नयाँ व्यवसाय भित्र्याउन तातिए ठूला जीवन बीमा कम्पनी, नेपाल र नेशनलको हिस्सा उच्च, को-को देखिए तगडा ? « Arthapath.com
१२ असार २०८१, बुधबार

नयाँ व्यवसाय भित्र्याउन तातिए ठूला जीवन बीमा कम्पनी, नेपाल र नेशनलको हिस्सा उच्च, को-को देखिए तगडा ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) वृद्धि भएको छ । अधिकांश कम्पनीहरुबीच नयाँ व्यवसाय भित्र्याउन प्रतिस्पर्धा देखिएको छ ।

हाल संचालनमा रहेका १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले ११ महिना (साउनदेखि जेठसम्म) मा २७ अर्ब ५६ करोड ७८ लाख बढीको नयाँ व्यवसाय भित्र्याएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ६.२३ प्रतिशत अर्थात् १ अर्ब ६१ करोड ६८ लाख रुपैयाँले बढी हो । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको जेठ मसान्तसम्ममा पनि कम्पनीहरुले २५ अर्ब ९५ करोड १० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए ।

ठुला जीवन बीमा कम्पनीहरुले ११ महिनामा कुल १ खर्ब ३६ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ बराबरको व्यवासय गरेका छन् । यसमध्ये झन्डै ८० प्रतिशत हिस्सा पुरानै व्यवसाय अर्थात् नविकरण मार्फत आर्जन हुने बीमा शुल्कको छ । समिक्षा अवधिमा नविकरण मार्फत १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

आर्थिक शिथिलताका कारण बीमा कम्पनीहरुको व्यवसायमा खास सुधार आउन सकिरहेको थिएन । तर, पछिल्लो समय भने विस्तारै बढ्न थालेको देखिन्छ । अहिले कम्पनीहरुको नयाँ व्यवसाय पनि क्रमशः बढ्दै आएको छ । आर्थिक गतिविधि बढ्न थालेसँगै नयाँ तथा समग्र बीमा व्यवसाय पनि वृद्धि भएको देखिन्छ ।

प्राधिकरणका अनुसार पाँच वटा बाहेकका कम्पनीहरुले नयाँ व्यवसाय बढाएका छन् । गत आवको जेठको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनी, प्रभु महालक्ष्मी, रिलायवल नेपाल, सन नेपाल र सूर्यज्योति लाइफको प्रथम बीमा शुल्क घटेको छ । यी बाहेकका अन्य कम्पनीको भने वृद्धि भएको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नेशनल लाइफको प्रथम बीमा शुल्क २९.०५ प्रतिशत वृद्धि भएको छ । यस्तै, एशियन लाइफको २१.८८ प्रतिशत नेपाल लाइफको २१.७५ प्रतिशत वृद्धि भएको छ ।

नयाँ व्यवसायमा सर्वाधिक हिस्सा भने नेपाल लाइफको देखिएको छ । समिक्षा अवधिमा नेपाल लाइफले ६ अर्ब २५ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको २२.६८ प्रतिशत हो । दोस्रो सर्वाधिक ठुलो हिस्सा (१५.१ प्रतिशत) रहेको नेशनल लाइफले पनि ११ महिनामा ४ अर्ब १६ करोड १५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि २ अर्ब ६ करोड ९९ लाख, हिमालयनले २ अर्ब ४ करोड २३ लाख र सूर्यज्योतिले २ अर्ब १ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुको कुल नयाँ व्यवसायमा क्रमशः ७.५१ प्रतिशत, ७.४१ प्रतिशत, ७.७३ प्रतिशत हिस्सा छ ।

कुल नयाँ व्यवसायमा सिटिजन लाइफको हिस्सा ५.८१ प्रतिशत, एशियनको ५.५३ प्रतिशत, सानिमा रिलायन्सको ५.५२, सन नेपालको ४.८, आइएमईको ४.७८, रिलायवलको ४.५५, मेट लाइफको ४.१९, प्रभु महालक्ष्मीको ३ र राष्ट्रिय जीवन बीमाको १.८२ प्रतिशत छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्