क्यानडामा मार्क कार्नीको पार्टीलाई जीत, दुईटा केन्द्रिय बैंकको पूर्व गभर्नरले कसरी चलाउलान् देश ? « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

क्यानडामा मार्क कार्नीको पार्टीलाई जीत, दुईटा केन्द्रिय बैंकको पूर्व गभर्नरले कसरी चलाउलान् देश ?



काठमाडौं । क्यानडाको सार्वजनिक प्रशारण संस्था ‘क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशन (सीबीसी)’ले त्यहाँको आम चुनावमा लिबरल पार्टीले चौँथो पल्ट जीत निकालेको बताएको छ ।

अमेरिकाको ट्रम्प प्रशासन र भारतसँग खुब दुस्मनी मोलेका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडो र वर्तमान प्रधानमन्त्री मार्क कार्नी यही दलबाट प्रतिनिधित्व गर्छन् ।

यद्यपि, अहिलेसम्म उक्त दलले संसदमा साधारण बहुमतका लागि आवस्यक १७२ सीट हासिल गर्छ कि अल्पमतको सरकार चलाउने अवस्था रहन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

तर संसदको सबैभन्दा ठूलो दल बन्ने पक्का भएसँगै प्रधानमन्त्री कार्नीले सार्वजनिक मञ्चबाट आफ्नो दलको विजय घोषणा गरेका छन् । निर्वाचनको सुरुआति परिणामपश्चात आयोजित सभालाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको नीतिको आलोचना गरेका छन् ।

ट्रम्पले क्यानडालाई ‘अमेरिकाको ५१ औँ राज्य’ बनाउनु पर्ने बताइरहेको, पूर्व प्रधानमन्त्रीलाई ‘क्यानडाको गभर्नर’ भनेर सम्बोधन गरेको र क्यानडामाथि भारी आयात शुल्क लगाएको घटनापछि संसारकै दोस्रो ठूलो विशाल भूगोलको राजनीतिमा यस किसिमको परिणाम देखिन आएको हो ।

संघीय निर्वाचनमा जीतपछि कार्नीले समर्थकहरुबीच भने, ‘हामीलाई आपसमा तोड्न राष्ट्रपति ट्रम्पले कोसिस गरिरहेका छन्, ताकी अमेरिका हामीमाथि राज गर्न सकोस् । तर त्यस्तो कहिल्यै हुनेवाला छैन ।’ उनले अमेरिकासँगको आफूहरुको पुरानो सम्बन्ध अब खत्तम भइसकेको बताए ।

‘हामी अमेरिकाको विश्वासघातको दलदलबाट बाहिर निस्किसकेका छौँ । अब हामीले एक–अर्काको ख्याल राख्नुपर्ने आवस्यकता छ’, उनले भने ।

लिबरल पार्टी चुनावभन्दा करीब तीन महिना अघिसम्म संभावित विजयभन्दा निकै टाढा देखिएको थियो । विगत ९ वर्षदेखि क्यानडाका प्रधानमन्त्री रहेको ट्रुडोको अलोकप्रियता हाबी भएको थियो । त्यस ताका लिबरल पार्टीको हार सुनिश्चित जस्तै देखिएको थियो ।

आफ्नो नेतृत्वप्रतिको असाधारण वितृष्णा देखिएपछि पार्टीभित्रैको ब्यापक विरोधका बीच ट्रुडोले यो हालैमात्र प्रधानमन्त्री पदबाट राजिनामा दिए । त्यसपछि कार्नी संसदीय दलको नेता चुनिए र गएको चैत १ मा उनी क्यानडाको नयाँ प्रधानमन्त्री बने ।

लिबरल पार्टीको चुनावी नेतृत्व पनि कार्नीले सम्हाले । उनलाई प्रधानमन्त्री बनाउने लिबरल पार्टीको नीति सफल भयो । अमेरिकाको तारन्तारको आक्रमणले क्यानेडियन नागरिकमा ‘राष्ट्रवाद’को विजारोपण भयो । कार्नीले त्यसलाई चुनावी अभियानमा खुब राम्रोसँग उठाउन सके ।

बेलायत र क्यानडाको केन्द्रिय बैंकको गभर्नर भइसकेका कार्नीप्रति नागरिकको विस्वास बढ्यो । ट्रम्पको सामुन्ने ‘डटेर खडा हुनसक्ने सक्षम पात्र’का रुपमा क्यानडाका जनताले कार्नीलाई विस्वास गरेका छन् । आयरल्याण्ड र ब्रिटेनको पनि नागरिकता भएका कार्नीसँग कुनै पनि राजनीतिक भूमिकामा काम गरेको अनुभव थिएन ।

तर उनले गत महिना पार्टीको संसदीय निर्वाचनमा सहज जीत निकालेका थिए । सन् २००८ को वित्तीय संकटबाट अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालिन गभर्नर कार्नीलाई पछि करीब ३०० वर्षको इतिहास भएको ब्रिटिश केन्द्रिय बैंक ‘ब्याङ्क अफ इङ्ल्याण्ड’को पनि गभर्नर बनाइएको थियो ।

हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका र सन् १९९५ मा अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका कार्नी वर्तमान विश्व राजनीतिमा भएका एक दर्बिला अर्थशास्त्री हुन् । आफ्नो छिमेकीमात्रै होइन, सबैभन्दा ठूलो ब्यापार साझेदार अमेरिकासँगको भन्सार द्वन्द्वका बीच अब त्यहाँको अर्थतन्त्र उकास्नमा उनको यही दक्षताको परीक्षण हुने छ ।

किन की, अब पुनः क्यानडाको नेतृत्व उनैले गर्ने लगभग पक्का छ । चुनावअघि केवल डेढ महिना प्रधानमन्त्री बन्ने मौका पाएका कार्नी अब निर्वाचन पश्चात दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिने छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको उत्खनन बढाउने नारा ‘ड्रिल बेबी ड्रिल’लाई नै ‘कपि–पेस्ट’ गर्दै भनेका छन्, ‘बिल्ड बेबी बिल्ड’ ।


प्रतिक्रिया दिनुहोस्