राष्ट्र बैंकको ढुकुटीमा रित्तियो सुन, यो साल पाइने छैन ‘असर्फी’ « Arthapath.com
२० भाद्र २०८१, बिहीबार

राष्ट्र बैंकको ढुकुटीमा रित्तियो सुन, यो साल पाइने छैन ‘असर्फी’



काठमाडौँ । यो वर्षको दशैँ तिहारमा नयाँ नोटमात्रै होइन, असर्फी र मेडालियन पनि नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले समयमै सुन किनेर असर्फी छाप्नु पर्नेमा त्यसो नगरेपछि सुनका सिक्का नपाइने पक्कापक्की भएको हो ।

विगतमा वर्षमा पनि दशैँ र तिहारमा सुनका असर्फी किन्नका लागि राजनीतिक र प्रशासनिक भनसुन गराउनु पर्ने बाध्यता थियो । तर यो साल त्यस्ता भनसुनले पनि काम नगर्ने भएको छ । यस्तो हुनुमा राष्ट्र बैंक व्यवस्थापनको ‘नाकामी’ नै एकमात्र कारण रहेको केन्द्रिय बैंक स्रोतले दाबी गरेको छ ।

गत आर्थिक वर्षको बजेटमा नै ३ अर्ब रुपैयाँ पैसा सुन किन्न भनेर छुट्याइएको थियो । तर एक वर्ष वित्दासम्म त्यसरी सुन किन्न केन्द्रिय बैंकको नेतृत्व तयार नभएपछि यो साल असर्फीको अभाव हुने देखिएको हो ।

यसलाई राष्ट्र बैंककै केही अधिकारीहरुले निजी सुनचाँदी व्यवसायीसँगको साँठगाँठको संभावना पनि औँल्याएका छन् । ‘पछिल्ला वर्षमा असर्फीमा माग बढेसँगै निजी क्षेत्रका सुनचाँदी व्यवसायीले पनि सुनका सिक्का बनाएर बेच्न थालेका छन् । तर राष्ट्र बैंकले असर्फी बेचेपछि निजी सुन पसलहरुको असर्फी कम बिक्ने अवस्था भयो’, ती अधिकारीले भने, ‘राष्ट्र बैंकको असर्फीमा तौल र गुणस्तरप्रति विस्वास हुने भएकाले यस्तो अवस्था आएको हो ।’

तर केन्द्रिय बैंकले असर्फी नबेचे पछि निजी दोकानबाट किन्नुपर्ने बाध्यता सिर्जना हुन लागेको अधिकारीहरु बताउँछन् ।

१०० किलो सुन घाटा !

असर्फी बेचेर नागरिकका आवस्यकता परिपुर्ति हुनेमात्रै होइन, राष्ट्र बैंकले पनि राम्रै आम्दानी गर्दै आएको थियो । २०८० मंसिर ४ मा प्रकाशित असर्फी (सुनका सिक्का) र मेडालियन (चाँदीका सिक्का)को मूल्यले पनि यो देखाउँछ ।

राष्ट्र बैंकले १० ग्राम (८५.७ लाल), ५ ग्राम (४२.९ लाल) र २.५ ग्राम (२१.४ लाल) का असर्फी सर्वसाधारणलाई विक्री गर्दै आएको छ । टक्सार महाशाखाले जनाए अनुसार १० ग्राम असर्र्फीको मूल्य १ लाख २ हजार १९५ रुपैयाँ तोकिएको छ । त्यसै दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले १० ग्राम सुनको भाउ ९९ हजार १९५ रुपैयाँ तोकेको थियो ।

यस विवरणले सुनको बजार मूल्यभन्दा ३ हजार रुपैयाँ (तोलाको ३५ सय रुपैयाँ) महँगो भाउमा केन्द्रिय बैंकले सिक्का बेचिरहेको देखिन्छ ।

चाँदीका सिक्का भने १० ग्राम र २५ ग्राममा विक्री गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । ४ मंसिर २०८० मा १० ग्राम चाँदीको भाउ १२४३ रुपैयाँ थियो भने त्यही चाँदीको सिक्काको मूल्य चाहीँ राष्ट्र बैंकले १६०० रुपैयाँ तोकेको थियो ।

राष्ट्र बैंकले बेलैमा सुन नकिनेर उपभोक्ता र उसको मिन्टिङ कमिसनमा मात्रै आघात पुगेको छैन, अन्तरराष्ट्रिय बजारमा यो पहेँलो धातुको मूल्य बढ्नाले पनि अर्को क्षति पुगेको छ । एक वर्ष अघि अर्थात् गत सालको भदौ २० मा राष्ट्र बैंककले सुन किनेको भए स्वदेशी बजारमै पनि ९५ हजार २५० मा १० ग्राम सुन किन्न पाउँथ्यो । तर आज त्यति नै सुनको मूल्य १ लाख ३० हजार ३१५ रुपैयाँ पुगेको छ ।

यसरी सञ्चालक समितिले सुन किन्न भनेर पारित गरेको बजेट थन्क्याएर राख्दा केन्द्रिय बैंकलाई ज्यादै ठूलो घाटा परेको छ ।

दुबईको बजारमा बुधबार १ औँश सुनको भाउ ९१६४ दिह्राम पुगेको छ । पोहोर भदौ होइन, असोजमै किनेको भए पनि यो सुन ६६७० दिह्राम हाराहारीमा पाइन्थ्यो । यसको नेपाली मूल्य हिसाब गर्ने हो भने ११ महिना अघि दुबईमा ९९ हजार ७०० रुपैयाँ तोलामा किन्न पाइने सुनको भाउ अहिले १ लाख ३८ हजार २०० हाराहारी पुगेको छ ।

राष्ट्र बैंकले छुट्टयाएको ३ अर्ब रुपैयाँले गत असोजमा ३५० किलोभन्दा धेरै सुन किन्न पुग्थ्यो । त्यही पैसाले अहिलेको भाउमा किन्ने हो भने २५३ किलोमात्रै सुन आउँछ । यसरी बजेट छुट्याएर पनि राष्ट्र बैंक नेतृत्वले एक वर्ष सुन किन्न ढिलाई गर्दा करीब १०० किलो सुन घाटा लागेको छ ।

तस्करी घट्यो, कार्यविधी बनेन

राष्ट्र बैंकले विदेशमा सुनमा लगानी गरिरहेको हुन्छ । तर त्यो केवल कागजी सुन हो । डेरिभेटिभ्समा भएको लगानीको हिसाबमात्रै हुन्छ, त्यो सुन स्वदेश भित्र्याउन मिल्दैन । तर हामीलाई सिक्का छाप्न भौतिक रुपमै सुन आवस्यक पर्छ ।

यस प्रकारको भौतिक सुन नेपालले पहिलेदेखि नै खासै किनेको छैन । अधिकतर सुन पुराना राज्यसत्ताले थुपारेको भण्डारबाट निकालिएको थियो भने आधुनिक समयमा प्रहरीले तस्करीबाट समात्ने सुनलाई नै राष्ट्र बैंकले खरीद गरेर सिक्का बनाउँदै आएको थियो ।

प्रहरीले गत साल दिएको विवरणका अनुसार पछिल्ला ९ वर्षमा उसले ६६० किलोभन्दा धेरै सुन बरामद गरेरको थियो । यो सुन राष्ट्र बैंकको ढुकुटीमा पुग्ने भएकाले त्यसैबाट सिक्का बन्ने गथ्र्यो । तर पछिल्लो वर्षमा प्रहरीले सुन बरामद गर्ने घटना पनि निकै सुस्त देखिएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य आकासिनु र भारत सरकारले त्यहाँ सुनको भन्सार दरलाई ब्यापक मात्रामा कटौति गर्नुले सुनको तस्करी कम भएको अनुमान छ । नेपालमा पनि सुन समात्ने रफ्तार बढेपछि यी तस्करीका घटना केही मत्थर भएजस्तो देखिएका छन् ।

यी कारण राष्ट्र बैंकमा भौतिक सुन पुग्ने बाटो अवरुद्ध भएको केन्द्रिय बैंकका अधिकारीहरु बताउँछन् ।

अहिले राष्ट्र बैंकसँग भौतिक सुनको मौज्दात सकिएपछि पनि सुन खरीद गर्ने प्रक्रिया अघि बढेको छैन । गत आर्थिक वर्षमै सुन किन्न सञ्चालक समितिले ठूलो बजेट दिएको एक वर्षभन्दा लामो समय बित्दा पनि उसले भौतिक सुन किन्ने कार्यविधी नै बनाउन नसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

भौतिक सुन किन्ने कानूनी आधार नै तयार नभएपछि अब पनि छिटोछरितो सुन ल्याएर सिक्का छाप्ने संभावना नभएको स्रोतले बतायो । स्रोतका अनुसार राष्ट्र बैंकको नेतृत्व पंक्ति नै सुन किन्नमा सकारात्मक नदेखिएकाले यो अवस्था आइपरेको हो ।

बाध्यकारी होइनः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले असर्फी बेच्नै पर्छ भन्ने अनिवार्यता नभएको बताए । ‘बैंकसँग विक्रीयोग्य सुन भयो भने सिक्का छापेर दिनसक्छ,’ उनले भने, ‘त्यो भनेको राष्ट्र बैंकले गरेको एउटा सार्वजनिक सेवामात्रै हो, बाध्यकारी दायित्व होइन ।’

केन्द्रिय बैंकसँग विक्रीयोग्य सुनको अभाव हुँदा वा सुन पगाल्ने र सिक्का बनाउने मेसिनहरु अभाव हुँदा यसरी सिक्का छाप्न र दिन नसकिने उनले सुनाए ।

‘यसपालिको हकमा अहिलेसम्म राष्ट्र बैंकले सिक्का छापेर बेच्ने धेरै तयारी गरिसकेको छैन । यस वर्ष हामीसँग सिक्का मौज्दात पनि छैन’, उनले थपे, ‘दशैँ तिहार नजिकै आइसकेको छ । अब सुन किनेर सिक्का छाप्ने संभावना निकै कम छ ।’

सुन किनियो वा कुनै तरिकाले व्यवस्था भयो भने सिक्का बनाउन सक्ने उनको तर्क छ । तर त्यसको संभावना ज्यादै कम छ । ‘राष्ट्र बैंकले सुन किन्न सक्छ, तर अहिलेसम्म किनिएको छैन’, उनले दोहोराए ।


प्रतिक्रिया दिनुहोस्