत्यधिक मात्रामा पर्यटक जाने भएकाले होटलहरुमा अग्रिम बुकिङ गर्नु पर्छ । पोखराबाट पुन हिल हुँदै घोरे पानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरे पानी पुगिन्छ । तेस्रो दिन घोरे पानीबाट सूर्य उदाएको दृश्यावलोकन गर्न पुन हिल टावर गएर पुन घोरे पानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ । यसरी पाँच दिनको प्याकेज बनाउनु भयो भने १० देखि १४ हजारसम्म खर्च लाग्छ ।

सौराहा

दसैँ बिदामा घुम्न जानेहरूका लागि अर्को आकर्षक गन्तव्य मध्ये चितवन सौराहा हो । नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । सौराहा क्षेत्र वनजंगलल भरिएको छ ।

चितवनको सौराहा, मेघौली, सिराई चुली, उपरदाङगढी, लामो झरना लगायतका रमणीय स्थलहरू अवलोकन गर्नका लागि चितवनमा पर्यटकको घुइँचो लाग्ने गर्छन् । हात्ती चढेर जङ्गल घुम्न पाउनु, राप्ती नदीमा डुङ्गा सयर गर्नु र सूर्यास्त हेर्नु सौराहाका आकर्षण हुन् । यस क्षेत्रमा थारु संस्कृतिको नाच हेर्न पाइन्छ । खाना, बस्नका लागि प्रशस्त सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

इलाम

इलामको पूर्वमा दार्जिलिङ, पश्चिममा धनकुटा, उत्तरमा पाँचथर तथा दक्षिणमा झापा जिल्लासँग जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचुर सम्भावना रहेको इलाम जिल्ला प्राकृतिक सुन्दरता, भौगोलिक बनावट तथा हावापानीले पहाडकी रानीका रूपमा पनि चिनिन्छ । यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, रहनसहन, रीतिरिवाज, कला, संस्कृतिसँग रमाउन धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

विकास–निर्माणका कार्यहरूले त्यति तीव्रता नपाए पनि नेपालका अरू पहाडी जिल्लाभन्दा यो जिल्ला सुगम नै मानिन्छ । धार्मिक तथा पर्यटकीय हिसाबले सानो पाथीभरा, कन्याम, श्रीअन्तुु, माई पोखरी, इलाम बजार, सन्दकपुर, गजुर्मुुखी, सिद्धि थुम्का आदि स्थानहरू प्रसिद्ध छन् । यी ठाउँहरूले घुम्न आउने लाखौँ पर्यटकको मन लोभ्याउने गर्छ । छिन–छिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेका लागि यो ठाउँ निकै राम्रो मानिन्छ । 

पाथीभरा

ताप्लेजुङमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात छ । पाथीभरादेवी समुद्री सतहबाट ३ हजार ७९४ मिटरमा उचाइमा रहेको छ ।विश्वको तेस्रो अग्लो हिमाललगायत दर्जनौँ अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो ।

पाथीभरा मन्दिरबाट कञ्चनजङ्घा हिमशृङ्खला, कुम्भकर्ण, मकालु, ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटेल नभए पनि भक्तजनहरूलाई बस्ने र खाने राम्रै व्यवस्था छ । दसैँको बेला (असोज कात्तिक) मौसम सफा हुने भएकाले पनि पाथीभराको दर्शन र हिमाल हेर्ने उपयुक्त समय हो ।


प्रतिक्रिया दिनुहोस्