आज साँझ ५ बजे मन्त्री परिषद बैठक, गभर्नर सिफारिस समितिलाई पूर्णता दिइँदै « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

आज साँझ ५ बजे मन्त्री परिषद बैठक, गभर्नर सिफारिस समितिलाई पूर्णता दिइँदै



काठमाडौँ । सोमबार साँझ ५ बजे मन्त्री परिषदको नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक डाकेका छन् ।

उक्त बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नाम सिफारिस गर्न गठित समितिले पूर्णता पाउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजिनामा दिएपछि उनको ठाउँमा अर्को कुनै पूर्व गभर्नरलाई सिफारिस गर्ने तयारी भएको छ ।

यस पदमा चिरञ्जीवी नेपाल वा तिलकबहादुर रावलमध्ये एक जनालाई सदस्य नियुक्त गर्ने संभावना रहेको बताइएको छ । यस बाहेकका पात्र पनि यो समितिमा आउन सक्छन् ।

तीन सदस्यीय समितिमा एक जना पूर्व गभर्नर हुनै पर्ने व्यवस्था राष्ट्र बैंक ऐनले गरेको छ । उक्त समितिको अर्को सदस्यमा भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन् ।

सरकारले उक्त समितिलाई पूर्णता दिएपछि समितिको बैठक बसेर तीन जना ‘योग्य व्यक्ति’को नाम मन्त्री परिषदमा सिफारिस गर्नुपर्ने हुन्छ ।

वित्तीय क्षेत्रका अन्य नियामकहरु जस्तै नेपाल धितोपत्र बोर्ड वा नेपाल बीमा प्राधिकरणमा जस्तो राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले खुला आवेदन माग्नु पर्दैन । समितिका पदाधिकारीले उपलब्ध योग्य व्यक्तिहरुमध्येबाट तीन जनाको नाम आफैँ छनोट गरेर पठाउन सक्ने व्यवस्था छ ।

त्यस कारण सरकारले चाहेका पात्रहरुको नाम नछुटाई सिफारिस गरिदिने परम्परा पहिलेदेखि नै देखिन्छ । विगतदेखि नै यस्ता सिफारिस समितिले खासगरी प्रधानमन्त्री र अर्थमन्त्रीको ‘रोजाइका मान्छे’को नाम सिफारिस गर्ने प्रचलन बसेको देखिन्छ ।

यस पल्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भर्खरैमात्र राजिनामा दिएका डा. गुणाकर भट्टलाई नयाँ गभर्नर नियुक्त गर्ने तयारी भएको राजनीतिक बृत्तमा चर्चा छ । उनको ‘खरो प्रतिस्पर्धी’ देखिएकी कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनालाई भट्टको राजिनामा तुरुन्त स्वीकृत गर्न अर्थमन्त्रीले आग्रह गरेको खबरहरु आएका छन् ।

केही दिन अघि सरकार परिवर्तन हुने हल्ला चलिरहेकै बेला ६ दिने थाइल्याण्ड भ्रमणबाट फर्केका शेरबहादुर देउवासँग मध्येरात बैठक भएपछि प्रधानमन्त्री ओली भट्टलाई नै गभर्नर बनाउने विकल्पबाट टाढा जानै नसक्ने भएका हुन् ।

यी घटनाक्रमले सम्भवत मंगलवार नै वा ढिलामा विहीबारसम्म भट्ट केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त भइसक्ने संभावना बढेको छ ।


प्रतिक्रिया दिनुहोस्