निर्माण क्षेत्रको ‘बौरिने चेष्टा’, थपियो झन्डै १३ अर्ब लगानी

काठमाडौं । शिथिल निर्माण क्षेत्र विस्तारै गतिलिन खोजेको छ । आर्थिक शिथिलता लगायतका कारण सुस्तता छाएको यस क्षेत्रमा पछिल्लो लगानी बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो आँकडा (माघ मसान्त, २०८१) ले निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको देखाउँछ ।
बैंकहरुबाट मुलुकका विभिन्न क्षेत्रका विकास निर्माणको काम प्रवाह हुने कर्जा प्रवाह बढ्न थालेको हो । अर्थतन्त्रमा आएको सुस्तताले निर्माणजन्य गतिविधि पनि चलायमान हुन सकिरहेको थिएन । यस्तो अवस्थामा बैंकहरुबाट यस क्षेत्रमा जाने कर्जा बढ्न थालेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी ६.९० प्रतिशत बढाएका छन् । समिक्षा अवधिमा आइपुग्दा बैंकहरुले निर्माण क्षेत्रमा कुल २ खर्ब १ अर्ब २८ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जबकि, गत आवको सोही अवधिमा भने १ खर्ब ८८ अर्ब २८ करोड २५ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । पछिल्लो एक वर्षको अवधमिा बैंकहरुले १२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा प्रवाह गरेका छन् ।
आर्थिक शिथिलताकै कारण ठुला भवन निर्माण, जलविद्युत आयोजना, सडक, पुल लगायतका पूर्वाधार निर्माण तिव्र रुपमा अघि बढ्न सकिरहेको छैन् । करिब करिब सुस्त नै छ । निर्माणजन्य गतिविधि नबढ्दा बैंकहरुले यस क्षेत्रमा गर्ने लगानी पनि सुस्त नै रहेको थियो । तर, पछिल्लो समय भने विस्तारै बढ्न थालेको छ ।
विस्तारै आर्थिक गतिविधि बढ्न थालेको छ । विकास निर्माणका कार्यहरु पनि बढ्दै गएका छन् । अर्को तर्फ सरकारको नीतिगत सहजीकरण लगायतका कारण पनि पछिल्लो समय यस क्षेत्रमा लगानी थपिने क्रम बढ्दो नै छ । हाल सरकारले पनि निजी क्षेत्रलाई प्राथमिकता दिँई नीतिगत सहजीकरण गरिदिएको छ, जसले ठूला ठूला पूर्वाधार आयोजनाहरुमा लगानी बढाउने सहज भएको छ ।
अधिकांश बैंकहरुको निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन् । माघ मसान्तसम्मको आँकडा अनुसार लक्ष्मी सनराइज, सानिमा, कुमारीसहित ५ वटाको लगानीमा केही गिरावट आएको देखिन्छ । तर, अन्य बैंकहरुको यस्तो शीर्षकको कर्जामा बढोत्तरी नै छ ।
निर्माण क्षेत्रमा सबैभन्दा ठूलो लगानी नबिल बैंकको छ । बैंकले यस क्षेत्रमा २४ अर्ब ६२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने १२.०३ प्रतिशत बढी हो । एक वर्षको अवधिमा बैंकले २ अर्ब ६४ करोड ४० लाख रुपैयाँ यस क्षेत्रमा लगानी बढाएको छ ।
अन्य क्षेत्रमा कर्जा लगानी घटाएको एनआइसी एशियाले पनि निर्माण क्षेत्रमा भने सर्वाधिक बढाएको छ । रकमका आधारमा दोस्रो सूचीमा रहेको यस बैंकले २३ अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा लगानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४३.३० प्रतिशत धेरै हो ।
निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा नेपाल बैंकले पनि ४०.५५ प्रतिशत बढाएको देखिन्छ । यस्तै, सिटिजन बैंकको ३३.६८ प्रतिशत, प्रभूको २९.१० प्रतिशत, प्राइमको २८.९७ प्रतिशत, एनएमबिको २६.२७ प्रतिशत, कृषि विकासको २४.७२ प्रतिशत, एभरेष्टको २०.०८ प्रतिशत, माछापुच्छ्रेको १६.१९ प्रतिशत वृद्धि भएको छ ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ८.११ प्रतिशत, ग्लोबल आइएमईले ७.६४ प्रतिशत, हिमालयनले २.१७ प्रतिशत र सिद्धार्थले २.०५ प्रतिशत बढाएका छन् । तर, लक्ष्मी सनराइजको ३७.१३ प्रतिशत, सानिमाको १०.०२ प्रतिशत, कुमारीको ८.७१ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको २.६३ प्रतिशत घटेको देखिन्छ ।
निर्माण क्षेत्रमा कुन बैंकले कति प्रवाह गरे कर्जा ? (रकम दश लाखमा)
