भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब दायित्व भुक्तानी गर्दै अर्थ मन्त्रालय « Arthapath.com
२ कार्तिक २०८०, बिहीबार

भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब दायित्व भुक्तानी गर्दै अर्थ मन्त्रालय



काठमाडौं । सरकारले दशैं अगाडि नै अर्थात् शुक्रबारसम्म निर्माण व्यवसायीलाई ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । यसअघि नै निर्माण कार्य सकिएको र सम्बन्धित विकासे मन्त्रालयहरुबाट फाइल पास भएर नआइसकेका परियोजनाको हकमा केही समयदेखि भुक्तानी रोकिएको थियो ।

तर निर्माण व्यवसायीहरुले यसरी भुक्तानी रोकिएको हल्ला फिँजाएर आयोजनाहरुका निर्माण कार्यमा ढिलाई गर्ने मनासाय राखेपछि अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर चाँडो भुक्तानी दिन लागेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा भुक्तानी दिनुपर्ने गरी दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको यस्तो पैसा दशैँ अघि नै दिन लागिएको मन्त्रालयले जनाएको छ । गतसाल सरकारसँग पैसा नभएको र त्यही बहाना देखाएर सम्बन्धित ठेक्का लगाउने मन्त्रालयहरुले फाइल रोकिदिएका कारण यस्तो रकम भुक्तानी हुन सकेको थिएन ।

मन्त्रालयहरुले फाइल पठाएको करीब १० अर्ब रुपैयाँ अघिल्लो आर्थिक वर्षको अन्त्यमा नै भुक्तानी भएको र बाँकी ६ अर्ब अहिले भुक्तानी गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

‘निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ,’ अर्थमन्त्री डा. प्रकाशशरण महतका प्रेस सल्लाहकार प्रकाश थापाले भने, ‘उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीको बैंक खातामा जाने गरी व्यवस्था मिलाइएको छ ।’


प्रतिक्रिया दिनुहोस्