तत्कालिन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित दर्जन कर्मचारी गिरफ्तार « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

तत्कालिन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित दर्जन कर्मचारी गिरफ्तार



काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भान्जा एवम् प्रभू बैंकका बरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र तुलसीराम गौतम सहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुलाई तत्कालिन सेञ्चुरी बैंकमा कार्यारत रहँदा कर्जा प्रवाहका क्रममा अनियमितता गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

न्यौपाने यसअघि सेञ्चुरीको सीईओ थिए । सेञ्चुरी कमर्शियल बैंक पछि प्रभू बैंकमा गाभिएसँगै उनी त्यहाँ ‘सेकेन्ड म्यान’ बनेर रहेका थिए । न्यौपानेभन्दा अघि सेञ्चुरीको सीईओ गौतम थिए । यी दुबै सीईओको पालामा कर्जा अपचलन भएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

कर्जा हिनामिना गरेको आरोपमा गौतम र न्यौपानेका साथै प्रभू बैंकका प्रमु कर्जा व्यवस्थापक दिलिप बराल, जोखिम अधिकृत दिपेश बराल, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी र प्रबन्धक रमण श्रेष्ठ पक्राउ परेका छन् । गौतम बाहेक सबैजना अहिले बैंकमा कार्यरत छन् । उनीहरुलाई प्रहरीले मंगलबार विहान प्रभू बैंकको केन्द्रीय कार्यालय र कमलादी शाखाबाट पक्राउ गरेको हो ।

त्यस्तै सेञ्चुरीका तत्कालिन कर्मचारीहरु गौतमसहित अनुपमा श्रेष्ठ मानन्धर, सुनिल बस्नेत, सुवास श्रेष्ठ र सविन घिमिरेलाई पनि प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईँ र उनको समूहलाई धितोको अधिमूल्यांकन गरी बढी कर्जा दिएको आरोप लगाइएको छ । यस्ता मुद्दामा अरु बैंकहरु विरुद्ध पनि ‘एक्सन’ लिनसक्ने प्रहरीले जनाएको छ ।

तत्कालिन सेञ्चुरी कमर्शियल बैंकले देउराली बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुको नाममा रहेका ४ वटा कम्पनीलाई २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह गरेको प्रहरीले जनाएको छ ।

जसमध्ये करीब १ अर्ब (९९ करोड १९ लाख ७७२ रुपैयाँ) अधिक मूल्यांकन गरिएको सीआईबीको आरोप छ । यसरी वास्तविक मूल्यांकनभन्दा बढी कर्जा दिइएको भनेर अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रभू बैक (तत्कालिन सेञ्चुरी कमर्शियल)बाट पूजा मार्केटिङ, अन्नपूर्ण डिस्टिलरी, थ्री ब्रदर्श मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङजस्ता कम्पनी तथा फर्म बनाएर ठूलो रकम ऋण लिइएको थियो । उक्त कर्जाको सावाँब्याज भुक्तानी हुन छाडेपछि प्रभू बैंकले गत असोजमै धितो लिलामी गर्ने प्रक्रिया अघि बढाएको थियो ।

यी कम्पनी तथा फर्मको सञ्चालकमा रविन्द्र चौलागाई र पूजा खत्रीका साथै राजेन्द्र खत्री र शशी खत्री रहेका छन् । २०७७ सालमा प्रवाह भएको यो कर्जाको सम्बन्धमा प्रहरीले गत असारदेखि अनुसन्धान गरिरहेको थियो ।

देउराली बहुउद्देश्यीय सहकारी संस्थाको फाइल गत असारमै सीआईबीमा पुगेको थियो । सहकारीले गत असार १ गते एक सूचना प्रकाशित गर्दै कारोबार बन्द गरेको घोषणा गरेपछि भोलिपल्टै निक्षेपकर्ताहरुले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि यो सहकारीलाई कर्जा सूचना केन्द्रले पनि कालोसूचीमा राखेको थियो ।

कुनै बेला वार्षिक २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन बाँडेर बचत बटुलेको यो सहकारीले बचतकर्तालाई पैसाको साटो जग्गा फिर्ता दिने योजना पनि अघि सारेको थियो । केही जग्गा दिएर बचत कट्टा गर्ने कोसिस गरे पनि त्यो योजना सफल हुन सकेन । बरु उल्टै अध्यक्ष चौलागाईँसमेतले लिएको बैंकको ऋण तिर्न समेत असमर्थ हुन पुगे ।


प्रतिक्रिया दिनुहोस्