भेरी बबईमा सुरुङ बनेको साढे ५ वर्षसम्म अघि बढेन बाँध र नहरको काम, मन्त्रीकै अगाडी ठेकेदार र आयोजना प्रमुखबीच आरोपप्रत्यारोप « Arthapath.com
३ पुष २०८०, मंगलवार

भेरी बबईमा सुरुङ बनेको साढे ५ वर्षसम्म अघि बढेन बाँध र नहरको काम, मन्त्रीकै अगाडी ठेकेदार र आयोजना प्रमुखबीच आरोपप्रत्यारोप



काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा रहेको भएपनि भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई बोलाएर तत्काल कामलाई गति दिन निर्देशन दिएका छन् ।

सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन । देशमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर २०७५ चैतमै १२ किलोमिटर लामो सुरुङ निर्माण सकिएको थियो ।

आयोजनाले त्यसबेला निर्धारित समयभन्दा करीब एक वर्ष पहिले नै सुरुङ छिचोलिएको भनेर खुबै प्रशंशा बटुलेको थियो । तर सुरुङ निर्माण सकिएको साढे ५ वर्ष नाघिसक्दा पनि बाँकी संरचना निर्माणको कार्यले गति लिन सकेको छैन । तर यस आयोजनाबाट सिंचाई हुने धेरै क्षेत्रमा अहिले नै घडेरिकरण भइसकेको छ ।

आयोजना सम्बद्ध अधिकारी आयोजना स्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ ।

कामले अपेक्षित गति नलिएपछि आज मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिएका छन् । छलफलमा रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महत्तोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनाको निर्माणाधिन बाँधस्थल ।

आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे ।

एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाई गरेको भन्दै मन्त्री बस्नेतले भने, ‘एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस् । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस् ।’

मन्त्री बस्नेतले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयका तर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए । आयोजना निर्देशक बमले दैनिक रुपमा २६० घनमिटरका दरमा ढलान तथा कंक्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनालाई दैनिक तीन सत्रमा काम गर्ने वातावरण मिलाउने तयारी भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्