ठडिदै धरहरा ४५ प्रतिशत काम सकियो, ७ महिनापछि काठमाडौँ हेर्न पाइने « Arthapath.com
१० भाद्र २०७७, बुधबार

ठडिदै धरहरा ४५ प्रतिशत काम सकियो, ७ महिनापछि काठमाडौँ हेर्न पाइने



काठमाडौं । भूकम्पले क्षतिग्रस्त धरहराको २२ औँ तला बनाउनुपर्नेमा १३ औँ तलाको ढलानको काम भईरहेको छ । लकडाउनका कारण केही समय प्रभावित भएपनि धरहराको काम ४५ प्रतिशत सम्पन्न भएको प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले जानकारी दिए । राष्ट्रिय पुरातात्विक महत्व बोकेको सम्पदा धरहरा पुनर्निर्माणका क्रममा १२ तलासम्म ढलान गरिएको छ भने १३ औँ तलाको ढलान शुक्रबार हुने भएको छ ।

श्रेष्ठले भने “२२ तला निर्माण गर्नुपर्ने हो, १३ तलाको ढलान पर्सि शुक्रबार हुन्छ, डबल बेसमेण्टको सल्याब चाँहि भईसकेको छ, त्रिपल बेसमेण्टको गाडी पार्किङ्को हो, जहाँ चाँहि ३–४ सय गाडी र ७ सय मोटर साइकल अट्छ ।” त्यस्तै ग्राउण्ड फ्लोरको बेसमेण्टको आधा सकिएको छ । काठमाडौं मलको डिस्मेण्टलको काम ७० प्रतिशत सकिएको छ । ३.३ रोपनीमा भुकम्प म्युजियमको साढे चार तलाको भवन निर्माण कार्य पनि जारी रहेको उनले बताए ।

अव हामीले चार वटा काम मात्रै गर्नुपर्ने छ । डवलबेसमेण्टको धरहराको टावर, त्रिपलबेसमेण्ट पार्किङ्ग, भुकम्प म्युजियम र ईटहरी ब्लक र क्यान्टिन ब्लकको काम भईरहेको श्रेष्ठले बताए । त्यस्तै भुकम्पले क्षति भएको पुरानो भिमसेन टावरलाई जोगाई राख्न सिसाले छोप्ने काम पनि भईरहेको छ ।

तर कारोना भाईरसले गर्दा निर्माण कार्यमा प्रभाव परेको श्रेष्ठले बताए । उनले भने, “यस महामारीबाट बच्नको लागि सेफ्टी अफिसर नै राखिएको छ भने फेभर चेक गर्दा कसैलाई पनि केहि भएको छैन् । मजदुरहरुलाई आवश्यक सुरक्षा अपनाएर काममा लगाईएको छ भने दैनिक चेकजाँच गरिदैँ आएको छ ।”

पछिल्लो समय काठमाडौ उपत्यकामा लगाईएको निषेधाज्ञामा निर्माण सामाग्री ल्याउन कठिन भएकाले केहि समस्या भएको छ । त्यसका लागि पुन निर्माण प्राधिकरणलाई समन्वय गरेर निर्माण सामाग्री आयातलाई सहज बनाउन माग गरिएको छ ।

अवको १८ महिनामा सम्पुर्ण काम सक्ने लक्ष्य रहेको छ । १८ महिना समय माग गरेर यस अवधिमा सक्ने लक्ष्य लिएको श्रेष्ठले बताए । “सबैभन्दा मुख्य भनेको धरहरा बनाउनुपर्ने हो, १५ दिनमा एउटा स्ल्याब ढलान गरिरहेका छौँ, केहि समस्या आएन भने अवको ७ महिनामा धरहरा टावर पुर्ण रुपमा निर्माण हुने छ । उनले भने”

जम्मा ३ अर्व ४८ करोड रुपैयाँको प्रोजेक्ट भएपनि हालसम्म एक अर्ब ७ करोड रुपैयाँ बिलमार्फत लगिएको श्रेष्ठले बताए । चाइनाको जिआईटिसि र नेपाली रमन जेभी निर्माण कम्पनीले धरहरको पुर्ननिर्माण गरिरहेका छन ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अत्याधुनिक २२ तले धरहरा पुनर्निर्माण गरिरहेको हो । अबको ७ महिनाभित्र आम नागरिकले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँ हेर्न पाउने भएका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए । साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ । प्राधिकरणका अनुसार धरहरा पुनर्निमाणका लागि दिन र रात गरी दुई सिफ्टमा काम भैरहेको छ ।

ऐतिहासिक धरहरा वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप धरहराको निर्माण गरेको इतिहासमा उल्लेख छ । त्यस समयमा यसको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले नौ तल्ला कायम गरी पुनः निर्माण गरेका थिए । भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्