ठेक्का लागेको पाँच वर्ष बित्यो, भएन कालोपत्रे « Arthapath.com
२ मंसिर २०८१, आईतवार

ठेक्का लागेको पाँच वर्ष बित्यो, भएन कालोपत्रे



काठमाडौं । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्रेको ठेक्का लागेको पाँच वर्ष बित्दा पनि पूर्णता पाउन सकेको छैन । उक्त खण्डको ८ किलोमिटर सडक कालोपत्रे गर्न विसं २०७६ जेठ ३१ गते नै ठेक्का सम्झौता भएको थियो ।

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

विसं २०७८ जेठमा सकिने गरी सम्झौता भएको योजना हालसम्म सम्पन्न हुन नसकेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको छ।

म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ।

ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको बताइएको छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो।


प्रतिक्रिया दिनुहोस्