महासंघ बरिष्ठ उपाध्यक्षमा ढकाल प्यानललाई १ नम्बर प्रदेशको पनि समर्थन

काठमाडौं । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको प्यानललाई मत दिने बताएका छन । आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका क्रममा प्रदेश नं. १ का विभन्नि जिल्लामा पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई समर्थन जुटेको हो ।
बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् । सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।
यसअघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चन्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए ।
साथै यसअघिका अध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रुपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफुहरुमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए । कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए ।
कार्यक्रममा प्रदेश नम्बर १ बाट खोटाङका अध्यक्ष विपिन राई, धनकुटाका अध्यक्ष बिजय सन्तोषी राई, उदयपुरका अध्यक्ष पुष्कर खड्का, भोजपुरका अध्यक्ष धु्रबलाल श्रेष्ठ, सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा, इटहरीका अध्यक्ष भीमप्रसाद पौडेल, दकमका अध्यक्ष गोकुल श्रेष्ठ, झापाका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष राजु पनेरु, ताप्लेजुङका अध्यक्ष ताराप्रसाद घिमिरे, इलामका अध्यक्ष ईश्वर चिपालु, उर्लाबारीका अध्यक्ष प्रितम खड्की, मेचीका अध्यक्ष ऋषी तिमिल्सिना, विर्तामोडका अध्यक्ष कुमार पोखरेलले कार्यक्रममा उपस्थित भएर आफूहरुको पूर्ण समर्थन रहेको भन्दै जीतको अग्रीम शुभकामना दिएका थिए भने मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरे विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।