इन्टरनेट प्याकेजसहित ५० लाख विद्यार्थीलाई सिम दिइने, १ अर्ब ९९ करोड रुपैयाँ रकम छुट्याइयो

काठमाडौं । विद्यालय तहका ५० लाख विद्यार्थीलाई सिम वितरण गरिने भएको छ । पछिल्लो ६ महिनादेखि विद्यालयको पठनपाठन सञ्चालन हुन नसकेकाले सिम वितरण गरिने भएको हो ।
चालु शैक्षिक सत्र खेर जान नदिन सरकारले आकस्मिक शैक्षिक कार्ययोजना २०७७ कार्यान्वयनमा ल्याएको छ । जसमा ५० लाख विद्यार्थीलाई सिमकार्ड वितरण गर्ने तय गरेको हो ।
सिमकार्डबाट क्लोजगु्रप सृजना गरी विद्यार्थी, विद्यालय र शिक्षकबीच सम्बन्धन विस्तार गरी शिक्षण सिकाइसँग जोडिने तय गरिएको शिक्षा तथा मावन स्रोत विकास केन्द्रका निर्देशक धनश्याम अर्यालले बताए ।
केन्द्रका शाखा अधिकृत अर्जुन ढकालले यो कार्यक्रमअन्तर्गत ५० लाख विद्यार्थीलाई सिम वितरणका लागि एक अर्ब ९९ करोड रकम तय गरिएको बताएका छन् । प्रतिविद्यार्थी सय रुपैयाँबराबरको सिम इन्टरनेट प्याकेजसहित उपलब्ध गराईने उनले बताए ।
नेट सुविधा नपुगको ठाउँको शैक्षिक गतिविधि अघि बढाउन क्रियाकलाप तथा स्वाध्ययन सामग्री विकासका लागि १० लाख, श्रव्यदृश्य सामग्री विकासका लागि ३ करोड, स्थानीय तहले थप शैक्षिक सामग्री विकास गर्न २४ करोड विद्यालय सामग्री खरिद गर्न २६ करोड, गृह स्कुल र सहजीकरण शीर्षकमा २४ करोड रुपैयाँ बजेट तय गरिएको छ ।