‘देउवाले सके भट्ट, ओलीले सके ढुंगाना’

काठमाडौँ । स्वास्थ्योपचारका लागि भन्दै थाइल्याण्ड पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ६ दिनपछि स्वदेश फर्किँदा यहाँ सरकार परिवर्तनको हल्लाले ‘बजार पिटिसकेको’ थियो । यो घटनाले सामान्य सरुवा, बढुवा र नियुक्तिलाई सरकार परिवर्तनसम्मको कारण बन्न सक्छ भन्ने सन्देह फैलाउन पूर्व अर्थमन्त्री वर्षमान पुन सफल भएजस्तो देखिन्छ ।
हुन त, पहिले पनि यस्ता विषयहरु चर्चा हुन्थे । तर पछिल्लो पल्ट नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विवाद भएपछि एमाले र माओबादीबीच तनाव उत्पन्न भएको थियो ।
त्यही घटनालाई सन्दर्भ बनाउँदै नेपालमा पनि सरकार परिवर्तनको हल्ला भिँजिएपछि शनिबार सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको भनेर पौडेलको सचिवालयले विज्ञप्ती जारी गरेको छ । अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि उक्त भेटमा सहभागी थिए ।
यस भेटवार्तामा नेपाल राष्ट्र बैंकको गभर्नरका लागि प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतको दाबी छ । राष्ट्र बैंकको नेतृत्व कांग्रेसलाई दिन प्रधानमन्त्री पहिले नै सहमत भइसकेका छन् । तर प्रधानमन्त्री सचिवालय र एमालेका कतिपय नेताहरुभने अझै पनि आफ्नो ‘प्रतिनिधि’लाई केन्द्रिय बैंकको नेतृत्वमा पुर्याउने कोसिस छाडेका छैनन् ।

यद्यपि अब गभर्नरका उमेदवारहरुको सूची भने साँघुरिइसकेको छ । अहिलेसम्मको अवस्थामा आइपुग्दा देउवाले डा. गुणाकर भट्टको नाम दोहोराएका छन् भने प्रधानमन्त्रीको समूह अझै पनि कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनालाई नियुक्त गर्नसक्ने दाउ खोजिरहेको बालुवाटार निकट स्रोत बताउँछ ।
‘उच्च स्तरमा सहमति बनेको भन्ने कुरा छ । तर दुबै दलले आफ्नो प्रयासलाई अहिलेसम्म रोकेका छैनन् । हाम्रो प्रयास पनि जारी छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘हेर्दै जाउँ । समयले कसको भाग्यमा यो पद पुर्याउँछ ?’