पूर्वाधार विकासमा दर्विलो समन्वयको खाँचो, अधिकार प्रयोग गर्न प्रदेश सरकारलाई आह्वान « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

पूर्वाधार विकासमा दर्विलो समन्वयको खाँचो, अधिकार प्रयोग गर्न प्रदेश सरकारलाई आह्वान



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरु विच दर्विलो समन्वय आवश्यक रहेको बताए ।

सोमबार मधेश प्रदेशको बर्दीबासमा आयोजीत ‘संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती’ विषयक छलफल तथा ‘अन्तर प्रदेशिय एकता र भिन्नता’ विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।

भौतिक मन्त्रीहरुको अन्तरप्रादेशिक छलफललाई संवोधनका क्रममा उनले एक अर्को सरकार विच दर्विलो विश्वास र समन्वयले मात्र विकास निर्माणलाई गति दिन सक्ने बताए ।

संविधानले निर्दिष्ट गरेका अधिकारहरुको कार्यान्वयनमा प्रदेश तथा स्थानीय सरकार हिचकिचाउन नहुने भन्दै आफ्नो क्षमता विकास गर्दै अधिकारहरुको कार्यान्वयन तर्फ जुट्न समेत प्रदेशका मन्त्रीहरुलाई आह्वान गरे ।

संघीयताको प्रभावकारी कार्यान्वयन हुनसके विकास निर्माणले पनि गतिलिने भन्दै मन्त्री दाहालले अब संघीय सरकारले अधिकार दिएन भनेर वा प्रदेश सरकारहरुले काम गर्न सकेनन् भनेर अल्मलिने बेला नभएको उनको भनाई छ ।

‘कुन तहको सरकारको के अधिकार र जिम्मेवारी हो संविधानले प्रष्टै व्यवस्था गरेको छ’ उनले भने, ‘यति हुँदा पनि हामी अल्मलियौं र अधिकार दिने–लिने मात्र कुरा गरि रहयौ भने संघीयताको कार्यान्वयन संवैधानिक मर्म अनुसार हुँदैन । त्यसैले अब अल्मलिएर होईन, प्रष्ट भएर विकास निर्माणलाई गति दिन जरुरी छ ।’

संघीयता र गणतन्त्रले के दियो भनेर नागरिकलाई भ्रम फैल्याउन खोज्नेहरु सल्बलाउन थालेको भन्दै संघीय गणतन्त्रका उपलव्धीहरु नागरिक सम्म पु¥याउन पनि जरुरी रहेको बताए । साविकको एकमात्र पूर्वपश्चिम राजमार्ग एशियन मापदण्ड अनुसार विस्तार भई रहेको, अरु तीन ओटा पूर्वपश्चिम राजमार्गहरु तिव्र रुपमा बनि रहेको, उत्तर–दक्षिण करिडोरहरुले त्रिदेशीय व्यापार प्रवद्र्धनको ढोका खोलि रहेको, ग्रामिण दुर्गम क्षेत्र सम्म सडक सञ्जाल पु¥याईएको जस्ता विषयलाई कसैले पनि नजरअन्दाज गर्न नहुने उनको भनाई थियो ।

गणतन्त्र आएपछि नै समाजमा रहेका विभेदहरु अन्त्य हुँदै गएको बताए । उनले पिछडीको समुदाय र भुगोलको शासन व्यवस्थामा पहुँच स्थापित भएको बताए ।

सुचना प्रविधि–शिक्षा र स्वास्थ्यको पहुँच अभिवृद्धी भएको उल्लेख गर्दै संघीयता र गणतन्त्रलाई अझ उन्नत र जनमूखी बनाउन सवै एक हुनुपर्नेमा उनको जोड छ ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बैठक आयोजना गरेको हो । कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार सम्वन्धि मन्त्रीहरु सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्