मुलुकमा भ्रष्ट्राचार भइरहेकोमा प्रधानमन्त्री ओलीको आशंका « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

मुलुकमा भ्रष्ट्राचार भइरहेकोमा प्रधानमन्त्री ओलीको आशंका



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अझै पनि भ्रष्ट्राचार भइरहेको आशंका गरेका छन् । नेपाल चेम्बर्स अफ कमर्सको ७४औं साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘आज हामीलाई सुशासन चाहिएको छ । र विकास चाहिएको छ । सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ । भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन । मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ’ उनले भने, ‘म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’

यस्ता भ्रष्टाचार रोक्न सबैको चाहिएको पनि प्रधानमन्त्री ओलीले बताए । देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायीत्व र स्थिरतातर्फ मुलुक अघि बढेको बताउँदै २०८४ सम्म स्थिरता कायम रहेन जिकिर गरे।

प्रधानमन्त्री ओलीले चेम्बरको प्रशंसा गर्दै यसले महत्वपूर्ण योगदान पुर्याएको बताए । निजी क्षेत्र र सरकारको बीचमा पुलको रूपमा चेम्बरले काम गरिरहेको उनले बताए । ‘चेम्बर आफैं निजी क्षेत्र हो । आफैं लगानीकर्ता हो । आफैं उद्यमी हो । आफैं व्यवसायी हो । सरकारसंग यसले समन्वयात्मक ढंगले काम गरिरहेको छ’ उनले भने ।

उनले प्रविधिको प्रयोगले उत्पादनलाई सस्तो बनाएको बताए । ‘आजको समय विज्ञान र प्रविधिको छ । उत्पादन र अरू सुविधाका लागि प्रविधिको प्रयोगको महत्व मैले यहाँहरूलाई बताइरहनुपर्ने आवश्यकता नै छैन । यहाँहरू त्यो कुरा बुझ्नुभएकै कुरा हो । अहिले १०० मान्छेले गर्ने काम एउटा मेसिनले गर्छ । प्रविधिले १०० गुणा छिटो बनाएको छ । त्यसले श्रम र समयको बचत भएको छ । यसले उत्पादनलाई सस्तो बनाउँछ’ उनले भने, ‘हामी आर्टिफिसियल इन्टेलिजेन्स समयमा पुगेका छौँ यी चिजहरूलाई सदुपयोग गर्न सक्नुपर्छ ।’ उनले प्रविधिलाई दुरूपयोग गर्न नहुने समेत स्पष्ट पारे ।

त्यसैगरी, कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नीति तथा कार्यक्रममार्फत स्वदेशी वस्तुको प्रवर्द्धन गरिरहेको दाबी गरे।

उद्योग मेलाहरू, स्वदेशी उत्पादन प्रदर्शनीहरू र ई-कमर्स प्रवर्द्धन कार्यक्रममार्फत बजार पहुँच विस्तार गर्न सहयोग प्रदान गरिएको बताउँदै सरकारले स्वदेशी उत्पादनको गुणस्तर र नवप्रवर्तनमा जोड दिइरहेको जानकारी दिए ।

मन्त्री भण्डारीले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई नवप्रवर्तन उद्यम संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन नवप्रवर्तन उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्