राजनीतिक अस्थिरताका कारण अलपत्र बन्यो सुरुङमार्ग योजना, दराजमै थन्कियो डिपिआर

काठमाडौं । राजनीतिक अस्थिरताका कारण पोष्टबहादुर बोगटी सुरुङमार्ग योजना अलपत्र परेको छ। बागमती सरकारले गौरवको आयोजनाका रूपमा अघि सारेको उक्त सुरुङमार्गले गति लिन नसकेको छैन । योजना अघि बढाउन १ करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएर बसेको छ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो।
यो आयोजनामा सुरुङसहित पहुँचमार्ग, त्यसमा बन्ने पुलसहितको संरचना बनाउन निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो । सरकारको निर्णयअनुसार आव २०७७/७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो ।
तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि आयोजना नै अलपत्र परेको छ । सरकार फेरिएसँगै सो आयोजना अघि बढाउने वा खारेज गर्ने टुङ्गो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको सुनिश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएको बताउँछन् । ‘अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो,’ उनले भने, ‘पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ।’
सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका लागि प्रयास भइरहेको उनले बताए।
वाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजनाका रूपमा रहेको सो सुरुङमार्गलाई बहुवर्षीय रुपमा स्रोतको व्यवस्थापन गरिएको पत्र २०७७ मै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको थियो । प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले २०७७ वैशाख २८ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको हो ।
आयोजनाको कूल लागत रु १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको थियो । तर सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने अघि बढेको छैन । सो परियोजनाका लागि आर्थिक वर्ष २०७७/७८ देखि आव २०८०/८१ सम्म खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको भनिए पनि अहिलेका मुख्यमन्त्री लामा भने स्रोतको सुनिश्चितता नै नभएको बताउँछन् ।
भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङमार्ग दुईलेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ । सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ ।
सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गलेगति भने लिन सकेको छैन ।