‘खरीद’मा मात्रै ध्यान दिने क्यानले भैरहवामा लगायो नयाँ प्रणाली, माघदेखि हुन्छ सञ्चालन « Arthapath.com
१४ पुष २०८१, आईतवार

‘खरीद’मा मात्रै ध्यान दिने क्यानले भैरहवामा लगायो नयाँ प्रणाली, माघदेखि हुन्छ सञ्चालन



काठमाडौँ । नियामकको अनेकौँ प्रयत्न र कतिपय अवस्थामा ‘जबरजस्ती’ गर्दा पनि सञ्चालनमा आउन नसकेको भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अब नयाँ प्रविधी जडान गरेर अवतरणलाई सहज बनाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘रिक्वाइर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वाइर्ड (आरएनपी–एआर)’ प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो । यो स्याटलाइट (भू–उपग्रह)मा आधारित प्रणाली हो ।

जहाजलाई अवतरणका क्रममा भू–सतहबाटै मार्गनिर्देश गर्ने रेडियो नेभिगेसन प्रणाली अर्थात् ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस)’ सञ्चालन गर्न नसकेपछि अब स्याटेलाइटबाट मार्गनिर्देश गर्ने प्रणालीतर्फ अघि बढिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

नेपालको दुरुर दक्षिणी सीमा क्षेत्रमा निर्माण गरिएको यो विमानस्थलमा ‘आईएलएस’ सञ्चालन गर्दा भारतीय आकाश समेत उपयोग हुने भएपछि नेपालले भारतसँग पटक पटक उक्त अनुमति मागेको थियो । तर भारतले आफ्नो उड्डयन ऐन नै संशोधन गर्नुपर्ने भएपछि यस्तो अुनमति दिन मानेन ।

त्यसमाथि भारतीय वायु सेवाको गोरपुर आधार क्षेत्र प्रभावित हुनसक्ने ठानेर उसले नेपाललाई भारतीय आकाश समेत उपयोग हुनेगरी यस्तो प्रणाली सञ्चालन गर्न सहमति दिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले यी सम्भाव्य जोखिमहरुलाई बेवास्ता गर्दै एसियाली विकास बैंकसँग ऋण लिएर विमानस्थल बनाएको थियो । भारतको अनुमति आवस्यक पर्छ भन्ने जान्दाजान्दै लाखौँ रकम खर्च गरेर ‘क्याट टु र क्याट थ्री’ भनिने महँगो प्रणाली जडान गरेको थियो ।

प्राधिकरणले ‘सार्वजनिक खरीद’लाई ज्यादा महत्व दिएर त्यसको उपयोग गर्नेतर्फ ध्यान नदिएपछि यस्तो अवस्था आएको जानकार बताउँछन् । प्राधिकरणले भैरहवामा जडान भएको आईएलएस प्रणालीको लागतबारे स्पष्ट पारेको छैन । तर अन्तरराष्ट्रय िअनुभवले ‘क्याट टु’ भनिने प्रणालीको अनुमानित जडान लागत २० देखि ५० लाख अमेरिकी डलर पर्छ । यो एउटा धावनमार्गमा जडान गर्दाको लागत हो । त्यस्तै ‘क्याट थ्री’ प्रणालीको लागत ८० लाखदेखि १ करोड ५० लाख अमेरिकी डलरसम्म पर्छ ।

उक्त प्रणाली सञ्चालनमा आएको भए अहिले धेरैजसो समय भैरहवामा प्लेन ‘डिले’ हुने वा कहिलेकाहीँ उडान नै स्थगित हुने अवस्था आउँदैन थियो ।

तर नेपाल–भारत सीमाबाट जम्मा २ किलोमिटर भित्र लगेर विमानस्थल बनाएपछि अहिले समस्या भएको हो ।

प्राधिकरणले आफ्नो ‘गम्भीर भुल’लाई ‘सामसुम’ पार्न अब नयाँ तरिका अपनाएको छ ।

हिउँदयामका तीन महिना (मंसिरदेखि माघसम्म) हुस्सु र तुवाँलोका कारण भिजिबिलिटी (स्पष्ट रुपमा देखिने दूरी) घट्ने समस्याले अन्तर्राष्ट्रिय उडान स्थगन हुने समस्या बारम्बार दोहोरिएको छ । तीन वर्षयता पटक–पटक यस्तो समस्या देखिएपछि आरएनपी–एआर प्रणाली लागू गर्ने निचोडमा पुगिएको हो ।

भैरहवामा आगामी माघ १० देखि स्याटलाइटमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज अवतरण गर्ने प्रणाली सुचारु हुने भएको छ । यससँगै जहाज अवतरणका लागि अहिले आवस्यक ठानिएको २२ सय मिटर न्यूनतम भिजिबिलिटीको आवस्यकता नपर्ने विमानस्थल प्रशासनले जनाएको छ । त्यसपछि पाइलटले जम्मा ९ सय मिटर टाढासम्म देख्न सक्ने अवस्था भयो भने पनि विमान अवतरण गराउन सकिने छ ।

यसपछि ‘खराब मौसम’का कारण हुने उडान स्थगनका घटना कम हुने. ठानिएको छ । प्राधिकरणका उपनिर्देशक राजेन्द्रसिंह नायक नेतृत्वको टोलिले डिजाइन गरेको उक्त प्रणाली अनुसार जहाज अवतरण गराउन पाइलटहरुले भने विशेष प्रकारको तालिम लिनुपर्ने हुन्छ ।

वातावरण तथा भौगोलिक जटिलता भएको नेपालजस्तो मुलुकका लागि विमानस्थलमा आरएनपीएआर प्रणाली वरदान सावित हुने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । यद्यपि, भैरहवा विमानस्थल समथर भूमिमा अवस्थित छ ।

यस्तो प्रविधिको उपयोग गरी जहाज अवतरण गराउने तालिम दिन पर्याप्त समय लाग्ने भएकाले जडान भएको ४२ दिन पछिबाट मात्रै यस प्रकारको प्रणाली सुचारु गर्न लागिएको प्राधिकरणले जनाएको छ । यो अवधिमा उक्त विमानस्थलबाट उडान भरिरहेका र त्यहाँ आउन चाहने नयाँ विमान सेवा कम्पनीलाई पनि आफ्ना चालक (पाइलट)लाई उपयुक्त तालिम दिने मौका मिल्ने छ ।

‘सिम्युलेटर’ (नमुना ककपिट)मा तालिम लिएर प्रमाणपत्र पाइसकेका पाइलटले मात्रै यो प्रणाली अनुसार विमान अवतरण गराउन पाउने छन् ।

अहिले भैहरवामा आईएलएस प्रणाली सञ्चालनमा नआएकाले त्यहाँ सिमराबाट प्रवेश गर्ने जहाजहरुले रेडियो तरंगमै आधारित भीओआर–डीएमई (भेरी हाई फ्रिक्वेन्सी आम्नी–डिरेक्सनल रेञ्ज तथा डिस्टेन्स मिजरिङ इक्वीप्मेन्ट) प्रणालीको सहायताबाट विमान अवतरण गर्दै आएका छन् । पश्चिमतर्फबाट अवतरण गर्ने जहाजले भने न्यूनतम १७ सय मिटर भिजिबिलिटीमा विमानलाई धावनमार्गमा बसाल्न सक्छन् ।


प्रतिक्रिया दिनुहोस्