तीन महिनामा नेपालले किन्यो ६९ अर्बको पेट्रोलियम, कति गर्न सक्ला विजुलीले विस्थापन ?

काठमाडौं । नेपालले गत साउनदेखि असोज मसान्तसम्म भारी मात्रामा पेट्रोलियम पदार्थको खरीद गरेको देखिएको छ । भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांक अनुसार नेपालले विभिन्न प्रकारका खनिज इन्धनको रुपमा यति धेरै तेल तथा ग्यास किनेको हो ।
विभागले यो तीन महिनामा नेपालले ६८ अर्ब ८६ करोड ४३ लाख ३५ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको उल्लेख गरेको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा क्रमशः डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धनको छ ।
अन्य प्रकारका खनिज पेट्रोलियम पनि मुख्य आयातित वस्तुको सूचीमा अग्रभागमै छ । त्यसपछि लुब्रिकेन्ट अर्थात् मोबिल, भट्टीहरुमा आगोबाल्न प्रयोग हुने फ्युल आयल र मोबाइल बनाउन प्रयोग हुने बेस आयलको आयात पनि उच्च छ । बरु परम्परागत इन्धनको रुपमा रहँदै आएको मट्टीतेलको आयात भने ह्वात्तै घटेर अहिले ९ औं स्थानमा पुगेको छ । त्यसपछि विजुलीको ट्रान्सफर्मरमा राख्ने तेल शीर्ष १०को सूचीमा छन् ।
पछिल्ला तीन महिनामा नेपालले आयात गरेको पेट्रोलियम पदार्थ (रकम रू. हजारमा)

स्रोतः भन्सार विभाग, २०८० कात्तिक।
अलकत्रा र प्याराफिन त्यसपछिको मुख्य वस्तु हुन् । जुट तथा कपडामा प्रयोग हुने तेलको आयात बढी देखिएको छ ।
जम्मा ४ खर्ब ७ अर्बको अन्तरराष्ट्रिय ब्यापार गरेको नेपालले त्यसको १६.८९ प्रतिशत रकम खनिज इन्धन र बिटुमिनको आयातमा खर्चिएको हो । यसबाट सरकारले २५ अर्ब १३ करोड ५८ लाखभन्दा धेरै राजस्व असुलेको छ । यो कुल भन्सार राजस्वको २३ प्रतिशतभन्दा धेरै हो । तर खरीद मूल्यमा यी पेट्रोलियम पदार्थबाट सरकारले औसत ३६.५० प्रतिशत राजस्व प्राप्त गरेको छ ।
नेपालमा कुल ३२ किसिमका खनिज इन्धन र बिटुमिनको आपूर्ति यस तीन महिनामा भएका छन् । यसमा करीब ६६ अर्ब ३० करोड रुपैयाँ बराबरको इन्धन तथा प्याराफिन र २ अर्ब ५६ करोड ५० लाखभन्दा बढीको अलकत्रा तथा अन्य खनिज पेट्रोलियम पदार्थको आयात भएको छ ।
विजुलीको हविगत
नेपालमा सरकारले पेट्रोलियम पदार्थको अति निर्भरतालाई घटाउन विद्युत उपयोग बढाउने नीति लिएको छ । सवारीसाधनदेखि खाना पकाउने काममा पनि विजुलीको प्रयोग बढाउने नीति सरकारको छ । विजुली निर्यात गरेर पेट्रोलियम तथा कृषिजन्य वस्तुको आयातमा भारतसँग हुँदै आएको उच्च ब्यापार घाटालाई सन्तुलन गर्ने उद्देश्य पनि सरकारले अघि सारेको छ ।
तर, यी उद्देश्यहरुको कार्यान्वयन तत्कालै भएर पेट्रोलियम पदार्थको माग घटिहाल्न मुस्किल छ । यो सालबाट सरकारले सिमेण्ट प्रयोग हुने कंक्रिट सडक निर्माणलाई प्राथमिता दिने भनेको छ । यसले अलकत्राको आयात घटाउन सघाए पनि त्यसलाई विस्थापन गरिहाल्ने अवस्था देखिएको छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले राष्ट्रिय ग्रीड प्रणालीको कुल माग ४ करोड १२ लाख युनिट भए पनि राष्ट्रिय माग २ करोड ६७ लाख युनिटमात्र रहेको छ । देशभित्र सबैभन्दा बढी विजुली माग हुँदा १५३५ मेगावाट विद्युत् माग भइरहेको प्राधिकरणले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत साउन र भदौमा नेपालले ४ अर्ब ५४ करोड ४७ लाखको विजुली भारतलाई बेचेको छ । यो गत सालको सोही अवधिभन्दा थोरैमात्र बढी हो । तर हिउँदमा नेपालले भारतबाटै विजुली आयात गर्नुपर्ने भएका कारण यो आँकडा स्थायी रुपमा अघि बढ्दैन ।
गत सालको उदाहरण दिने हो भने आर्थिक वर्ष भरीमा नेपालले १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँको विजुली निर्यात गरेको थियो । तर त्यही साल १९ अर्ब ९ करोड २१ लाखको विजुली किन्नु परेको थियो । यो आर्थिक वर्षको दुई महिनामै पनि नेपालले ८४ करोड २८ लाखको विजुली भारतसँग किनिसकेको छ ।
हालै भएको सम्झौताले भारतीय बजारमा नेपाली विद्युत् बेच्न थप सहज भएको र वर्षौंदेखि निर्माणाधिन केही पूर्वाधार तयार हुने क्रममा रहेकाले विद्युतको उपयोग थोरै बढ्नसक्ने संभावना बनेको छ । तै पनि तत्कालै पेट्रोलियम पदार्थको ठूलो हिस्सालाई कटौति गर्नसक्ने सामथ्र्य उपभोक्ता र राज्य संयन्त्रसँग समेत नरहेको जानकार बताउँछन् ।