थप १६ वटा खानेपानी वितरण सञ्जालका ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका मध्ये थप १६ वटा खानेपानी वितरण सञ्जाल(डिएमए) का ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीब्रता दिँदै आएको छ ।
निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत विच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौं उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका जम्मा ९८० किलोमिटर नयाँ पाइपलाइनमध्ये थप ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको हो ।
अन्तिम परीक्षण सम्पन्न भएका थप १६ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्नका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
यसअघि, पहिलो चरणमा ४ र दोस्रो चरणमा १० गरी १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरि सकिएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाल अन्तिम परीक्षण सम्पन्न भएका र यसअघि परीक्षण सम्पन्न गरी हस्तान्तरण गरिएका समेत गरी जम्मा ३० वटा डिएमएका ९२४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सम्पन्न भएको छ ।

बाँकी रहेका काठमाडौंका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका ३ वटा डीएमएहरूका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण समेत यही डिसेम्बर महिनाभित्र सम्पन्न गर्ने गरी कार्य भइरहेको छ ।
निर्देशनालयबाट विच्छ्याइएका खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइन रहेको छ ।
यसैगरी, खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार ८३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको छ ।
यसअघि, निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरीहरू र थोक वितरण प्रणालीहरू हाल संचालनमा रहेका छन् । साथै, खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको । चुहावटको समस्या खासै नदेखिएको बताइएको छ ।