राजनीतिक तरलताकै बीच भारतीय मन्त्री आइपुगे नेपाल, के होला मक्सद ?

काठमाडौं । छिमेकी भारतको ऊर्जा मन्त्री एवम् आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् ।
मन्त्री खट्टर भारतीय लगानीमा बनिरहेको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना अरूण–३ को अवलोकनको लागि मंगलबार (आज) यहाँ आएका हुन्।
भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)को स्वामित्वमा रहेको एसजेभीएन अरूण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपिडिसी)ले निर्माण गरिरहेको छ । ९०० मेगावाट नडित क्षमताको उक्त आयोजना नेपालकै सबैभन्दा ठूलो विद्युत् परियोजना हो ।
तर भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका भावी अध्यक्षको रुपमा सबैभन्दा धेरै प्रक्षपण गरिएका पात्र पनि उनै हुन् । ७० वर्षीय खट्टर भाजपाको नयाँ अध्यक्ष बन्नसक्ने संभावनाप्रति धेरै मानिसहरु आशावादी देखिएका छन् । यस्ता पात्र एउटा विद्युत् आयोजनाको भ्रमणका लागिमात्रै नेपाल आउन खोजेको भन्ने तर्कमा कतिपय राजनीतिक वृत्तका विश्लेषकहरुले भने विस्वास गरेका छैनन् ।
आयोजकले दिएको जानकारी अनुसार मन्त्री खट्टर अरुण जलविद्युत् आयोजनाको अवलोकन गरेर बुधबार भारत फर्कने छन्।
तर यसबीचमा वैशाख १० गते बुधबार मन्त्री खट्टरले मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीलाई भेटेरमात्रै उनी भारत फर्किने कार्यक्रम छ ।
नेपालको राजनीतिक हालत ‘तरल’ बन्दै गएको, सरकारप्रति चौतर्फी घेराबन्दी हुन थालेको, राजसंस्था समर्थकले आफ्ना गतिविधी बढाउँदै लगेको र युवा पुस्तामा राजनीतिज्ञप्रति वितृष्णा बढेको र हिन्दु राष्ट्र पुनःस्थापनामा सत्ता घटक दलका नेताहरुसमेत अगाडी आउन थालेको बेला खट्टरले नेपाल भ्रमण गरेका हुन् ।
यस घटनाले नेपाली राजनीतिबारे भारतीय चासोलाई सम्बोधन गर्न वा यहाँको वस्तुस्थिति बुझ्न पनि उनको आगमनले ‘अर्थ राख्नसक्ने’ जानकार बताउँछन् । यद्यपि, आयोजकको औपचारिक कार्यक्रम भने यति धेरै ‘सन्देहास्पद’ छैन ।
मङ्गलबार खट्टरको साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरूण–३ को अवलोकन गर्न पुग्ने छन्। उक्त कार्यक्रममा एसजेविएनका अध्यक्ष राजकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रशान्त शर्माको पनि सहभागिता हुने बताइएको छ।
खट्टरले समकक्षी खड्कासँग अन्य जलविद्युत आयोजनामा भारतीय लगानीका साथै नयाँ आयोजना विषयमा छलफल गर्ने कार्य तालिका रहेको मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
दुई देशमा ऊर्जा मन्त्रीहरुले अरूण–३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरेपछि बुधबारै दुई देशबीचको समन्वयमा निर्माण भएका विभिन्न सवस्टेसनहरुको संयुक्त रूपमा उद्घाटन गर्ने छन्।
साथै, दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा पनि हस्ताक्षर हुने र त्यसपछि यी प्रशारण लाइनहरु निर्माणको प्रक्रिया अघि बढ्ने मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।