महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी, नेपाली निर्यात प्रवर्ध्दनमा सघाउ पुग्ने आशा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्ध्दन एवं लगानी विस्तार गर्न समझदारी भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवर्ध्दन गर्ने र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउने उद्देश्यले स्थापना भएको संस्था हो ।
आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास महासंघ अध्यक्ष ढकालले राखेका छन् । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैया छ ।
नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढी मात्रामा कोरिया निर्यात भइरहेको छ । कोइमासंगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।
नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० बर्षको अवसरमा आयोजित समारोहकै दौरान समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दुतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसंगको समिप्यता, कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताए ।
ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको उनले बताए ।