युक्रेनमा युद्ध विराम तत्काल नहुने, ३० दिनसम्म ऊर्जा केन्द्रहरुमा हमला नगर्ने रूसको वाचा

काठमाडौं । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदा ३० दिनसम्म युक्रेनका पावर स्टेशन (ऊर्जा केन्द्र)हरूमा आक्रमण रोक्न सहमति जनाएका छन् ।
तर युक्रेनमा तत्कालै पूर्ण स्तरको युद्धविराम गर्ने प्रस्ताव भने अस्वीकार गरिदिएका छन् ।
हालै मात्र साउदी अरबमा ट्रम्पको टोलीले युक्रेनी अधिकारीहरूसँग मिलेर एक महिना लामो युद्धविराम योजना बनाएका थिए । उक्त योजनामा हस्ताक्षर गर्न पुटिनले अस्वीकार गरेका हुन् ।
युक्रेनले विदेशी सहायता र गुप्तचर प्राप्त गर्न बन्द गरेको अवस्थामा मात्र व्यापक युद्धविराम सम्भव हुने उनले बताए।
युक्रेनका युरोपेली सहयोगीहरूले यो शर्त पहिले नै अस्वीकार गरिसकेका छन्।
तीन वर्षे युद्धको क्रममा रुसले हालैमा आफ्नो कुर्स्क क्षेत्रमा ‘गुमेको भूभाग’ पुनः प्राप्त गरेको छ । त्यो क्षेत्र ६ महिनाअघि युक्रेनी सेनाको नियन्त्रणमा पुगेको थियो ।
मंगलबार भएको ट्रम्प र पुटिनबीचको वार्तालाई एक हप्ता अघि अमेरिकाले लिएको अडानबाट पछि हट्ने संकेतको रुपमा देखिएको छ । यद्यपि, दुवै नेताहरूले चाँडै नै थप शान्ति वार्ता जारी राख्न सहमति जनाए। यी वार्ताहरु साउदी अरबमा हुने छन् ।
गत साताको मंगलवार अमेरिकी प्रतिनिधिमण्डलले जेद्दामा युक्रेनी प्रतिनिधिमण्डललाई भेटेका थिए । त्यसबेला उनीहरूले किभलाई तत्काल ३० दिने युद्धविराम गर्न सहमत पारेका थिए। यसमा जमिन, वायु र समुद्रमा पूर्ण युद्धविराम गर्ने भनिएको थियो।
यद्यपि, मंगलवार भएको ट्रम्प—पुटिन वार्ताको केही समयपछि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की औपचारिक भ्रमणका लागि फिनल्याण्डको हेलसिंकी पुगे। उनले युक्रेनका पावर प्लान्टहरूमा आक्रमण रोक्ने विचारमा आफूहरु ‘खुला’ रहेको बताए । तर सम्झौताको अन्य विवरणहरू बाहिर आउनका लागि उनले ‘प्रतीक्षा गर्ने’ भनेका थिए ।
तथापि जेलेन्स्कीले पछिल्लो समय ठूलो मात्रामा भइरहेको रूसी ड्रोन आक्रमणलाई लिएर पुटिनले युद्धविराम अस्वीकार गरेको आरोप लगाए।
पुटिनले यति नै दिए ट्रम्पलाई छुट !
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै धूमधामका साथ वार्ता गरे । तर यस्तो देखिन्छ कि, त्यो वार्ताले कुनै उल्लेख्य नतिजा सकेन, जुन ‘ठूलो’ भनेर दाबी गर्न लायक होस् ।
रुसी राष्ट्रपतिले ट्रम्पलाई युक्रेनमा शान्ति सम्झौतातर्फ केही न केही प्रगति भएको दाबी गर्ने अवसर दिएका छन्, ताकी यो अवसरको फाइदा पनि क्रेमलिनले नै उठाएको नदेखियोस् ।
युक्रेनी ऊर्जा केन्द्रहरूमा ३० दिनसम्म आक्रमण रोक्ने पुटिनको वाचालाई ट्रम्पले आफ्नो सफलताको रूपमा प्रस्तुत गर्न सक्छन्।
यदि ऊर्जा केन्द्रहरूमाथि आक्रमण रोकियो भने यो आम जनताको लागि राहतको कुरा हुनेछ। तर यो अमेरिकाले रुसबाट चाहेको पूर्ण र बिना शर्त युद्धविरामको तुलनामा केही पनि होइन।
ट्रम्पले यसलाई ‘भयानक युद्ध’ भनेका थिए र आफूले यसलाई रोक्न सक्ने बताएका थिए। उनको वाचा अहिले पनि गुन्जिरहेकै छ।
इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले पुटिनलाई युद्ध अपराधको दोषी ठहर त गर्यो, तर अब उनी पुनः एक पटक अन्तर्राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा फर्किएका छन्।
रुसका सरकारी सञ्चारमाध्यमले दुई राष्ट्रपतिबीच दुई घण्टाभन्दा बढी समय फोनमा कुराकानी भएको जनाएका छन्।
क्रेमलिनले यस वार्तालापमा ५०० शब्दको वक्तव्य जारी गरेको छ।
पश्चिमी जगतमा तीन वर्षदेखि ‘अलगथलग’ परेको रूस त्योभन्दा पहिले पनि लामो समयसम्म तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिँदै आएको थियो । तर अब ऊ अमेरिकासँग सिधै कुराकानी गरिरहेको छ।
पक्कै पनि क्रेमलिनले यो परिवर्तनलाई बुझ्ने प्रयास गरिरहेको हुनुपर्छ। यस कुराकानीमा दुवैले मध्य पूर्व (पश्चिम एसिया)मा शान्ति र ‘विश्वव्यापी सुरक्षा’ को मुद्दा पनि उठाएका थिए ।
अमेरिकाले कति सफलता हासिल गर्यो ?
फोन वार्ता अघि नै केही मानिसहरू ‘डोनाल्ड ट्रम्पले रुसमाथि कति दबाब दिन सक्षम हुनेछन्’ भनेर अनुमान गर्नमा व्यस्त थिए। पुटिनले युद्धविराममा अवरोध सिर्जना गर्ने छन्ने भन्ने कुरा कम्तिमा एक साता अघिदेखि स्पष्ट नै थियो।
रूस अहिले पनि ड्रोन र बमबारी रोक्नुको सट्टा सम्भावित युद्धविरामको निगरानी कसरी गर्ने भन्ने बारेमा बहस गरिरहेको छ।
यसबाहेक रुसले यस्ता सर्तहरू लगाइरहेको छ, जसले युक्रेनको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाउनेछ। युद्धविरामका लागि युक्रेनलाई उसका सहयोगीहरूबाट हतियार र गुप्तचर आपूर्ति बन्द गरिनुपर्ने शर्त रूसले अघि सारेको छ ।
भलै अमेरिकाले अहिले त्यस्तो कुनै पनि शर्त स्वीकार गरिसकेको छैन।
बीबीसी हिन्दिबाट ।