कामना सेवा विकास बैंकको खुद नाफा ४८४.९० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा ६ गुणाले बढेको छ ।बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६ गुणाले बढेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशत अर्थात ५.८४ गुणाले उकालो लागेको हो ।
त्यसैगरी बैंकको बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशतले उकालो लागेको छ ।इम्पेरमेन्ट चार्ज भने ५५.८७ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी र खुद कमिशन तथा फि आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढेको छ ।
वितरण योग्य नाफामा पनि सुधार आएको छ । गत आर्थिक वर्षमा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ ।अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशतले उकालो लागेको छ ।
त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट उकालो लागेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ ।