गार्डियन माइक्रो लाइफको वित्तीय फड्को : नाफामा चामत्कारिक उछाल, यस्तो छ लोभलाग्दो प्रगति

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा चामत्कारिक सुधार देखिएको छ । ९ महिनामै कम्पनीको नाफा झन्डै ३५ गुणा बढेको छ ।
मंगलबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले २ करोड ७४ करोड लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ३४.८५ गुणा धेरै हो । गत आवको सो अवधिमा कम्पनीले ७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । आम्दानीमा देखिएको उल्लेख्य सुधारले नै कम्पनीको खुद नाफा वृद्धि भएको हो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ९९०.४४ प्रतिशत बढेर १९ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १० प्रतिशत बढाएको देखिन्छ । ९ महिनामा कम्पनीको यस्तो आम्दानी ३ करोड ९९ लाख रुपैयाँ कायम भएको छ ।
गत आवको तेस्रो त्रैमासमा १ करोड ३ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको थियो । तर, चालु आवको सोही अवधिमा भने १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४.७० गुणा बढेर २५ करोड ५१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यता, कुल खर्च पनि ३२५.५७ प्रतिशत बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको लगानी पनि ६८.०२ प्रतिशत बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ४.८८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ५० लाख रुपैयाँ छ । जीवन बीमा कोषमा १२ करोड ६५ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ राखेको छ ।